Comments Add Comment

गण्डकीमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

३२ साउन, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । सोमबार प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्कीका छन् । निर्देशनालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन समितिका संयोजक नवराज शर्माका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ६ जना, स्याङ्जाका २, तनहुँ र नवलपुरका १÷१ जना छन् । मृत्यु हुनेमा ४० देखि ८१ वर्ष उमेर समूहका छन् ।

पछिल्लो एक सातादेखि गण्डकीमा कोरोना संक्रमण र मृत्युदर बढेको छ । आइतबार मात्रै गण्डकीका १२ जना संक्रमितको मृत्यु भएको थियो । आइतबार पछिल्लो डेढ महीनायताकै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको थियो । कोरोनाको पछिल्लो लहरमा कास्की बढी प्रभावित भएको छ । निर्देशनालयको तथ्यांकअनुसार कास्कीका मात्रै २ हजार बढी सक्रिय संक्रमित छन् ।

गण्डकीमा असार मसान्तदेखि सोमबारसम्म दुई सयभन्दा बढी संक्रमितले कोरोनाबाट ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । तीमध्ये पछिल्लो साता मात्रै गण्डकीमा ६१ जना संक्रमितले ज्यान गुमाएका हुन् ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढेको बताएको छ । कास्कीमा कोरोना संक्रमण फेरि बढेको भन्दै चेकजाँच कडाइ गरिएको छ भने बागलुङ जिल्लामा बैंक तथा वित्तीय संस्थाहरु समेत नचल्ने गरी भदौ ५ सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीमा ६५६ जना संक्रमित थपिएका छन् । १ हजार ३ सय जनामा परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा ६ हजार १६८ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये करीब तीन हजार मात्रै होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा गण्डकीमा ६१६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय कोरोनाका गम्भीर बिरामी बढेसँगै जिल्लाका अस्पतालहरु फेरि भरिन थालेका छन् । बिरामी बढेसँगै अस्पतालमा अक्सिजनको माग बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment