+
+

लोकप्रिय बन्दै टेलिग्राम, पार गर्‍यो १ अर्ब डाउनलोड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते ९:५३

ह्वाट्सएप विवादमा तानिएसँगै लोकप्रिय बनेको इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामका प्रयोगकर्ताको संख्या एक अर्ब नाघेको छ । योसँगै टेलिग्राम एक अर्बभन्दा धेरै पटक डाउनलोड हुने विश्वको पाँचौँ एप बनेको छ ।

यसअघि ह्वाट्सएप, मेसेन्जर, फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, स्पटीफाइ र नेटफ्लिक्स १ अर्बपटक डाउनलोड भैसकेका छन् ।

सेन्सर टावरले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टेलिग्राम एपको डाउनलोड संख्याले एक अर्बको कोशेढुंगा पार गरेको हो । यद्यपि डाउनलोड संख्याले मोटामोटी रुपमा प्रयोगकर्ताको संख्या संकेत गर्ने भएता पनि सक्रिय प्रयोगकर्ताको संख्या भने त्यति हुँदैन । तीमध्ये केबल ५० करोड मात्रै टेलिग्रामका मासिक सक्रिय प्रयोगकर्ता रहेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१३ मा लञ्च भएको टेलिग्रामले गत शुक्रबार एक अर्बको आँकडा पार गर्नका लागि जम्मा ८ वर्ष लगाएको छ ।

रिपोर्ट अनुसार टेलिग्रामको सबैभन्दा ठूलो बजार भारत हो । टेलिग्राम एपको कूल डाउनलोड मध्ये २२ प्रतिशत भारतमा भएको छ । प्रतिद्वन्द्वी ह्वाट्सएपको पनि सबैभन्दा ठूलो बजार भारत नै रहेको छ । धेरै टेलिग्राम प्रयोगकर्ता हुने मुलुकको दोश्रो स्थानमा रुस रहेको छ, जसले कूल डाउनलोडको १० प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै तेश्रो स्थानमा ८ प्रतिशत डाउनलोड हिस्सासहित इण्डोनेसिया रहेको छ ।

सेन्सर टावरका अनुसार चालु वर्ष सन् २०२१ मा टेलिग्रामको डाउनलोडको दर तीव्र गतिमा बढिरहेको छ । ह्वाट्सएपको नयाँ प्राइभेसी पोलिसीको विवादका कारण टेलिग्रामको डाउनलोडमा वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

सन् २०२१ को पहिलो अर्धवार्षिकमा २१ करोड ४७ लाख पटक टेलिग्राम डाउनलोड भएको छ, जुन अघिल्लो वर्षको प्रथम अर्धवार्षिकभन्दा ६१ प्रतिशत बढि हो । सन् २०२० को पहिलो ६ महिनामा १३ करोड ३० पटक टेलिग्राम डाउनलोड भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?