+
+

कम्युनिष्टहरूको फुट र विभाजन कसका लागि ?

हरि ज्ञवाली हरि ज्ञवाली
२०७८ भदौ १७ गते १४:४९

यतिखेर नेपालमा कम्युनिष्ट नामका पार्टीहरू दर्जनौं समूहमा विभाजित छन् । वामपन्थी भनेर चिनिने उनीहरू कतिपय सत्तापक्ष भएका छन् त कुनै प्रतिपक्षमा छन् । कोही भूमिगत छन् त कोही अर्धभूमिगत रूपमा अस्तित्वमा छन् । २००६ सालको स्थापनाकालदेखि नै फुट्दै आएको नेपाल कम्युनिष्ट पार्टी अहिले पुनः विभाजित भएको छ ।

आखिर कम्युनिष्टहरू केका लागि फुटछन् ? जनताको मुक्तिका नाममा स्थापना भएका कम्युनिष्टहरूले जनतालाई कति मुक्त बनाए ? उनीहरूको फुटबाट जनता र मुलुकले के पाउँछ ? कम्युनिष्टहरूको लगातारको यो विभाजन र फुट देश र जनताका लागि कि उनीहरूको फगत व्यक्तिगत महत्वाकांक्षा र सत्तास्वार्थका लागि ? हाम्रा अगाडि अनेकौं प्रश्न उब्जिएका छन् ।

नेपालका कम्युनिष्टहरू अहिलेसम्म जुटेको भन्दा फुटेको इतिहास धेरै छ । आफ्नो ७२ वर्षे इतिहासमा कम्युनिष्ट पार्टीहरू लगभग त्यति नै पटक फुटेका छन् । टुटफुट र विभाजनको यो विरासतीय शृङ्खला यतिखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर नेकपा (एकीकृत समाजवादी)सम्म आइपुगेको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नै आन्तरिक विवादका कारण अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रका रूपमा विभाजित भएको थियो ।

एक–अर्कालाई अनेकौं आरोप–प्रत्यारोप र सत्तोसराप गरी आफूलाई मात्र सच्चा कम्युनिष्ट ठान्दै आएका कम्युनिष्ट पार्टीहरू सैद्धान्तिक र नीतिगत आधार विना नै पटक–पटक फुट्ने गरेका छन् ।
गरीब, सर्वहारा, किसान, मजदूर र महिला हकहितको नाममा गठन भएका सबैजसो कम्युनिष्ट पार्टीका नेताहरू कुनै सैद्धान्तिक र नीतिगत विषयभन्दा पनि पदीय महत्वाकांक्षा, व्यक्तिगत इगो र पद–प्रतिष्ठाका लागि नै फुटेको देखिन्छ ।

आफूसँग अलिकति विमति हुनेबित्तिकै एक–अर्कालाई ‘गद्दार’, ‘फासिस्ट’, ‘निरंकुश’, ‘साम्राज्यवादी’, ‘विस्तारवादी एजेन्ट’, ‘नवसामन्त’, ‘भ्रष्टाचारी’ र ‘बुर्जुवा’ भनेर बोल्ने, लेख्ने अनि अर्को पार्टी खोलिहाल्ने प्रवृत्ति नेपालका कम्युनिष्टहरूको संस्कृति नै बनेको छ ।

पटक–पटकका विभाजन र टुटफुटले नेपाली कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै गम्भीर त्रुटि वा खोट छ कि भन्ने आशङ्का बढाएको छ । कम्युनिष्टहरूको यो प्रवृत्तिले नेपालको कम्युनिष्ट दर्शन, सिद्धान्त र स्कुलिङको नीतिगत शैलीमा पुनर्विचार र पुनव्र्याख्याको आवश्यकतालाई समेत बोध गराउँछ ।

‘विश्वका मजदूर एक हौं’ भन्ने नारा लगाउने कम्युनिष्टहरू आफैंमा चिराचिरा पर्नुले उनीहरूको भनाइ, आदर्श, नीति, सिद्धान्त र व्यावहारिक धरातलको अन्तरलाई प्रष्ट पार्दछ । यो सैद्धान्तिक र व्यावहारिक अन्तरले नेपालका कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै खोट छ कि भन्ने आशङ्कालाई बढाएको छ ।

बुझ्नै नसकिने यो टुटफुट र विभाजन

पुष्पलालको अगुवाइमा नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि नै विवाद शुरू भएका छन् । नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पर्चा छरेको दिन १० वैशाख २००६ (२२ अप्रिल, १९४९) लाई नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मान्ने कि पार्टीको केन्द्रीय समिति, विधान र घोषणापत्र जारी गरेको ३० भदौ २००६ (१५ सेप्टेम्बर, १९४९) लाई पार्टीको स्थापना दिवस मान्ने ? लामो समय यही विषयको विवादमा कम्युनिष्ट राजनीति केन्द्रित भइरह्यो ।

त्यसलगत्तै २००७ सालमै ‘गणतन्त्र कि राजतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबद्ध आन्दोलन’ भन्ने बहसबाट शुरू भएको नीतिगत विवाद नेता पुष्पलाल र तुलसीलाल अमात्यको अन्तरविरोधसम्म आइपुग्दा ‘कुन बाटो ?’ र ‘अबको बाटो’ को पार्टीगत अन्तरविरोध र विवादमा तानियो । तत्पश्चात कम्युनिष्ट पार्टी समयानुकूल परिस्थितिको व्याख्या–विश्लेषणको बहानामा एक–अर्काबीच फगत आरोप–प्रत्यारोप गर्दै पटकपटक विभाजित भइरहेको छ ।

स्थापनाको चार वर्षपछि वि.सं. २०१० मा पार्टीको पहिलो महाधिवेशन मार्फत महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । तिनै महासचिव रायमाझीका कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजित भयो ।

१ पुस २०१७ मा राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि रायमाझीले कालान्तरमा दरबारलाई सहयोग पुर्‍याए । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारी जस्ता नेताहरू पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित भए ।

२०१९ मा तेस्रो महाधिवेशनले तुलसीलाल अमात्य महासचिव निर्वाचित भएपछि पार्टीमा विभिन्न गुट–उपगुट देखिए । रायमाझी समूह, तुलसीलाल समूह र पुष्पलाल तीन समूहमा पार्टी विभाजन भयो ।

उता रायमाझीले छुट्टै तेस्रो महाधिवेशन गरेर आफू महासचिव भएको घोषणा गरे । पछि फेरि यो समूह बर्मा र मानन्धरमा विभाजित भयो । २०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको सँघारमा थियो ।

एकातिर पूर्व मेची कोशी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजंगको समूह छुट्टियो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए ।

२०२५ सालमा तेस्रो सम्मेलन गरी पुष्पलालको नेतृत्वमा पार्टी गठन भयो । तेस्रो महाधिवेशनबाट फुट भएको कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन भन्दै जेलबाट छुटेर आएका नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरूको नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्युक्लियसको गठन भयो ।

२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे । झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस । पुष्पलाल समूहमा रहेको पूर्वकोशी प्रान्तीय कमिटीसँग सम्बद्ध झापा जिल्ला कमिटीले २०२७ सालको अन्त्यतिर झापामा सशस्त्र आन्दोलन शुरू गर्‍यो । फलस्वरूप २०३२ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (माले) को गठन भयो ।

यसमा २०३४ मा मुक्ति मोर्चा र पूर्वको रातो झण्डा समूह लगायत धेरै कम्युनिष्टका झुण्डहरू एकताबद्ध भए र अन्त्यमा २०३५ सालमा नेकपा (माले) को स्थापना भयो ।

यता मोहनविक्रम सिंहले २०३१ साल भदौमा चौथो महाधिवेशन गरी अर्को पार्टी बनाए । २०३६ मा एकता सम्मेलन गरी मनमोहन लगायतले नेकपाको घोषणा गरे । मोहनविक्रम सिंहको चौथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार ग¥यो । जनमत संग्रहलाई लिएर पार्टीभित्र पुनः मतभेद शुरू भयो ।

२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेपछि फुटको शृंखला पुनः शुरू भयो ।

चौथो महाधिवेशनपछि को–अर्डिनेशन केन्द्र अर्थात् झापा विद्रोह र पुष्पलाल समर्थकहरूको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)का रूपमा परिणत भयो ।

उता २०४० सालपछि नेकपा (मशाल), नेकपा (मसाल), नेकपा (चौम) तीन समूहमा विभाजन हुन पुग्यो । २०४२ सालमा मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो ।

२०४५ सालमा नेकपा (मशाल) को सम्मेलन गरी प्रचण्ड महामन्त्री बने । एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर निर्मल लामाहरूले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेलहरू मिलेर छुट्टै नेकपा (एकताकेन्द्र) गठन गरे । यता प्रचण्ड नेतृत्वले नेकपा माओवादी राख्यो र उसले १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्‍यो ।

यसबीचमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रभित्र माओवादीलाई हेर्ने दृष्टिकोणमा फेरि मतभेद शुरू भयो । अनि २०६३ सालमा उनीहरू पनि फेरि फुटे । १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२–६३ सालपछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रूपमा फुट भई मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द हुँदै पाँचवटा पार्टी बने । बाबुराम भट्टराईले त कम्युनिष्ट आन्दोलन नै छोडे ।

यसै सन्दर्भमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भएर नेकपा (एमाले) बन्यो ।

२०५० जेठमा मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युपछि माधवकुमार नेपाल नेकपा एमालेका महासचिव बने । २०५४ सालमा छैटौं महाधिवेशनमा वामदेव गौतमको फरक मतको लाइन र महाकाली सन्धि सम्बन्धमा विवाद भयो । अन्ततः २०५४ सालमै त्यस पार्टीमा पनि फुट भएर पुनः नेकपा (माले) को जन्म भयो ।

नेकपा (एमाले) को नवौं महाधिवेशन २०७१ सालमा माधव नेपाललाई पराजित गरी केपी शर्मा ओली निर्वाचित भए । २०७५ साल जेठमा एकीकृत भएका एमाले र माओवादी करीब तीन वर्षपछि २०७७ फागुनमा अलगअलग पार्टी भए । यतिखेर एमालेबाट पुनः फुटेर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी दर्ता भएको छ ।

कम्युनिष्ट दर्शन र सिद्धान्तमै खोट छ कि ?

नेपाली कम्युनिष्ट पार्टीहरूका यी टुटफुट, गुट र विभाजनका शृङ्खलाहरू नेपाली जनजीविकाका तमाम समस्या हल गर्नेतर्फ नभई फगत सत्तास्वार्थ र पद–प्रतिष्ठाकै लागि हुन् भन्ने तथ्यहरूले स्पष्ट पारेका छन् ।

पटक–पटकका विभाजन र टुटफुटले नेपाली कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै गम्भीर त्रुटि वा खोट छ कि भन्ने आशङ्का बढाएको छ । कम्युनिष्टहरूको यो प्रवृत्तिले नेपालको कम्युनिष्ट दर्शन, सिद्धान्त र स्कुलिङको नीतिगत शैलीमा पुनर्विचार र पुनव्र्याख्याको आवश्यकतालाई समेत बोध गराउँछ ।

नेतृत्व हस्तान्तरण नहुँदा समस्या

नेपाली कम्युनिष्ट नेताका लागि जुट्ने र टुट्ने कुरा सामान्य भएका छन् । नेताहरू बुढ्यौली लागिसक्दा समेत युवाहरूका लागि ठाउँ छाड्न तयार देखिन्नन् । नेपालका कम्युनिष्ट पार्टी र यसको नेतृत्व पुस्तान्तरणको अहिलेसम्मको इतिहास हेर्दा एकाध पार्टीलाई छोडेर आम कम्युनिष्ट पार्टीमा एउटै नेतृत्व दशकौंदेखि कायम रहेको पाइन्छ ।

मसालका मोहनविक्रम सिंह, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा माओवादीका प्रचण्ड ३० वर्षदेखि मसाल, माओवादी, माओवादी केन्द्र हुँदै नेकपा र पुनः माओवादी केन्द्रसम्म आइपुग्दा पनि अध्यक्ष नै छन् ।

१४ वर्ष पार्टीमा एकछत्र राज गर्दा पनि नेता माधव नेपाललाई पार्टी नेतृत्वको भोक अझै मर्न सकेन । उमेरले नेटो काटिसक्दा पनि अध्यक्ष हुनकै लागि उनले अर्को पार्टी खोलेका छन् ।

३० वर्षसम्म सक्रिय नेतृत्व हाँकेर पनि प्रचण्डमा लोभ, लालच र पदप्रतिको आसक्ति घटेको छैन, बरू झन् बढ्दो छ । यिनै पुराना कम्युनिष्ट नेताले नै सबैभन्दा बढी समस्या सिर्जना गरेका छन् ।

आचरण र जीवनशैलीमा परिवर्तन जरूरी

नेपाली नागरिकले कम्युनिष्ट पार्टीलाई दिएको करीब दुई तिहाइ मतको यो विभाजन देश र जनताका लागि ठूलो घात हो । कम्युनिष्ट नेताहरूमा आफ्नो गल्ती र कमजोरीको जिम्मेवारी लिने संस्कृति छैन ।

यिनीहरूका नाउँ, ठाउँ, शैली र भाषाहरू बेलाबेलामा परिवर्तन भइरहन्छन् । नेतृत्व तहको जीवनशैली, आचरण र बोलीमा देखापरेका अन्तर नै नेपाली कम्युनिष्ट पार्टीका सबैभन्दा ठूला समस्या हुन् ।

तसर्थ; पार्टीका दर्शन, नीति र सिद्धान्तमा समयानुकूल परिमार्जन गर्दै आचरण र जीवनशैलीमा पूर्णतः परिवर्तन नभई अब कम्युनिष्ट आन्दोलन अगाडि बढ्न गाह्रो देखिन्छ । नेतृत्वमा व्यक्तिवादी सोच र गुटगत प्रवृत्तिको अन्त्य नभएसम्म फुटका श्रृङ्खला रोकिने सम्भावना देखिंदैन । यसको अर्थ पछिल्लो विभाजन नै अन्तिम विभाजन हो भन्न पनि सकिन्न ।

अनुशासित, लगनशील, सैद्धान्तिक र जनमुखी नेतृत्वले मात्रै एकीकृत कम्युनिष्ट आन्दोलनको विकास गर्न सक्छ । त्यसो नभए कम्युनिष्टहरू नेपालबाट पनि नसिद्धिएलान् भन्न सकिन्न ।

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् ।)

लेखकको बारेमा
हरि ज्ञवाली

रुपन्देहीका शैक्षिक अगुवा विभिन्न विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?