+
+

तालिबानले कब्जा जमाएपछि लुकेर बस्दैछन् अफगान महिला क्रिकेट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते २०:४७
अफगान महिला क्रिकेट खेलाडी

१८ भदौ, काठमाडौं ।  काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्‍न बाध्‍य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् ।

अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्‍येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ ।  अब हामीले के गर्नुपर्छ भन्नेबारे चासोका साथ कुराकानी गर्छौ।’

गत महिनाको दोस्रो हप्तातिर तालिबानले काबुलमा कब्जा जमाएपछि घरबाट बाहिर निस्किन नपाएको एसेलको भनाइ छ । आफूले क्रिकेट किट पनि हटाइसको भन्दै एसेलले आफ्नो एकजना क्रिकेटर साथीलाई तालिबानले निशाना बनाएको बताइन् ।

उनले भनिन्, ‘जुन गाउँमा हामी क्रिकेट खेल्छौं । त्यहाँ तालिबानसँग काम गर्ने केही व्यक्ति छन् । तालिबानले काबुललाई आफ्नो कब्जामा लिएपछि उनीहरुले फेरि पनि क्रिकेट खेलेमा मृत्‍युदण्ड दिने धम्की हामीलाई दिएका छन् ।’

यस्तै तकवा (नाम परिवर्तन) वर्षौंदेखि अफगान महिला क्रिकेट टीममा आवद्ध छिन् । काबुलमा तालिबानको नियन्त्रणपछि भने उनी अफगानिस्तान छोड्न बाध्‍य भइन् । तालिबानबाट पहिचान हुने डरले उनी आफू बस्‍ने घर परिवर्तन गरी रहन्थिन् । किनकि तालिबानले उनको बुवालाई फोन गरेर सोधपुछ गर्ने गरेका थिए । तर उनको बुवाले छोरी आफ्नो सम्पर्कमा नरहेको बताउने गर्थे ।

महिला क्रिकेटरको सपना

तकवाले भनिन्, ‘ अब अगाडि के हुन्छ, यसको बारेमा अहिले म सोच्न पनि चाहन्‍न। तालिबान जब काबुलमा आयो। म एक हप्ता त न केही खाएँ र न सुत्न पाएँ । म केवल आफ्नो बारेमा मात्र सोचिरहेकी थिएँ। म दोस्रो महिलाको बारेमा पनि निक्‍कै चिन्तित थिएँ । किनकि उनीहरु आफ्नो जीवन र पढाइ त्यसै बर्बाद गरिरहेका थिए ।  कतिले त विवाह पनि गरेनन् किनकि अफगानिस्तानको लागि क्रिकेट खेल्न सकूँ भनेर । म त्यही भएर उनीहरुको बारेमा निक्कै चिन्तित छु।’

यस्तै अर्की पूर्वमहिला क्रिकेट खेलाडी हरिर ( नाम परिवर्तन)ले बीबीसीसँग अफगानिस्तानमा महिला क्रिकेट खेल्नुको कारण विकेट लिनु र रन बनाउनुभन्दा धेरैमाथि भएको बताइन् ।

उनले भनिन्, ‘ जतिबेला म क्रिकेट खेल्थेँ,  त्यतिबेला म केवल एउटा सशक्त महिलाको भाव मनमा राख्‍थें । मेरो भित्री आत्मविश्वास एकदम बलियो थियो । म आफैंलाई गौरवान्वित ठान्दथेँ । यस्तो लाग्थ्यो कि एउटा महिलाको रुपमा म जे पनि सजिलै गर्न सक्छु । आफ्नो सपनालाई साकार गर्न सक्छु ।’

तर हरिर तथा अफगानिस्तान महिला टीमका बाँकी खेलाडिको सपना सायद अब अधुरै रहनेछन् । एक वर्ष अगाडि उनीहरुमा सपना साकार हुने विश्वास थियो । तर अब उनीहरु आफ्नै सुरक्षालाई लिएर लुक्दै अनि त्रसित जीवन बिताउन बाध्‍य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?