+
+
फोटो कथा :

याल्बाङ गुम्बामा एक अनौठो नृत्य

गोरख विष्ट गोरख विष्ट
२०७८ भदौ १९ गते १७:१९

१९ भदौ, काठमाडौं । कोरोना महाव्याधिले सर्वत्र अत्याइरहेको थियो । मान्छेहरू घरभित्रै थुनिएका थिए । त्यही उकुसमुकुसबाट उम्किएर म हुम्ला पुगेको थिएँ, गत वैशाखमा ।

त्यसअघि खप्तड र बर्दियाको फन्को लगाइसकेको थिएँ । तेस्रो गन्तव्य बनाएँ, हुम्लालाई । अझ भनौं, हुम्लाको नाम्खा ख्याङ्ग्झोङ गुम्बा (याल्बांग गुम्बा) । त्यहाँ वर्षेनि छ्याम पूजा गरिन्छ । छ्याम पूजाकै आकर्षणले मलाई त्यहाँसम्म डोर्‍याएको थियो ।

काठमाडौंबाट नेपालगञ्ज, त्यहाँबाट सिमकोट हुँदै नाम्खा ख्याङ्ग्झोङ गुम्बा पुगियो । त्यहाँसम्मको हवाई उडान अनिश्चित हुने भएकाले पूजा शुरू हुनुअघि नै हामीले बाटो तताएका थियौं । वैशाखको याम । खुलेका हिमाल । अहो ! उमंगले आँत भरिएर आयो । मन फुरुंग भयो ।

संयोग कस्तो भने, याल्बाङ पुगेपछि हिउँ पर्न थाल्यो । मलाई हिउँसँग खेल्न, हिउँलाई स्पर्श गर्न औधी मनपर्छ ।

छ्याम पूजाको दिन । ‘पानी परेपछिको आकाश खुले झैं भने जसरी आकाश उघ्रिएको थियो । नीलो आकाशको पृष्ठभूमिमा हिमाल मस्त फक्रिएको थियो । बिहान ६ नबज्दै म गुम्बामा पुगें । त्यहाँ हिउँको अनन्त साम्राज्य थियो ।

बिहानको कलिलो घामले गुम्बालाई सुनौलो रंगले पोतेको थियो । गुम्बाको छानोबाट पग्लिएका हिउँको डल्लो झर्दै थियो । गुम्बाभित्रबाट एकनासले मन्त्र जप गरेको ध्वनि आइरहेको थियो । बाहिर प्रायः शान्त थियो ।

गुम्बामाथि कोणधारी सल्लाको घना जंगल थियो, जसलाई हिउँले सेताम्मे बनाएको थियो । जंगलमाथिको खुला आकाशमा चिल र कागहरू स्वच्छन्द उडिरहेका थिए ।

म क्यामेराको लेन्स सोझ्याउँदै जंगलतिर लागें । कर्णाली नदी र हावाको मिश्रित ध्वनि आफैंमा संगीतमय लाग्थ्यो ।

१५ वर्षअघि अर्थात् सन् २००७ मा पहिलो पटक म यस गुम्बामा पुगेको थिएँ, सिमकोटदेखि कैलाश मानसरोवर जाने क्रममा । त्यसैगरी सन् २०११ मा ग्रेट हिमालयन ट्रेलको सिलसिलामा सिमकोट हिल्सा लिमी जाने सिलसिलामा र केही वर्षको अन्तरालमा अरू केही पटक त्यहाँ पुगिसकेको थिएँ । त्यसबेला यस भेगलाई मोटर बाटोले छोएको थिएन ।

सिमकोटदेखि चार दिन हिंडेर हिल्सा पुगिन्थ्यो भने याल्बांग गुम्बा पुग्न सिमकोटबाट दुई दिन हिंड्नुपर्थ्यो । बाटोमा चौंरी, भेडा, बाख्राको बथान भेटिन्थे । कोही ताक्लाकोटतिर चामल दाल लिएर नून लिन जाँदै गरेका त कोही ताक्लाकोटबाट नुन, ऊन लिएर फर्कंदै गरेका हुन्थे । तर, मोटरबाटो पुगेपछि यस्ता दृश्यहरू दुर्लभ बनेको छ ।

गुम्बामा चर्को आवाजमा बाजा घन्किंदैछ । गुम्बा आसपासमा भएका मान्छेहरू एकत्रित भए । म पनि उनीहरूकै हूलमा मिसिएँ ।

गुम्बा धुमधामसँग सजाइएको थियो । त्यसको दायाँतर्फ बहुमूल्य थाङ्का सजाइएका थिए । बायाँतर्फ रिम्पोचे र पाहुनाहरू, अघिल्तिर गाउँले भक्तजनहरू मास्क लगाएर शान्तसँग बसिरहेका थिए ।

केहीबेरमै बाजागाजासहित गुम्बाको ढोकाबाट एकदमै मोहक पहिरनमा ठाँटिएका मान्छेको ताँती निस्किए । अघिल्तिरको खाली भागमा गोलाकार भएर नाच्न थाले । यो दृश्यलाई क्यामेरामा कैद गर्न म पनि हतारिएँ ।

हठात् एक अनौठो नृत्य

एकदमै शान्त, सौम्य र भव्य नृत्य भए । एउटा नृत्य एक घण्टासम्म जारी रह्यो । पाँचौं नृत्य के सकिएको थियो, एकाएक माहोल बिग्रियो । कोलाहल मच्चियो ।

गुम्बाबाट केही भूत जस्ता केही देवता जस्ता नाच्दै, उफ्रिंदै, झगडा गर्दै, कराउँदै, गड्याङगुडुङ बाजा बजाउँदै निस्किए । उनीहरू उफिंदै भक्तजन बसेको ठाउँमा आइपुगे ।

एक हिसाबले अत्यासलाग्दो र अत्याउने खालको माहोल थियो । तर, यसमा डराउनुपर्ने केही थिएन । किनभने यो त छ्याम पूजाको एउटा मुख्य सन्देश सहितको नृत्य थियो ।

गुम्बा संस्थापक तथा रिम्पोचे गुरु पेमा रिक्सालले नृत्यको अर्थ लगाउँदै भने, ‘बौद्ध धर्म ग्रन्थ अनुसार हाम्रो मृत्यु पछिको ४९ औं दिनसम्म हामी कुनै नयाँ जुनी नलिंदै हामीलाई यस्तै के हो के हो हुन्छ । धेरै डरलाग्दा कुराहरू देख्छौं । त्यसबेला भोक, प्यासले सताउँछ ।’

उनका अनुसार शुरु शुरुमा सिन्हारुमा अहिलेको मानिसहरूकै जन्ममा के को जुनी पाउने हो आधा त्यस्तै, आधा अहिलेको जुनीको सम्झना आउँछ रे । विस्तारै समय बित्दै जाँदा अनेकन् खालको सोचहरू आउँछ रे ! अनेकन् क्रोध आउँछ रे ! क्रोधको कारण अनेकन् डरलाग्दा सचित्रहरू देखिन थाल्छन् रे ! त्यसबाट अत्तालिने हुन्छ रे ! त्यहींबाट स्वर्ग, नर्कको छिनोफानो हुन्छ रे !

त्यो बुद्ध प्रवृत्ति आफैं हो, आफ्नै छायाँ हो भनेर चिनेन भने धेरै दिन तड्पिने अवस्था हुन्छ रे ! त्यसैले छायाँमा श्रद्धापूर्वक हेर्नुपर्छ र बुझ्नुपर्छ त्यो ४९ दिनसम्म देखिने डरलाग्दा सचित्र, अरू कोही नभएर बुद्ध प्रकृतिका कारण देखिएका गुरु पद्मसम्भवको अनेकन् रूप हो भन्ने थाहा हुन्छ रे ! यो त हामीले छ्याममा हेरिसकेको कुरा हो ।

यो त गुरु पद्मसम्भवको रूप मात्र हो भन्ने हुन्छ र डर लाग्दैन । यो बुद्धसँग परिचित हुने अवसर हो । नृत्यको अन्त्यमा गुरु पद्मसम्भव उपस्थित हुनुहुन्छ र उहाँले हामीलाई आशीर्वाद दिनुहुन्छ । त्यसपछि पाप काट्ने र पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।

छ्याममा गुरु पद्मसम्भवको जीवनीमा आधारित आठ वटा बज्र नृत्य गरिन्छ । हजारौं वर्षदेखि गरिंदै आएको यो पूजा नाम्खा ख्याङग्झोंग गुम्बा याल्बाङमा भने गत १३ वर्षदेखि अटुट रूपमा गरिंदै आएको छ । धार्मिक मात्र होइन पर्यटकीय हिसाबले पनि छ्याम पूजाको प्रचार हुनुपर्ने देखिन्छ ।

म आफैं पनि हुम्लाको बासिन्दा । तर, छ्यामको बारेमा मैले गएको वर्ष मात्र दिदी डा. जनिता गुरुङबाट थाहा पाएको हुँ । उनी इसिमोडको कार्यक्रम संयोजक । इसिमोड अन्तर्गत कैलाश पवित्र भूपरिधि कार्यक्रमले केही वर्षदेखि हुम्ला लिमीको पर्यटकीय संभावनाको पहिचान तथा प्रवर्द्धन गरिरहेको छ ।

कैलाश पवित्र भू–परिधि कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय एकीकृत पर्वती विकास केन्द्र (इसिमोड) को कथा अनुदानबाट यस हुम्लाको यात्रा सम्भव भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?