महालक्ष्मी बैंक प्रकरण : पहिले धितो नक्कली दाबी, उजुरी परेपछि २५ तोला सुन फिर्ता


२० भदौ, काठमाडौं । ललितपुरकी विष्णु महर्जनले २०७२ फागुनमा ऋण लिँदा राखेको धितो बराबरको २५ तोला सुन फिर्ता पाएकी छन् । ६ वर्षपछि साँवा र ब्याज चुक्ता गरेर महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखासँग धितो फिर्ता माग्दा बैंकले नक्कली रहेको भन्दै फिर्ता दिन मानेको थिएन ।
तर नेपाल राष्ट्र बैंक र प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि बैंकले सुन फिर्ता दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्न समय लागेको भन्दै धितो फिर्ता गरिएको बताएको छ ।
बैंकबाट १४ लाख ऋण लिएबापत उनले सुन धितो राखेकी थिइन् । त्यही सुन नक्कली भएको दाबी बैंकले ६ वर्षपछि गरेको थियो ।
तर विवाद प्रहरी र राष्ट्र बैंकसम्म पुगेपछि बैंकले रकम फिर्ता गरेको हो । यसअघि बैंकले किन धितो नक्कली दाबी गरेको थियो भन्ने खुलेको छैन ।
सुनबारे बैंक अझै अलमलमा
बैंकमा लामो समयदेखि सुन रहेको भन्दै कुमारीपाटी शाखाले महर्जनलाई हिसाबकिताब गर्न बोलाएको थियो । तर रकम तिरी सकेपछि बैंकका म्यानेजरले धितो राखिएको सुनमध्ये आधा मात्र सक्कली भएको बताएपछि उनी झस्किएकी थिइन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार सुन नक्कली हो भनेपछि उनले लिन मानिनन् । बरु अरु आफन्तहरुलाई पनि बोलाइन् र त्यसक्रममा बैंकमै विवाद भयो । विवाद साम्य हुने स्थिति नभएपछि अघिल्लो साताको शुक्रबार यो घटना प्रहरीसम्म पुगेको थियो ।
नेपाल राष्ट्र बैंकलाई पनि खबर गरिएको थियो । ‘त्यसपछि हाम्रो टोली पनि गएको थियो, उहाँहरुले ठगीको जाहेरी दिन खोज्नु भएको थियो’ बज्राचार्य भन्छिन् ।
तर प्रहरी कहाँ केहिवेर छलफल भएपछि पीडित यूटर्न भइन् । उनी तत्काल ठगीको जाहेरी नदिन राजी भइन् । बैंकले पनि छलफल गर्ने बतायो ।
यहीबीच आइतबार बैंकले सुन फिर्ता दिएको सार्वजनिक भएको छ । यसपछि प्रहरीले पीडितसँग जिज्ञासा राख्दा बैंकले ‘पहिले प्राविधिक गडबडी भएको हुनसक्ने बताउँदै’ धितो फिर्ता दिएको भनेकी छन् ।
तर बैंक स्रोत चाहिँ अझै पनि सुनको प्रकरणको समस्या नसुल्झिएको बताउँछ । स्रोतका अनुसार यो सुन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अघिल्लो वर्ष चलाएको कमसल धितो राखेर अनियमित कर्जा प्रवाह गरिएको मुद्दासँग जोडिन्छ ।
बैंकको सुन जाँचकी फेरिएपछि २०६९ देखि २०७४ सालसम्म बैंकको कुमारीपाटी शाखाबाट ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह भएको पाइएको थियो । करारमा राखिएका कर्मचारीको म्याद थप नभएपछि नयाँ कर्मचारी आए, उनले साँवाब्याज नतिरिएका पुराना फाइल केलाउँदै जाँदा अनियमित कर्जा प्रवाह भएको भेटिएपछि सीआईबीसम्म पुगेको थियो ।
महर्जनको धितो पनि यही घटनासँग जोडिने बैंकको दाबी छ । तर यसमा सुन जाँचकीले फाइदा लिएर आधा नक्कली राखे वा पहिल्यै समस्या थियो भन्ने स्पष्ट नभएको स्रोतको दाबी छ ।
पीडितको दाबीमा चाहिँ बैंकले सुरुवातमा देखाएको सुनको झोला नै फरक थियो । त्यसैले बैंकले पहिले अर्कै धितो देखाएको र आफ्नो धितो राख्ने वेला जाँच्दा वेला ठिकठाक भएको उनी बताउँछिन् । बैंकका तत्कालीन सुन चाँजकी पाल्पाका पद्यमचन्द्र ज्ञवाली अहिले पनि थुनामै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4