+
+
Shares
महालक्ष्मी बैंकको रकम हिनामिना :

संगठित मिलेमतोमा पौने ३ करोड गायब, अनलाइन बेटिङको शंका

काठमाडौंबाट अनुगमन टोली दार्चुला पुगेपछि खुल्यो रहस्य

नगद विभाग, ग्राहक सहायता कक्ष, बैंकको कर्जा विभागका कर्मचारीसहित शाखा प्रबन्धकसमेतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यी चार जनाको मात्रै मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन २६ गते १८:१८
तस्वीर : एआईबाट

२६ साउन, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा गोकुलेश्वरमा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको रकम हिनामिनाको सूचना केन्द्रीय कार्यालयसम्म पुग्यो ।

दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी विकास बैंकले अनुगमनका लागि सुक्ष्म रुपमा टोली खटायो । गोकुलेश्वर शाखालाई जानकारी नै नदिई काठमाडौंबाट सुटुक्क अनुगमन टोली २३ साउनमा दार्चुला पुग्यो ।

‘काठमाडौंबाट अनुगमनका लागि आएको बताएपछि केही कर्मचारी भने सुरुमै हच्किएका थिए । त्यसपछि झनै हाम्रो सूचना सत्य हुनसक्ने विश्वास बढ्यो,’ एक अधिकृतले भने ।

काठमाडौंबाट अनुगमनका लागि गएको टोलीले छानबिन गर्दै गयो । अनि खुल्यो ठूलो मात्रामा रकमको हिनामिना । दुई करोड ८४ लाख ७६ हजार ९०२ रुपैयाँ हिनामिना भएको छानबिनका क्रममा भेटियो ।

बैंकको भल्टमा रहेको नगद रकम गैरकानुनी रुपमा भुक्तानी लिएर बैंकलाई हानी नोक्सानी गरेको छानबिन समितिले निष्कर्ष निकाल्यो । लगत्तै यसबारे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा डीएसपी प्रकाश दाहाललाई घटनाबारे जानकारी गराउँदै त्यसैदिन (२३ साउनमै) उजुरी दिइयो ।

यसको भोलिपल्ट २४ साउनमा केन्द्रीय कार्यालयबाट अनुगमनमा गएको टोलीले दिएको छानबिनको निष्कर्ष अनुसार चार जना पक्राउ परे ।

डीएसपी दाहालका अनुसार पक्राउ पर्नेहरूमा दार्चुलाकै शैल्यशिखर नगरपालिका–३ घर भइ बैंकको नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद, बैतडीको पुर्चौडी नगरपालिका–३ घर भइ बैंकको ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त, कैलालीको भजनी नगरपालिका–७ घर भई बैंकको शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही र दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त छन् ।

‘बैंकले हामीलाई जानकारी गराएलगत्तै पक्राउ गरेर अनुसन्धान थालेका छौं । अहिलेसम्म बैंककै छानबिनले रकम हिनामिना भएको देखिएको छ । हाम्रो अनुसन्धान भने भर्खर सुरु हुँदैछ,’ डीएसपी दाहालले भने ।

अहिलेसम्मको छानबिनले चार जनाको मात्रै संलग्नता देखाएकाले उनीहरूलाई मात्रै पक्राउ गरिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिएमा कारबाही अघि बढाउने डीएसपी दाहाल बताउँछन् ।

पक्राउ परेकी निर्मला साउदकै घरमा बैंकको कार्यालय रहेको पाइएको छ । निर्मलाको आफ्नै माइतीघरमा रहेको कार्यालयमा उनी काम गर्थिन् । जहाँ उनीमाथि पौने तीन करोड हिनामिनाको आरोप लागेको छ ।

बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज आजदेखि निरन्तर रुपमा चलेको बताइएको छ । बैंकले ग्राहकको रकम भने सुरक्षित रहेकाले ढुक्कले काम गर्न भनेको छ ।

संगठित रुपमा मिलेमतो गरेर रकम हिनामिना

पक्राउ परेकाहरूले संगठित रुपमा मिलेमतो गरेर बैंकको रकम हिनामिना गरेको देखिएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनाको मिलेमतो देखिएको दार्चुलाका प्रहरी प्रमुख दाहालले बताए ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा एक्लाएक्लै रुपमा रकम हिनामिना भन्दा पनि चारै जना मिलेर रकम हिनामिना गरेको देखिन्छ,’ डीएसपी दाहालले भने, ‘हिनामिना गरिएको रकम समेत उनीहरूले बाँडफाँड गरेर बुझेको खुलेको छ ।’

संगठित रुपमा मिलेर बैंकको रकम हिनामिना गरेको पाइए पनि प्रहरीले उनीहरूविरुद्ध अहिले भने बैंकिङ कसुरमा मात्रै म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध हिजो आइतबार दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए । पछि अनुसन्धान गर्र्दै जाँदा अन्य कसुर पनि आकर्षित हुने देखिएमा थपिँदै लगिने उनी बताउँछन् ।

अनलाइन बेटिङको आशंका

पौने तीन करोड रुपैयाँ हिनामिना गरेको बताइए पनि उनीहरूबाट भने उक्त रकम बरामद भएको छैन । हिनामिना गरिएको रकम उनीहरूले कहाँ लगे, कसलाई दिए, के मा खर्च गरे भन्ने अनुसन्धानकै पाटो रहेको प्रहरीले बताएको छ ।

यो रकम कहिलेदेखि हिनामिना गरियो, भन्नेबारे अहिलेसम्म यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ । हिनामिनाको रकम नभेटिए पनि प्रारम्भिक सोधपुछ गर्दा अनाइन बेटिङ खेलेको बताएको एक प्रहरी अधिकृत बताउँछन् ।

तर उनीहरूको बताएको उक्त कुरालाई प्रहरीले पुष्टि गरिसकेको छैन । ‘उहाँहरूको भनाइ एउटा होला । त्यसलाई प्राविधिक जाँच गरेर पुष्टि नगरी भन्न सक्ने अवस्था छैन । यसका लागि भर्खर हाम्रो अनुसन्धान सुरु भएको छ,’ डीएसपी दाहालले अनलाइनखबरसँग भने । ठूलो रकम कहाँ लगेर लगानी गरे भन्ने चासो प्रहरीले राखेको छ ।

बेटिङ नै खेलेको भए पनि हिनामिना गरिएको सबै रकम भने नखेलेको हुनुपर्ने बुझाइ प्रहरीको छ । यद्यपि यो पाटोको अनुसन्धान भने सुरु हुन बाँकी नै छ ।

आरोपितहरू भर्खर पक्राउ परेका विस्तृत रुपमा अनुसन्धान हुन बाँकी नै रहेकाले अहिले नै सबै कुरा खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?