+
+
Shares

विदेशको जस्तै चिरिच्याट्ट गाउँ बनाउन बाटैभरी फूल रोप्दै हर्क

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको उर्लाबारी–९ आम्बारी डाँडाटोलका हर्क थेबेले २० वर्ष विदेश बसेर फर्केपछि गाउँघरलाई फूलले सजाउने काम थाले।
  • उनले सडक छेउका झाडी सफा गरी फूलका बिरुवा रोपेर करिब २ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।

मोरङ उर्लाबारी-९ आम्बारी डाँडाटोलका हर्क थेबेले २० वर्ष विदेशमै बिताए । उनी माल्दिभ्स गएका थिए र लामो समय त्यहीं बसेर काम गरे । विदेशबाट फर्केपछि उनलाई के लाग्यो भने, हाम्रो गाउँघरलाई स्यहारसुसार नै पुगेन । बाटोघाटो सफाचट भएन । आसपासका झाडीजंगल राम्रो देखिएन । विदेशको जस्तै सफासुग्घर र चिरिच्याट्ट कसरी बनाउने ? उनीसँग एउटा जुक्ति थियो, फूलहरूले सबैतिर ढकमक्क बनाउने ।

 

उनी सडक छेउछाउका झाडी सफा गर्न थाले । खनीखोस्री गरे । अनि फूलका बिरुवाहरू ल्याएर मेहेनतसाथ रोप्न थाले । उनको यो काम देखेर कति हाँसे, कतिले दिल्लगी गरे, कति रिसाए पनि । तर, उनले आफ्नो मेलो छाडेनन् । सडक आसपास फूलहरू रोपिरहे, गोडमेल गरिरहे, मलजल गरिरहे ।

उनको श्रम र सपनाको नतिजा यतिबेला देखिएको छ । त्यहाँ फूलैफूलले ढकमक्क भएको छ । मान्छेहरू सेल्फी खिच्न र टिकटक बनाउन ओइरो लागेको छ । ‘मैले त सानो प्रयास गरेको हुँ । सरकारी सहयोग पाएको छैन। विदेशमा रहेका साथीहरूले हौसला दिए, केहीले आर्थिक साथ पनि । म त श्रम गर्ने मान्छे मात्रै हुँ’ हर्क भन्छन्।

डाँडाटोल–आम्बारी बजार जोड्ने यो सडक खण्ड पहिले बिजुलीका पोलमा गाई बाँध्ने, अन्न सुकाउने, गिट्टी-बालुवा थुपार्ने ठाउँ थियो। आज त्यही ठाउँ फोटोसुट, घुमफिर र भेटघाटको केन्द्र बनेको छ।

‘फूल हेर्दा मानिस रमाउँछन्, रमाइलो हुँदा गाउँ खुसी हुन्छ भन्ने लागेपछि लागिरहेँ’ हर्कको भनाइ छ।

उक्त क्षेत्रमा करिब २ लाख ५० हजार रुपैयाँ व्यक्तिगत खर्च भएको उनले बताए । ‘महँगो फूल ल्याउन सकिएन, असारे फूल रोपें। सुरूमा हाँस्नेहरू थिए, तर म दृढ थिएँ’ उनी भन्छन्।

सामाजिक रूपान्तरणको उदाहरण

स्थानीय पत्रकार तेजन खड्का भन्छन्, ‘जहाँबाट अरू डराउँछन्, त्यहीँबाट हर्क दाइले सुरुवात गर्नुभयो । उहाँको काम सच्चा समाज रूपान्तरणको उदाहरण हो।’
उनका अनुसार यो प्रयासलाई स्थानीय सरकारले संरक्षण गर्नु अहिलेको आवश्यकता हो ।

वडाको साथ र प्रतिबद्धता

थेबे जस्तो नागरिक देशकै लागि प्रेरणा भएको उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान बताउँछन् । उनको कामलाई संस्थागत बनाउन वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले प्राविधिक र स्रोतसाधन सहयोगको तयारी पनि भइरहेको जानकारी दिए ।

‘हरित उर्लाबारी’ को सपना

फेसबुकदेखि युट्युबसम्म फूलबारीको चर्चा छाएको छ। हेर्दा यस्तो लाग्छ-सिर्जना प्रेम र श्रमले चाहिँ साँच्चै परिवर्तन सम्भव रहेछ।

एक व्यक्तिको सपना आज सिङ्गो टोलको गौरव बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?