
हत्या गरिएको छ मेरो
र हत्या गरिएको छ
हजारौं अधबैंसे फूलहरूको
मेरो जस्तै
रित्ता, रित्ता भएका छन्
फूलका डालीहरू
त्यस्तै देखिएको छ बगैंचाको अनुहार
जस्तो देखिन्छ
सन्तान गुमाएका बा-आमाको अनुहार
कहिले भन्यो र पत्थरको देवताले
फूलको रगत पिउँछु भनेर
मान्छेको पूजाले भनेको हो
ए सर्वज्ञानी मान्छे
तिम्रो देउता
मेरो ढुङ्गो
तिम्रो पुण्य
मेरो पाप
म जन्मेकै होइन
बुढो लासको छातीमा मर्न भनेर
म हुर्केकै होइन
तरुनीको चुल्ठोमा मूर्झाउन भनेर
न त मेरो अभीप्सा हो
माफियाको घाँटीमा माला उनिनु
न त मेरो पुकार हो
गंगाको पानीमा बगेर जानु
म फूलेको हो
हावाको गीतमा नाँच्न भनेर
म फक्रेको हो
मौरीको खुशीमा हाँस्न भनेर
मर्जीको जिन्दगी बाँच्न भनेर
बारुद गन्हाएको पृथ्वीभरि
म सुवास छर्न चाहन्छु
नच्यात्नु, नटिप्नु, नचुँड्नु मलाई
म जुन हाँगामा जन्मिएँ
त्यही हाँगामा मर्न चाहन्छु।
हाल : अमेरिका
प्रतिक्रिया 4