
३ कात्तिक, भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ ।
सोमबार लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० रुपैयाँ प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० रुपैयाँमा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई एक हजार रुपैयाँसम्ममा बिक्री गरेका छन् ।
एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० रुपैयाँमा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले आज एउटा सयपत्रीको माला एक हजार ५०० रुपैयाँका दरले खरिद गरेको जानकारी दिए ।
राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० रुपैयाँमा बिक्री गरेकोमा आइतबार ६०० रुपैयाँमा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् ।
खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० रुपैयाँमा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० रुपैयाँमा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिइन् ।
एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० रुपैयाँमा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ रुपैयाँमा बिक्री गरेकाले व्यापारीले १०० रुपैयाँसम्ममा बिक्री गरेको बताइन् । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताइन् ।
गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भएको बताइन् । बिचौलियाले फूल र माला बजार पुर्याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ ।
पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिइन् । उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताइन् ।
गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिइन् ।
बजारमा फूल र मालासँगै लक्ष्मी पूजाका लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे ६० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १५० रुपैयाँसम्ममा बिक्री भएको र बिमिरो ३० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाइ मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् ।
प्रतिक्रिया 4