+
+
Shares

लमजुङ र सिन्धुपाल्चोकमा मध्यम वर्षा

काठमाडौंको सुन्दरीजलमा एक घण्टामै १३ मिलिमिटर वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ६:४१

३१ वैशाख, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान विशेष गरी बागमती र कोशीका केही भेगमा वर्षा रेकर्ड भएको छ । गत २४ घण्टामा भने गण्डकीमा समेत वर्षा भएको थियो ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी बादल लागेको छ । साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

काठमाडौंको सुन्दरीजलमा एक घण्टामै १३ मिलिमिटर वर्षा मापन भएको छ । एक घण्टामा १० मिलिमिटर भन्दा बढी र ५० भन्दा कम वर्षा हुनुलाई मध्यम वर्षा भएको मानिन्छ ।

सिन्धुपाल्चोकको दुवाचौर र नवलपुर तथा आसपासका क्षेत्र र लमजुङको रैनास्टार र कुन्छा तथा आसपासका क्षेत्रमा पनि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा वर्षा हुने पूर्वानुमान छ । साथै हिमाली तथा पहाडी भागका एक/दुई स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग तथा कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?