+
+

कांग्रेसले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १७:४७
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालय

२१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशन शुरु हुनु अघि आन्तरिक छलफलका लागि दलको बैठक बोलाइएको उनले बताइन् ।

सचेतक भुसालका अनुसार दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीति के हुने ? भन्ने विषयमा विचार आदानप्रदान हुनेछ ।

सदनलाई सहज रुपमा चलाउने प्रयासमा कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गरिरहेको उनले बताइन् ।

‘बजेट लगायतका महत्वपूर्ण विषयलाई अगाडि बढाउनुपर्ने छ । यसका लागि सदन सहज ढङ्गले चल्नुपर्ने हुन्छ । सदनलाई सहज रुपमा चलाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल भइरहेको छ,’ उनले भनिन् ।

एमालेसँग बजेट पास गर्नका लागि नियमावली निलम्बन गर्नुपर्ने लगायतका विषयमा पनि छलफल भएको उनले बताइन् ।

तर, सार्वजनिक रुपमा एमालेका नेताहरुले सदनलाई चल्न नदिने भनिरहेको आफूहरुको जानकारीमा रहेको भन्दै उनले सदनलाई चल्नै नदिने रणनीति एमालेले अख्तियार गरेको खण्डमा के गर्ने ? भन्ने विषयमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका बीचमा छलफल भइरहेको बताइन् ।

‘बजेट जस्तो महत्वपूर्ण विषयलाई अगाडि बढाउन नदिने काम भयो भने त्यो जिम्मेवार प्रतिपक्षी ठहरिँदैन । त्यस्तो केही गरी भयो भने लोकतान्त्रिक प्रक्रिया (बहुमत) का आधारमा निर्णय (नियमावली निलम्बन) गरेर जानुपर्ने पनि हुन सक्छ । हामी सबै विकल्पमा खुला भएर छलफल गरिरहेका छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?