+
+

टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १२:१९

युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ ।

एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ ।

एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ ।

तथापि सम्पूर्ण प्रयोगकर्ताले समग्रमा खर्चिने कुल समयमा भने युट्युब नै पहिलो स्थानमा छ । युट्युबमा प्रयोगकर्ताको संख्या पनि टिकटकको तुलनामा अत्यधिक रहेको र लामो भिडियोहरु हुने हुनाले सम्पूर्ण प्रयोगकर्ताले खर्चिने कुल समय युट्युबको अधिक रहेको हो ।

इन्टरनेट प्रयोगकर्ताले व्यतित गर्ने कुल समयको हिसाबमा टिकटकभन्दा युट्युब अगाडि देखिनुमा लगभग सबैजसो इन्टरनेट प्रयोगकर्ताको पहुँचमा युट्युब हुनुपनि हो ।

गुगल स्वामित्वको भिडियो जाएन्ट युट्युबका मासिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई अर्ब रहेको छ । जबकि पछिल्लो तथ्यांक अनुसार टिकटकका प्रयोगकर्ताको संख्या ७० करोड छ ।

एप एन्नीको यो रिपोर्ट एन्ड्रोइड एप प्रयोगकर्ताको आधारमा लिइएको हो, जसमा आइओएस प्रयोगकर्तालाई समावेश गरिएको छैन । साथै यसमा चिनियाँ प्रयोगकर्ताको संख्या पनि समावेश छैन । चीनमा टिकटक डुइनको नामले चिनिन्छ र यो चीनमा धेरै प्रयोगकर्ता भएको मुख्य एप मध्येमा पर्दछ ।

रिपोर्ट अनुसार टिकटकलगायतका लाइभ स्ट्रिमिङ एपहरुले सर्जकहरुलाई भुक्तानी गर्ने रकममा पनि तीव्र वृद्धि भैरहेको छ । सन् २०२१ को पहिलो अर्धवार्षिकमा शीर्ष २५ वटा सोसल मिडिया एपहरुले सर्जकहरुलाई भुक्तानी गरेको कुल रकमको तीन चौथाई रकम लाइभ स्ट्रिमिङ फिचर भएका एपहरुले भुक्तान गरेका छन् । त्यस्तै प्रयोगकर्ताले एपमा खर्चिने रकममा पनि लाइभ स्ट्रिमिङ फिचरयुक्त एपहरु अग्रस्थानमा छन् ।

टिकटकले पनि आफूलाई मन परेको सर्जकलाई प्रयोगकर्ताले टिप दिनसक्ने सुविधा उपलब्ध गराएको छ । त्यस्तै युट्युबमा पनि यस्तै सुविधा उपलब्ध छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?