+
+

व्यवसायीको माग : अब पर्यटन क्षेत्र खुला भएको घोषणा गरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १३:५२

२२ भदौ, काठमाडौं । नेपालमा पर्यटक आवागमन सहज बनाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा रहेकाले पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला भएको घोषणा गर्न व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजनमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीले भ्याक्सिन लगाइसकेको सन्दर्भमा अब पर्यटन क्षेत्र खुला भएको घोषणा गर्नुपर्ने धारणा राखेका थिए ।

सरकारले तत्कालै पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउनु पर्ने, सुरक्षित गन्तव्य र गतिविधि पहिचान गरि प्रचार गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाई पर्यटकको भ्रमण सहज बनाउनु पर्ने व्यवसायीको भनाइ छ ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका महासचिव सरिता लामाले सरकारले समयमै निर्णय गर्न नसक्दा पर्यटक आउने यो सिजन ((सेप्टेम्बर –नोभेम्बर बाट पनि व्यवसायीले लाभ लिन नपाउने जोखिम रहेको बताइन् । पर्यटकले नेपाल आउन चासो राखेको भएपनि १० दिन क्वारेन्टिनको नियमले आउन सक्ने अवस्था नरहेको बताइन् ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत जोशीले आफूले गरेको अध्ययनमा मुख्य पर्यटकीय गन्तव्यमा काम गर्ने ९५ प्रतिशतभन्दा बढी कर्मचारीले पूर्ण डोज नै खोप लगाएको पाएको जानकारी दिए । पाटा अन्तर्राष्ट्रियका सचिव एवं पर्यटन व्यवसायी सुमन पाण्डेले खोप लगाएका पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउँदै अनअराइभल भिषा दिनु पर्ने धारणा राखे । विदेशमा पीसीआर गरेका आएका पर्यटकमा पनि कोरोना संक्रमण हुने जोखिम भने हुन सक्ने भन्दै त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन र पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न सके जोखिम कम हुने उनको भनाइ छ ।

पर्यटन विज्ञ तथा व्यवसायी राज ज्ञवालीले ६ महिनादेखि सरकारले ट्राभल एडभाइजरी जारी नगर्दा पर्यटकलाई आउन समस्या भएको बताउँदै सरकारले तत्काल एडभाइजरी जारी गर्नु पर्ने बताए । जवाफमा अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा पर्यटक भिषा दिनु पर्ने गरी मन्त्रीपरिषद्को बैठकले निर्णय गरेकाले ट्राभल एडभाइजरी जारी गर्न नसकिएको र अनअराइभल भिसा पुनः सुचारु गर्ने निर्णय गराउन आफूपनि सकारात्मक रहेको बताए ।

होटल एसोशियन नेपाल (हान)का अध्यक्ष सिर्जना राणाले पर्यटकिय गन्तव्य खुला गर्नुको साथै नेपाल पर्यटन बोर्डले नेपालका गन्तव्यको बारेका सकारात्मक सूचना प्रवाहमा काम गर्नु पर्ने बताइन् । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईंले आन्दोलन र राजनीतिक कार्यक्रममा कोरोना नहुने तर पर्यटक ल्याउँदा मात्र कोरोना संक्रमण बढ्छ भन्ने सोचले पर्यटन क्षेत्रलाई थप धरासायी बनाउने बताए ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभु चन्दले निजी क्षेत्रले एकमत साथ उठाएको मागलाई सरकारले सम्बोधन गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने बताए । पाटा मुख्यालयका आजीवन सदस्य तथा वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्र र पर्यटनविद् विजय अमात्यले संकटका बेला प्रभावकारी संचार र ब्रान्ड भिजिबिलिटी अत्यन्तै महत्वपूर्ण हुने भएकाले यसलाई पनि प्राथमिकताका साथ हेर्नुपर्ने सुझाए । कार्यक्रममा उपस्थित नेपाल पर्यटन बोर्डका मार्केटिङ विभाग प्रमुख लक्ष्मण गौतमले व्यवसायीका माग सम्बोधनका लागि आफूहरूले मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?