
२२ भदौ, काठमाडौं । भियतनाममा एकजनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोपमा पाँच वर्ष जेल सजाय सुनाइएको छ ।
भियतनामको अदालतले ले भान ट्रि नाम गरेका व्यक्तिले जोखिमपूर्ण संक्रामक रोग फैलाएको मामिलामा दोषी पाइएको भन्दै उनलाई पाँच वर्षको जेल सजाय सुनाएको हो । उनले आठ जनालाई कोरोनाभाइरस सारेको र उनीहरुमध्ये एकजनाको मृत्यु भएको अदालतले बताएको छ ।
गत जुलाईको सुरुआतमा ले भान ट्रि मोटरसाइकलमा हो चि मिन्ह सहरबाट आफ्नो गृहप्रान्त का माउ गएका थिए । का माउमा उनले आफ्नो स्वास्थ्य घोषणाको क्रममा झुट बोका थिए ।
उनलाई हालैको भ्रमण इतिहास सोधिएको थियो जसमा आइसोलेसनबाट बच्न उनले झुट बोलेका थिए । त्यतिबेला स्थानीय प्रशासनले अन्य प्रान्तबाट आउने मानिसलाई २१ दिन आइसोलेसनमा राख्ने नियम लगाएको थियो ।
पछि कोरोना परीक्षण गर्दा ट्रिमा कोरोना संक्रमण पोजेटिभ देखियो । यतिबेलासम्म उनले आफ्ना परिवारका सदस्यका साथै उनले आफूले भ्रमण गरेको केही सहयोग केन्द्रका कर्मचारीलाई पनि संक्रमण सारिसकेका थिए ।
यो मामिलामा ट्रिलाई एक दिनको सुनुवाइबाट उक्त जेल सजाय सुनाइएको हो र उनलाई ८८० अमेरिकी डलर बराबरको जरीवाना पनि तोकिएको छ ।
केही समयअघिसम्म भियतनाम कोरोना संक्रमण नियन्त्रणको लागि सफल मुलुक मानिएको थियो । उसले कोरोना संक्रमण नियन्त्रणको लागि निकै कडा नियम लगाएको थियो । यद्यपि गत जुनदेखि भने संक्रमण बढ्न थालेको थियो । विशेषगरी निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमण बढेसँगै संक्रमण ठूलो संख्यामा फैलिएको हो ।
अहिलेसम्म भियतनाममा पाँच लाख ३० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने १३ हजार तीनसयभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनीहरुमध्ये अधिकांशको मृत्यु पछिल्लो केही महिनामा भएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4