+
+
Shares

चितवनमा एमालेका ३६ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

५ जनाले फिर्ता लिए, तीन स्थानीय तहमा शून्य

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २०:३६

२२, भदौ, चितवन । चितवनमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये करिब १० प्रतिशतले फुटेर बनेको नयाँ दल एकीकृत समाजवादी रोजेका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका ३१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । चितवनमा एमालेबाट निर्वाचित ३ सय ९ जना जनप्रतिनिधि छन् । एकीकृत समाजवादीको पक्षमा ३६ जनाले हस्ताक्षर गरे पनि ५ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । फिर्ता लिएकाहरुको विवरण निर्वाचन आयोगको केन्द्रमा पठाइने कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादी रोज्नेमा ११ जना वडाध्यक्ष छन् भने बाँकी २५ जना नगर कार्यपालिका सदस्य तथा वडा सदस्यहरु छन् । एकीकृत समाजवादी रोज्नेमा भरतपुर महानगरपालिका वडाध्यक्ष ५ जना, रत्ननगरका ४ जना र राप्ती नगरपालिकाका १ जना छन् ।

भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष बिष्णुराज महतो, वडा नं. १२ का नरेन्द्र कान्दङवा, वडा नं. १० का अरुणपीडित भण्डारी, वडा नं. ९ का यमलाल कँण्डेल र वडा नं. ७ का राजेन्द्रमणि काफ्ले छन् । महानगरका ३ जना कार्यपालिका सदस्यले पनि एकीकृत समाजवादी रोजेका छन् ।

सनाखत फिर्ता लिनेमा भरतपुर १५ का रामबहादुर लामा, भरतपुर २ की मन देउमाया विक, रत्ननगर ३ का विमला परियार, ६ का कृष्णहरी परियार र ८ का कुमारी विक छन् ।

भरतपुर महानगरमा एमालेका १३ वडाध्यक्षसहित ६९ जनप्रतिनिधि निर्वाचित भएकोमा १५ जना एकीकृत समाजवादीमा लागेका हुन् । यस्तै, पूर्वी चितवनको रत्ननगरमा मेयर, उपमेयर, १० वडाध्यक्षसहित एमालेबाट ५२ जना एमालेबाट निर्वाचित भएकोमा १६ जनाले नयाँ दल रोजेका छन् । रत्ननगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्ण महतो, वडा नं. ९ का वडाध्यक्ष रोशन आचार्य, वडा नं. १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ र वडा नं. १५ का वडाध्यक्ष हुमनाथ लामिछानेले एकीकृत समाजवादी रोजेका हुन् ।

पूर्वी चितवनकै राप्ती नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शमशेर लामा र अर्का एक जना वडा सदस्यले मात्रै समाजवादी रोजेका छन् । राप्तीमा मेयर, उपमेयर, ११ वडाध्यक्षसहित एमालेबाट ५४ जना निर्वाचित थिए ।

माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोसहित ३ जनाले एकीकृत समाजवादीमा लागेका छन् । माडीमा उपमेयरसहित ५ वडा जना वडाध्यक्ष निर्वाचित भएका थिए । माडीमा एमालेबाट निर्वाचित २६ जना जनप्रनिनिधि थिए ।

तीन स्थानीय तहमा शून्य

चितवनका तीन स्थानीय तहका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेनन् । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र खैरहनी नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि एमालेमै बसेका छन् ।

खैरहनी र कालिका नगरपालिकामा एमालेले मेयर र उपमेयर नै जितेको थियो । कालिका नगरापालिकामा मेयर, उपमेयर, ६ वडाध्यक्षसहित ३४ जना र खैरहनी नगरपालिकामा मेयर, उपमेयर, ७ वडाध्यक्षसहित ३८ जना एमालेबाट जनप्रतिनिधी निर्वाचित भएका थिए । इच्छाकामना गाउँपालिकामा ३ वडाध्यक्षसहित १४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । जिल्लामा चितवनमा ७ स्थानीय तहमा ९८ वडाहरु छन् ।

सबै मेयर र उपमेयर एमालेमै

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका ७ स्थानीय तहमध्ये एमालेबाट पाँच जना मेयर र ६ जना उपमेयर विजयी बनेका थिए । कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा एमालेले मेयर उपमेयरसहित कार्यपालिकामा बहुमत हुने गरी जनप्रतिनिधि निर्वाचित भएका थिए ।

माडी नगरपालिकामा उपमेयर एमालेले जितेको थियो । निर्वाचित मेयर र उपमेयर सबै एमालेमा नै बसेका छन् । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेल गरेका थिए भने अन्य स्थानीय तहमा दलहरु एक्लाएक्लै लडेका थिए ।

नयाँ दर्ता भएको दल रोज्न जनप्रतिनिधिलाई दिइएको समय सीमा मंगलबार सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?