+
+

एकीकृत समाजवादी : गण्डकी र लुम्बिनीमा कमजोर, अरू प्रदेशमा कस्तो छ ?

हरि, श्रवण, राजन, अमृत, टोपराज, यज्ञ र जनक हरि, श्रवण, राजन, अमृत, टोपराज, यज्ञ र जनक
२०७८ भदौ २२ गते २२:०४

२२ भदौ, काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति प्रदेश २ सँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा बलियो देखिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नयाँ दलको उपस्थिति प्रदेश १ र बाग्मतीमा ठीकै देखिएको छ । तर गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जनप्रतिनिधि मूल पार्टीमै बसेका छन् ।

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई २२ भदौ (मंगलबार) साँझ ५ बजेसम्मको समय दिएको थियो ।

प्राप्त विवरणअनुसार ५४ प्रदेशसभा सदस्यले नयाँ दल रोजेका छन् । सुदूरपश्चिममा प्रदेशसभाकै ठूलो दल एकीकृत समाजवादी बनेको छ भने प्रदेश २ मा एमालेभन्दा नयाँ दल ठूलो बनेको छ ।गण्डकी प्रदेशसभामा एकीकृत समाजवादीका सांसद संख्या शून्य भएको छ । अन्य प्रदेशमा भने यो दलको उपस्थिति हुने भएको छ ।

प्रदेश १ : प्रदेशसभामा एमालेको बहुमत गुम्यो

प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ जना थिए । उनीहरुमध्ये १० जनाले एकीकृत समाजवादी रोजेका छन् । यससँगै एमालेले प्रदेशसभाको बहुमत गुमाएको छ । यद्यपि ठूलो दल एमालेले नै छ ।

यस्तै प्रदेश १ का १३ जिल्लाका १ सय ८२ जना एमालेका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सोलुखुम्बुमा भने नेकपा एकीकृत समाजवादी पार्टी रोज्नेको संख्या शून्य छ ।

मोरङमा ८ जना जनप्रतिनिधले नयाँ दल रोजका छन् । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्यले नयाँ दल रोजेका हुन् ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ला इलाममा ५८ जनाले नयाँ पार्टी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई पालिका प्रमुखसहित ४८ जनाले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार एक मेयर, एक पालिका अध्यक्षसहित २८ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन् । ताप्लेजुङमा दुई जना पालिका उपप्रमुख र जिल्ला समन्वय समिति उपप्रमुखसहित २१ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

झापामा ७ जना, सुनसरीमा ६ जना, पाँचथरमा दुई वडा अध्यक्षसहित ११ जना र संखुवासभामा १५ जनाले एकीकृत समाजवादी रोजेका छन् । तेह्रथुममा एक जना वडा अध्यक्षसहित दुई जना, खोटाङमा जिल्ला समन्वय समिति प्रमुखसहित ११ जना, धनुकटामा ८ जना र ओखलढुङ्गामा एक जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

प्रदेश २ : प्रदेशसभामा एकीकृत समाजवादी वलियो

प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । एमालेमा अब ८ जना मात्रै सांसद बाँकी छन् ।

एकीकृत समाजवादी रोज्नेमा प्रदेश सांसदहरु डिल्लीप्रसाद उप्रेती, शत्रुद्यन महतो, गोबिन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रबीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन, मनोज सेन श्रीवास्तव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ छन् ।

अब एमालेमा सत्यनारायण मण्डल, किशोरी साह ‘कमल’, डा. मनोज कुमार सिंह, जगतारैनदेवी सुडिन, त्रिलोकी प्रसाद, अनिता कुमारी यादव, शारदा देवी थापा र लगनलाल चौधरी गरी आठ जना बाँकी रहे ।

धनुषामा नेकपा एमालेबाट निर्वाचित दुई स्थानीय तहका उपप्रमुखले एकीकृत समाजवादी रोजेका छन् । मिथिला बिहारी नगरपालिका र बटेश्वर गाउँपालिकाका उपप्रमुख तथा ८ वटा वडाका अध्यक्षसहित ४८ जनाले एकीकृत समाजवादी रोजेको प्रदेश सांसद शत्रुद्यन महतोले जानकारी दिए ।

सप्तरीमा ६ जना वडाध्यक्षसहित २९ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । यो जिल्लामा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा तत्कालिन एमालेबाट जितेपनि उनीहरु एमालेमै बसेका छन् । सर्लाहीका ४८ र सिरहाका ६१ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । बारामा ३ जना वडाध्यक्षसहित ३२ जनाले एकीकृत समाजवादी पार्टी रोज्दा पर्साका ५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

बाग्मती : एमालेले प्रदेशसभामा बहुमत गुमायो

बागमती प्रदेशमा एमाले एक्लैको ५६ सांसद थियो ।बागमती प्रदेशमा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । यससँगै एमालेले बहुमत गुमाएको छ । अब एमाले सांसदको संख्या ४३ मा झरेको छ ।

राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, बसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवालले एकीकृत समाजवादी रोजेका छन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तान र इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टसहित ३९ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

धादिङको एक नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, १४ जना वडा अध्यक्षसहित ८५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

काभ्रेका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । चितवनमा ३६, नुवाकोटमा ९, दोलखामा ७ जना, सिन्धुपाल्चोकमा २ जना, रामेछापका ५ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

गण्डकी प्रदेशसभामा शून्य

५९ सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २७ सांसद थिए । उनीहरु सबै मूल पार्टीमा नै बसेका छन् । सबै पालिका प्रमुख एमालेमै बसेका छन् भने एक पालिका उपाध्यक्षसहित ३६ जना स्थानीय जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका उपाध्यक्ष प्रमिला पौडेलले एमाले छाडेर नयाँ दल रोजेकी हुन् । त्यहाँका एक वडाध्यक्ष र २ जना कार्यपालिका सदस्य, १ जना जिल्ला समन्वय समिति सदस्य तथा हरिनास गाउँपालिकाका एक वडा सदस्यले पनि नयाँ दल रोजेका छन् ।

कास्कीमा माछापुच्छ्रेका एक वडा सदस्य र एक कार्यपालिका सदस्य, मादी गाउँपालिकाका एक कार्यपालिका सदस्य र रूपा गाउँपालिकाको वडा सदस्यले नयाँ पार्टी रोजेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४ जना वडाध्यक्ष, ब्यास नगरपालिकाका एक वडाध्यक्ष र ८ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका छन् । गोरखामा दुई वडाध्यक्ष र एक वडा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।

बागलुङमा बागलुङ नगरपालिका एक वडाध्यक्ष र ढोरपाटन नगरपालिका एक वडाध्यक्ष, म्याग्दीमा बेनी नगरपालिका २ जना वडा सदस्य र धौलागिरि नगरपालिकाका वडा सदस्य १ जना एकीकृत समाजवादी रोजेका छन् ।

लुम्बिनीमा विभाजनको असर न्यून

लुम्बिनी प्रदेशमा एमालेलाई विभाजनको असर न्यून देखिएको छ । प्रदेशका केन्द्रीय नेताहरु मूल पार्टीमै रहेकाले लुम्बिनीमा न्यून संख्यामा मात्र जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष केपी ओलीका निकट प्रभावशाली नेताहरू रुपन्देहीका विष्णु पौडेल, दाङका शंकर पोखरेल, गुल्मीका प्रदीप ज्ञवाली र पाल्पाका दलबहादुर राना हुन् । माधव नेपाल समूहमा रहेका रुपन्देहीका घनश्याम भुसाल, दाङका युवराज ज्ञवाली, गुल्मीका गोकर्ण विष्टलगायतका नेताहरु पनि एमालेमै छन् ।

यही कारण जनप्रतिनिधिहरु पनि एमालेमै रहे । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसद थिए, जसमध्ये पाल्पाकी समानुपातिक सांसद रमा घर्तीले मात्रै एकीकृत समाजवादी रोजेकी छन् ।

निर्वाचन कार्यालय रुपन्देहीका अनुसार उपप्रमुखसहित ७ जनाले एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, बुटवल उपमहानगरपालिका वडा नं २, ३ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं ११ र देवदह ७ का वडा सदस्य रहेका छन् ।

दाङका गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीसहित २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । उपाध्यक्ष चौधरी दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीकी दिदी हुन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष भुपबहादुर केसी, घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीलगायतले पनि एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन् ।

बाँकेमा उपमेयरसहित ११ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए ।

प्यूठानमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्यसहित ७ जनाले नयाँ पार्टी रोजेका छन् ।

अर्घाखाँचीमा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ४ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् भने बर्दियामा ६ जना, रुकुम पूर्वमा वडाध्यक्षसहित ५ जना, कपिलवस्तुमा वडाध्यक्षसहित २ जना, पाल्पामा रम्भा गाउँपालिका ६ का एकजना वडा सदस्यले मात्र नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । संघीय सांसद सोमप्रसाद पाण्डे र प्रदेश सांसद रमा घर्ती नेकपा एकीकृत समाजवादीमा खुलेपनि स्थानीय तहका जनप्रतिनिधिहरु एमालेमै बसेका छन् ।

रोल्पामा ५ जना वडा सदस्य, नवलपरासी पश्चिममा एकजना वडा सदस्यले एकीकृत मसाजवादी रोज्दा गुल्मी कोही पनि एमाले छाडेर नयाँ पार्टीमा गएका छैनन् ।

कर्णाली प्रदेशमा बलियो उपस्थिति

कर्णाली प्रदेशमा एकीकृत समाजवादीको प्रभाव देखिएको छ । यो प्रदेशका तीन सांसदसहित ३१८ जना जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

प्रदेश सभाका तीन सदस्य रुकुम पश्चिमककी देवी वली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभाको पहिलो दल एमाले (सभामुख सहित) १३ सिटमा झरेको छ ।

१४ जना स्थानीय तहका प्रमुख र उप्रमुख, ३८ जना वडाध्यक्ष र २६३ वडासदस्यले नयाँ दल रोजेका हुन् ।

७९ स्थानीय तह रहेको कर्णालीमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो । उनीहरुमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि नयाँ दल रोजेको प्रदेशसभा सदस्य देवी वलीले दावी गरिन् । ‘केही हिमाली जिल्लाको तथ्याङ्क आइपुगेको छैन’ सांसद वलीले भनिन्, ‘यो संख्या बढ्दो छ ।’

राजनीतिक हिसाबले एमालेको दबदवा रहेको दैलेखमा ६५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । जिल्लाका ११ स्थानीय तहमध्ये ६ स्थानीय तहमा एमालेबाट प्रमुख–उपप्रमुख र एक–एक स्थानीय तहमा प्रमुख–उपप्रमुख निर्वाचित छन् । उनीहरुमध्ये दुई गाउँपालिकाका अध्यक्ष, दुई नगरपालिकाका उपप्रमुख सहित ६५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेको नेताहरुको दावी छ ।

एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला समेत रहेको सल्यानमा ७५ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन् ।

दश स्थानीय तह रहेको सल्यानमा स्थानीय तहको निर्वाचनमा एमालेका चार प्रमुख, तीन उपप्रमुख, २७ वडाध्यक्षसहित १४२ जनप्रनिधि थिए । उनीहरुमध्ये एक प्रमुख, एक उपप्रमुख, १९ वडाध्यक्ष र ५४ जना वडा सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

डोल्पामा ४१ जनाले एमाले छोडेका छन् । एकएक जनाले पालिका प्रमुख र उपप्रमुख निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा ८ जना वडाध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, ७ जना महिला सदस्य, ६ जना दलित महिला सदस्य र ५ जना कार्यपालिका सदस्य रहेका छन् ।

कालीकोटमा दुई जना गाउँपालिकाका अध्यक्ष, दुईजना नगरपालिकाका उपप्रमुख, १२ जना वडाध्यक्ष र ४९ जना वडा सदस्यहरुले एकीकृत समाजवादी रोजेका हुन् । सुर्खेतमा चार वडाध्यक्षसहित १५, हुम्लामा ५, मुगुमा गाउँपालिकाका उपाध्यक्ष, पाँच जना वडाध्यक्षसहित २८, जुम्लामा एकजना नगरपालिकाका उपप्रमुखसहित ४१ जना, रुकुम पश्चिममा वडाध्यक्षसहित तीन जना र जाजरकोटमा दुई वडाध्यक्षसहित १० जना जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको छन् ।

सुदूूरपश्चिममा पनि एमालेलाई धक्का

सुदूरपश्चिम प्रदेशमा एमालेका १४ जना प्रदेशसभा सदस्यसहित २२१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

विगतमा माधव नेपालको पक्षमा उभिएका १७ मध्ये चार सांसद एमालेमै बसेका छन् । एमालेमा बसेका मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले बुधबार राजीनामा दिएका छन् । पूर्वमन्त्री कृष्णराज सुवेदी र गोविन्द कुँवर पनि नयाँ पार्टीमा गएनन् । तर १४ सांसदसहित एकीकृत समाजवादी प्रदेशसभाकै सबभन्दा ठूलो दल बनेको छ ।

यस्तै दुई नगर प्रमुख, चार उपप्रमुख, दुई गाउँपालिकाका अध्यक्ष, दुई उपाध्यक्ष, एक जिल्ला समन्वय समितिको उपप्रमुखले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

कैलालीमा ६ स्थानीय तहमा प्रमुख/उपप्रमुख र एउटा उपप्रमुख एमालेले जितेको थियो । उनीहरुमध्ये गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमकुमार थापा र जिल्ला समन्वय समितिकी उपप्रमुख सुुन्दरीदेवी चौधरीले एकीकृत समाजवादी रोजेकी छन् । मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुुजादेवी बुुढामगर, विभिन्न पालिकाका १२ जना वडाध्यक्षसहित ६५ जनप्रतिनिधिले नयाँ दल रोजेको छन् ।

कञ्चनपुरमा मेयरसहित ५१ जनप्रतिनिधि नयाँ दल रोजेका छन् । पुनर्बास नगरपालिकाका मेयर जीवनबहादुर थापा, ११ जना वडाध्यक्षसहितका ५१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । कञ्चनपुरमा ४ वटामा प्रमुख र उपप्रमुख जितेको एमालेलाई जितेको थियो ।

बझाङमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित २५ जनप्रतिधिले एकीकृत समाजवादी रोजेका छन् । केदास्युु गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी, उपाध्यक्ष निशा धामीसहित पाँच जना वडाध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुले गरेर २४ जनाले सनाखत गरेका हुन् । थलारा गाउँपालिका ३ का वडाध्यक्ष अनिल विष्टले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

अछाममा साँफेबगर नगरपालिकाका प्रमुख कुुलबहादुर कुँवर, उपप्रमुख बिरमलादेवी बुुढथापा र चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदसहित २७ जनाले नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन् ।

डोटीमा पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुुख शिवराज खड्का र सायल गाउँपालिका ३ का वडाध्यक्ष गोरखबहादुर सार्कीले नयाँ दल रोजेका छन् । बाजुरामा स्वामीकात्तिक गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मीमा बुढासहित पाँच जना, बैतडीमा चार वडाध्यक्षसहित २८ जना र दार्चुलामा एक वडा सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

डडेल्धुरामा अमरगढी नगरपालिका ५ का वडाध्यक्ष खेमराज पाठकसहित दुई जनाले नयाँ दल रोजेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?