
२३ भदौ, काठमाडौं । एक महिना अघि २५ रुपैयाँ किलो पाइने बोडी (तने) को भाउ ७५ रुपैयाँ पुगेको छ । ६५ रुपैयाँमा पाइने एक किलो काउलीका लागि ९० रुपैयाँ तिर्नुपर्छ । १७.५० मा पाइने घिरौंलाको भाउ ७० रुपैयाँ पुग्दा भिण्डीको भाउ २८.५० बाट बढेर ५५ रुपैयाँ पुगेको छ ।
लौकाको २५ बाट बढेर ५५ तथा तितेकरेलाको २० रुपैयाँबाट बढेर ८५ रुपैयाँ पुगेको छ । अफ सिजनका तरकारीको मूल्य त अझ आकासिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको एक महिना अर्थात २३ साउन र बुधबार २३ भदौको औषत थोक मूल्य हेर्दा तरकारीको भाउ चार गुणासम्म वृद्धि भएको पाइएको छ ।
अदुवा, आलु (रातो/सेता), काउली स्थानीय, काँक्रो, खुर्सानी हरियो (अकबरे), गाजर लोकल, गोलभेडा सानो (टनेल), घिउ सिमी (लोकल/हाइब्रिड/टाटे), घिरौंला लगायतका तरकारीको मूल्य बढेको छ । यसैगरी चमसुरको साग, न्यूरो, तोरीको साग, रायोको साग, हरियो धनिया, चिचिन्डो, च्याउ (डल्ले), झिंगुनी, तिते करेला, परवर (लोकल), प्याज हरियो, फर्सी (पोकेको/हरियो डल्लो), बोडी (तने/मकै), ब्रो काउली, भन्टा( डल्लो/लाम्चो), भिन्डी, भेडे खुर्सानी, रातो बन्दा, लसुन (हरियो/सुकेको नेपाली), लौका, सेतो मुला हाइब्रिड र स्कुसको मूल्य पनि बढेको समितिले जनाएको छ ।
तिते करेलाको मूल्य चार गुणाले वृद्धि, अन्य तरकारीको मूल्य कति पुग्यो ?
२३ साउनको तुलनामा बुधबार तितेकरेलाको प्रतिकेजी मूल्य चार गुणाभन्दा बढीले वृद्धि भएको छ । २३ साउनमा तिते करेलाको प्रतिकेजी मूल्य २० रुपैयाँ थियो । बुधबार ६५ रुपैयाँले बढेर प्रतिकेजी ८५ रुपैयाँ कायम भएको छ ।
तने बोडी र घिरौंलाको प्रतिकेजी मूल्य तीन गुणाले वृद्धि भएको छ । साउन २३ गते तने बोडीको मूल्य २५ रुपैयाँ हुँदा बुधबार यसको भाउ बढेर ७५ रुपैयाँ कायम भएको छ । यस्तै घिरौंलाको प्रतिकेजी मूल्य साउन २३ गते १७.५० पैसा थियो । तर बुधबार भाउ बढेर यसको प्रतिकेजी मूल्य ६० रुपैयाँ कायम भएको छ ।
यसैगरी लौका, लसुन हरियो, ब्रो काउली र हरियो धनियाको मूल्य दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । साउन २३ मा लौकाको प्रतिकेजी मूल्य २५ रुपैयाँ हुँदा बुधबार भाउ बढेर ५५ रुपैयाँमा आइपुगेको छ । यस्तै हरियो लसुन, ब्रो काउली र हरिया धनियाको प्रतिकेजी औसत मूल्य क्रमशः १४५, २३० र २६३ रुपैयाँले वृद्धि भएर २९०, ३७५ र ४०० रुपैयाँ पुगेको छ ।
किन बढ्यो मूल्य ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ प्रत्येक वर्ष यो सिजनमा तरकारीको भाउ यसरी नै वृद्धि हुने बताउँछन् ।
कृषक तहदेखि नै भाउ बढेर काठमाडौंसम्म केही तरकारी आइपुगेकोले पनि तरकारीको मूल्य बढेको बताए । बजारमा भर्खरै आउन सुरु भएर माग उच्च रहेका तरकारीको मूल्य पनि केही मात्रामा बढेको उनको दाबी छ ।
वर्षाका कारण कतिपय किसान लगाएका तरकारी बारीमै कुहिने गर्दा पनि तरकारीको मूल्य बढेको उनले बताए । भदौ यता कालीमाटी फलफूल तथा तरकारी बजारमा १ करोड ३५ लाख ७ हजार ९३८ किलो तरकारी भित्रिएको उनले बताए ।
भाउ घटेका मुख्य तरकारी
एक महिनाको अवधिमा केही तरकारीको मूल्य भनेको घटेको पाइएको छ । ५ प्रकारका तरकारीको मूल्य घटेको छ । गोलभेडा (लोकल), ठूलो गोलभेडा (भारतीय), चुकुन्दर, लसुन सुकेको चाइनिज र मुला रातोको मूल्य घटेको समितिले जनाएको छ ।
साउन २३ गते गोलभेडा (लोकल)को मूल्य २० रुपैयाँ कायम हुँदा भदौ २३ गते रु. १२.५० कायम छ । यस्तै चुकुन्दरको मूल्य ४० रुपैयाँ घटेर बुधबार ९५ रुपैयाँ कायम छ । यस्तै ठूलो गोलभेडा (भारतीय) र मुला (रातो) को मूल्य १०÷१० रुपैयाँ घटेर क्रमशः ५५ र ३५ रुपैयाँमा आइपुग्दा लसुन सुकेको (चाइनिज) मूल्य ५ रुपैयाँ मात्रा घटेर २०० कायम छ ।
मूल्य स्थिर रहेका तरकारी
११ प्रकारका तरकारीको मूल्य स्थिर पाइएको छ । च्याउ (कन्य), तामा, पिंडालु, प्याज सुकेको (भारतीय, बन्दा (लोकल), मुला सेतो (लोकल), भटमास कोसा, खुर्सानी (सुकेको÷हरियो) र गान्टे मुलाको भाउ स्थिर रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया 4