+
+

अन्तरजातीय प्रेम विवाह : विज्ञानले स्वीकार्‍यो, समाजले स्वीकारेन्

राजेश विद्रोही राजेश विद्रोही
२०७८ भदौ २४ गते १४:५९

यतिबेला संसार विज्ञान प्रविधिको युगमा छ । सारा मानव समुदाय यसकै वरिपरि छन् । विज्ञानको नयाँ नयाँ आविष्कारद्वारा निर्मित/सिर्जित सबै कुरामाथि मान्छे आत्मनिर्भर छन् । विज्ञान प्रविधिकै भरमा मानिसको जीवन अडेको छ । सारा धर्म, संस्कार र संस्कृति समेत विस्तारै विज्ञान प्रविधिमा आधारित हुन थालेका छन् ।

तर हजारौं वर्षदेखि दिमागी रोग बनेको जात व्यवस्थामा मानिसले विज्ञानको प्रवेशलाई निषेध गरेको छ । जात व्यवस्थाले सिङ्गो मानव समुदायलाई नै कलंकित बनाएको छ । यसको सबैभन्दा ठूलो मारमा परेका छ- युवाहरूको अन्तरजातीय प्रेमविवाह । क्रस विवाह अर्थात् अन्तरजातीय विवाहलाई विज्ञानले स्वीकारेको छ तर समाजले अझै पनि स्वीकार्न सकेको छैन ।

केही दिन अगाडि सप्तरीमा एकजना मधेशी बाहुन युवासँग भागी प्रेमविवाह गरेकी ज्योति पासवानलाई श्रीमानले होटलमा छोडेर फरार भएपछि उनले आत्महत्याको बाटो रोजिन् । बुटवलमा एकजना परियार थरकी युवतीले बाहुन युवकसँग मन्दिरमा प्रेमविवाह गरिन् । युवकले युवतीको गर्भपतन समेत गराएको थियो ।

पछि जातको कारण अस्वीकार गरेपछि युवतीले झुन्डिएर आत्महत्या गरिन् । धनुषामा एकजना मण्डल थरकी दलित युवतीलाई गैरदलित युवकले बच्चा जन्माएर फरार भएपछि उनको बिचल्ली छ । महोत्तरीमा एकजना मुसहर थरकी दलित युवतीलाई गैरदलित युवकले प्रेमविवाह गरेको केही महीनापछि एउटा गोठमा उनलाई बेवारिसे छोडेर फरार भएपछि उनी विजोग र विचलित अवस्थामा बाँचिरहेकी छिन् ।

पाँचथरको रानीगाउँबाट झापाको दमकमा बस्दै आएका अन्तरजातीय जोडी छविलाल विश्वकर्मा र सीता ढुङ्गानाबीचको प्रेमविवाहको दुई दशक भएको छ । २१ वर्षको छोरा छ । छोरा सानो छँदा मामा घरको कुरा गर्थे तर अहिले आमाबुबाको कहानी थाहा पाएपछि कुरा गर्दैनन् । तर आमाबुबाको नियति भने उस्तै छ ।

दलितसँग विवाह गरेपछि माइती पक्षले छोरी मरिन् भनेर गाउँमा पूजापाठ, भोजभतेर र गाई दान गरेर चोखिए । सीताको बुवाको मृत्यु भएपछि पनि उनलाई बोलाएनन् । उनले आफ्नै घरमा फोटो राखेर बुवाको किरिया गरिन् ।

एक वर्ष अगाडि अन्तरजातीय प्रेमकै कारण रुकुमको चौरजहारीमा नवराज विकसहित ६ जनालाई निर्मम तरिकाले हत्या गरी भेरी नदीमा शवसँगै मानवीय संवेदना बगाइदिए । अन्तरजातीय प्रेम गरेकै कारण हत्या भएको काभ्रेका अजित मिजारको अस्थिपन्जर अझै पनि शिक्षण अस्पतालमै छ ।

गुल्मीका राजु बस्नेतले एकजना दलित युवतीसँग प्रेम विवाह गरेका थिए । समाजले उनीहरूलाई कहिल्यै स्वीकारेन । मानसिक तनावले राजुले आफ्नो श्रीमती र उनीबाट जन्मेको सन्तानलाई छोडेपछि बच्चा र आमाको अवस्था अहिले पनि विजोग छ ।

झापाकी अस्मिता सार्कीको पनि अन्तरजातीय प्रेम विवाह सफल हुन सकेन । तनहुँकी संगीता परियारको पनि अन्तरजातीय प्रेमविवाहलाई समाजले स्वीकारेन । दैलेखका सेते दमाईका छोरो सन्तबहादुर दमाई र राजकुमारी शाही बीचको अन्तरजातीय प्रेमविवाहकै कारण हत्या भयो ।

रूपन्देहीकी अंगिरा पासीले गैरदलित युवकसँग हिमचिम गरेको विषयलाई लिएर समाजले उनै युवकलाई जिम्मा लगाएपछि उनी झुन्डिएर आत्महत्या गरिन् । भोजपुरको संगम ठटाल परियारले श्रेष्ठ युवतीसँग भागी प्रेमविवाह गरेका थिए । प्रहरी र जनप्रतिनिधिहरूको रोहबरमा उनीहरूलाई छुटाएपछि संगमले आत्महत्या गरेका थिए ।

२०६९ मा धादिङको एक दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेम गरेको निहुँमा गैरदलित समुदायले दलित बस्ती नै विस्थापन हुनुपर्ने गरी आक्रमण गरेको घटना ताजै छ ।

दिनप्रतिदिन यस्ता थुप्रै घटना घटिरहेका छन् । जसको तथ्याङ्क खोतल्ने हो भने लामै हुन्छ । तर राज्यलाई भने कुनै प्रवाह छैन । सरकारसँग कुनै ठोस तथ्याङ्क छैन ।

यस्ता घटनाहरू घट्नुको मुख्य कारण समाजमा रहेको जात व्यवस्था नै हो । यो आलेखमा १४ वटा घटना समेटिएको छ । तर सबै घटनाको सारवस्तु एउटै हो- जात व्यवस्थाले गिजोलिएको सामाजिक विकृतिको पराकाष्ठा । यसलाई अहिलेको विकसित विज्ञान प्रविधिको युगले निषेध गरेको छ ।

तर हाम्रो मस्तिष्कलाई रोगी बनाएको परम्परागत विकृतिपूर्ण र अमानवीय सोच, चिन्तन र प्रवृत्तिलाई भने पछिल्ला उन्नत ज्ञान र विज्ञानले निषेध गर्न सकिरहेको छैन । त्यसैले यस्ता दानवरुपी घटनाहरू मानवकै हातबाट घटिरहेको अवस्था छ ।

अन्तरजातीय प्रेम जोडीहरूले मानव समाजलाई जोड्न साहसपूर्वक अगाडि बढेका देखिन्छन् । हामी मानिसबीच केही फरक छैन, हामी एउटै हो भनेर सन्देश दिइरहेका छन् । तर उनीहरूलाई साथदिने शक्ति समाजमा नहुँदा विछोडमा फस्ने कि त हिंसामा गएर टुंगिरहेको अवस्था छ ।

अन्तरजातीय प्रेम जोडीहरूले मानव समाजलाई जोड्न साहसपूर्वक अगाडि बढेका देखिन्छन् । हामी मानिसबीच केही फरक छैन, हामी एउटै हो भनेर सन्देश दिइरहेका छन् । तर उनीहरूलाई साथदिने शक्ति समाजमा नहुँदा विछोडमा फस्ने कि त हिंसामा गएर टुंगिरहेको अवस्था छ ।

मुलुकमा जातीय विभेद विरुद्धको कानून पटकपटक बन्यो तर, व्यवहारमा भने शून्यताको अवस्था छ । २०२० को मुलुकी ऐनको महल १० मा कसैले जात र धर्मको आधारमा, वर्ण र वर्गको आधारमा कुनै किसिमको छुवाछूत वा भेदभाव गरेमा तीन महीनादेखि तीन वर्षसम्म कैद, १ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना अर्थात् दुवै सजाय हुने व्यवस्था छ ।

२०५८ मा राष्ट्रिय दलित आयोगको गठनपछि ऐनमा थप परिमार्जन भयो । २०६३ को अन्तरिम संविधानमा पनि जातीय छुवाछूत तथा विभेद विरुद्धको हकको व्यवस्था थियो । २०७२ को संविधानको धारा २४, ४० र ४२ मा जातीय छुवाछूत तथा विभेद विरुद्धमा अधिकारको व्यवस्था गरेको छ ।

२०७४ को मुलुकी ऐनको दफा १६६ मा जातका आधारमा गरिने छुवाछूतलाई पूर्णरूपमा बन्देज गरेको छ । यदि यस्तो कसुर गरे वा गराएमा तीन वर्ष कैद, ३० हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था छ ।

२०६६/६७ मा सरकारले दलितसँग विवाह गर्नेलाई एक लाख प्रोत्साहन रकमको व्यवस्था गरेको थियो । तीन वर्ष यो कार्यक्रम चल्यो । दुई सय बीस जोडीले अनुदान पनि पाए । तर केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सुनियोजित रूपमा अनुदानको बजेट कटाएर कार्यक्रम बन्द गरियो ।

अहिले जति पनि घटनाहरू घटिरहेका छन् सबै घटनामा न्याय दिलाउने सवालमा कुनै न कुनै रूपमा राजनीतिक दलका नेता-कार्यकर्ता र प्रशासनले ठूलो धोका दिइरहेका छन् ।

कानून व्यवसायीदेखि बिचौलियाहरूले बिजनेस कम्प्लेक्समा लगेर मानवीय संवेदनाको व्यापार गरिरहेका छन् । परिमाणतः यस्ता घटनाहरू बढिरहेका छन् । दलित र गैरदलितबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई समाज र परिवारले अझै पनि मानवीय नजरले हेर्न सकिरहेको छैन । इज्जत प्रतिष्ठा जाने नजरले हेरेकै कारण पनि यसखाले घटनाहरूमा कमी आउन नसकेको हो ।

समाजमा संघर्ष गरेर बाँचिरहेका यस्ता थुप्रै जोडी छन् जसको सम्बन्ध बलियो छ तर सामाजिक स्वीकार्यता कमजोर छ । यसले उनीहरूको सम्बन्धलाई पलपल चुनौती दिइरहेको छ । उनीहरू विभेद, उत्पीडन र अपमानित भएर तनावमा बाँचिरहेका छन् ।

तनाव सम्बन्ध भत्किने अवस्थासम्म पुग्छ त कहिले ज्यानै जाने अवस्थासम्म । सम्बन्ध भत्काउन न उमेरले छेक्छ न त उनीहरूबाट जन्मिएका सन्तानले । जोडीहरू त्रासपूर्ण जिन्दगी बाँच्न मजबुर छन् रातदिन । कतिखेर के हुने हो कुनै ठेगान छैन ।

दलित र गैरदलितबीचको प्रेम विवाहलाई समाजले परिवर्तनको लागि विद्रोहको नजरले देख्नुभन्दा सामाजिक विकृतिको रूपमा लिन्छन् । दलित र गैरदलितबीच समाजमा देखिएको अमानवीय खाडललाई पुर्ने युवाहरूको यो वास्तवमै ठूलो मौन विद्रोह हो । तर यसको संरक्षण छैन । नयाँ युवा पुस्ताले समाजलाई सम्मानरूपमा जोड्न उनीहरूले प्रेमविवाहलाई प्रमुख अस्त्रको रूपमा लिएका छन् ।

युवा पुस्ताको घटनाक्रमले नयाँ युगको बोध र खोज गरिरहेको अवस्था छ भने अर्कोतिर त्यसलाई दबाउन अझै पनि समाजको पुरानो सामाजिक परम्परागत सोच, चिन्तन र प्रवृत्तिले ठूलो भूमिका निर्वाह गरिरहेको अवस्था छ । जो युगसापेक्ष र विज्ञानसम्मत छैन ।

यसरी समाजले विज्ञानको हरेक उत्पादन र विषयलाई प्रयोग गर्ने हो भने मानवीय र समतामूलक समाज निर्माण गर्न अन्तरजातीय प्रेमविवाहलाई किन नस्वीकार्ने ? समाजले विद्रोहलाई किन स्वीकार्न सकेको छैन ? यसमा राजनीतिक दल, सामाजिक अभियन्ता र राज्यको सकारात्मक भूमिका हुन जरुरी छ ।

मानिसको सबैभन्दा ठूलो रोग निषेधको निषेध हो, एसेप्ट होइन । जो मानव समाजको विकासलाई ठूलो बाधा गरिरहेको छ । जसले परिवर्तनलाई गहिरो रूपमा आत्मसात् गरेको छ त्यहाँ निषेध इतिहासको रूपमा मात्र छन्, परिवर्तनको रूपमा होइन । परिवर्तनको रूपमा युगको वस्तुगत आवश्यकता छ ।

कृषि, पशुपक्षी लगायत क्षेत्रमा विज्ञानको फ्युजन गरेर मानिसले आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भने मानवीय समाजको विरासतलाई हल गर्न विज्ञानको आधारशिलाको रूपमा रहेको अन्तरजातीय विवाहलाई विकृतिको रूपमा किन लिने ? मानवीय फ्युजन किन नगर्ने ?

यसर्थ मानवीय समाज निर्माण कार्यमा अन्तरजातीय विवाह जस्तो कार्यलाई समाजले पक्षपोषण गर्न जरुरी छ । जसले मात्र समाजको समृद्धिपथलाई सार्थकता दिन सक्छ । समाजवादको सपनालाई पूरा गर्न सक्छन् ।

लेखकको बारेमा
राजेश विद्रोही

राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?