+
+

सुदूरपश्चिमको स्थायी राजधानी घोषित तेघरीमा भौतिक पूर्वाधार निर्माण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १७:००

२४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाउन राजनीतिक दलहरुले माग गरेका छन् ।

राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गर्दै बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादीका जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले बुझाएको ज्ञापनपत्रमा अत्तरिया बसपार्कलाई प्रदेश स्तरीय बसपार्क बनाएर स्तरोन्नति तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ ।

गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६ को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैंकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुसार निर्माण गर्न समेत माग उनीहरुले गरेका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए ।

जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ महिनादेखि थन्काएको दाबी गर्दै उनले जग्गा प्राप्ति हुनेबित्तिकै भौतिक संरचना निर्माणको काम थालिने जनाए । डीपीआर निर्माणको काम भने चाँडै थालिने उनले बताए । अन्य मागका सम्बन्धमा आफू सकारात्मक रहेकाले छलफल गरेर पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

१२ असोज २०७५ मा गोदावरी नगरपालिका २ र ४ को तेघरी वन क्षेत्रमा प्रदेशको राजधानी घोषणा गरिएको थियो । राजधानी घोषणाका लागि गठित समितिको प्रस्ताव प्रदेशसभाबाट तत्कालीन नेकपा नेतृत्वको सरकारले पारित गरेको थियो । तर राजधानी घोषणा भएको तीन वर्षसम्म प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न नसकेको हो ।

प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समिति गठन गरिसकेको छ । तर जग्गा प्राप्ति नभएकै कारण काम अगाडि बढाउन नसकिएको पूर्वाधार विकास समितिले बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?