+
+

‘जनगणना २०७८’ साविकभन्दा किन फरक छ ? 

अच्युत पुरी अच्युत पुरी
२०७८ भदौ २४ गते १८:५८

२४ भदौ, काठमाडौं । सरकारले आगामी कात्तिक २५ गतदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना–२०७८ शुरु गर्दैछ । जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते भर्ना भएका सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म घरघरमा पुगेर सूचीकरण गर्ने कार्यतालिका बनाएको छ । छनोट भएका गणकलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने र मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । ७० लाख घर परिवार र ३ करोड जनसंख्याको गणना १५ दिनको अवधिमा सकिने उनको भनाइ छ ।

यसअघि विभागले असार ८ गतेदेखि जनगणना शुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो । हरेक १०/१० वर्षमा हुने जनगणना नेपालमा १९६८ सालमा शुरु भएको हो ।

जनगणनाको कुल तयारी र सम्पन्न हुने अवधिको चक्र करिब ४ वर्षको हुन्छ । महानिर्देशक श्रेष्ठका अनुसार यस अभियानका दौरान कुल लागत ४ अर्ब रुपैयाँ हुन आउँछ । यसमध्ये सबैभन्दा ठूलो खर्च जनगणनाको मूख्य कामकै दौरान हुन्छ । यस क्रममा २ अर्ब ८० करोड रुपैयाँ बजेट खर्च हुन्छ । जनगणनाका लागि देशभर ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटिने छ । उनीहरुको पारिश्रमिक समेत यसैमा समेटिएको छ । श्रेष्ठका अनुसार गणकको सुविधा नेपाल सरकारको खरीदार सरह र सुपरिवेक्षकको सुविधा नेपाल सरकारको नासु सरह हुने गर्छ । नेपालमा १२ औं जनगणना हुन लागेको हो ।

जनगणनाका तथ्यांक सामान्यतया तुलनायोग्य हुन्छन् । सोहीकारण प्रश्नावलीमा त्यति ठूलो फरक हुँदैन । तर, यो पटक मुलुक नै नयाँ परिस्थितिमा रहेका बेला पहिलो पटक हुन लागेको जनगणना साविकको तुलनामा भने केही न केही फरक हुने महानिर्देशक श्रेष्ठ बताउँछन् । साविक भन्दा जनगणना २०७८ मा नयाँ के छ ?

१. गणकमा युवा पुस्ता, शिक्षक सुपरीवेक्षणमा

यस पटक गणकको रुपमा खटिने जनशक्ति अधिकांश युवापुस्ताका व्यक्ति रहने छन् । विगतमा गणकका लागि शिक्षक खटाउने गरिएको थियो । केन्द्रिय तथ्यांक विभागका अनुसार युवालाई छोटो अवधिको भएपनि रोजगारी सिर्जना तथा सीप विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यसो गरिएको हो । शिक्षकहरु भने सुपरीवेक्षकको भूमिकामा बढी खटिने छन् ।

२. संघीयतापछिको पहिलो जनगणना

नेपाल संघीय राज्यमा परिणत भएपछि पहिलो पटक जनगणना हुन लागेको हो । स्थानीय र प्रदेश अस्तित्वमा आइसकेपछि अहिले पछिल्लो तथ्यांकको ठूलो माग रहेको तथ्यांक अधिकृतहरु बताउँछन् । यो आवश्यकता अब जनगणना २०७८ बाट पूरा गरिने छ ।

३. घर कुन प्रयोजनमा बनाइएको हो खोजिने

महानिर्देशक श्रेष्ठका अनुसार यस पटक पहिलो चोटी कुनै पनि घर कुन प्रयोजनका लाग बनेको हो भनेर सोधिने छ । विगतमा मात्र घरको संख्या गनिन्थ्यो । अब सिनेमा हल हो कि, व्यापारिक कम्प्लेक्स, उद्योग, कलकारखाना हो कि, मात्र बासस्थानका लागि हो भन्ने जस्तो प्रश्नको उत्तर खोजिने भएको छ ।

४. भूकम्पपछिको पुनर्निर्माण भएका घरको गणना

यो पटक जनगणनामा भूकम्पपछिको पुनर्निर्माणको यथार्थ विवरण समेत आउने छ । खासगरी सरकारी अनुदानमा निर्माण भएका घरको विवरण यस दौरान संकलन गरिने विभागको भनाइ छ ।

५. बैंक खाता र ऋण लिए-नलिएको उत्तर खोजिने

यो पटक जनगणनामा मानिसहरुले बैंक खाता खोलेको वा नखोलेको बारे प्रश्न राखिने भएको छ । परिवारका सदस्यले बैंकबाट ऋण लिए नलिएको बारे समेत पहिलो पटक प्रश्न राखेर उत्तर खोजिने तयारी छ । यसले नेपालमा वित्तीय पहुँच र त्यसको उपयोग कसरी भइरहेको छ भन्ने बारे जानकारी प्राप्त हुने भएको छ ।

६. प्राविधिक शिक्षा लिए–नलिएको विवरण टिप्ने

यस पटक जनगणनामा कुन घरमा कुन विषयमा दक्षता वा शिक्षा लिएको प्राविधिक जनशक्ति रहेछन् भनेर खोज्ने लक्ष्य लिइएको छ । सो क्रममा घरको कुन सदस्यले कुन विषयमा कस्तो ज्ञान लिएको छ भन्नेबारे प्रश्न राखिने भएको हो । यसबाट नेपालमा प्रावधिक जनशक्तिको उपलब्धता र उनीहरुको संलग्नताबारे जानकारी प्राप्त हुने छ ।

७. जन्मदर्ता भए–नभएको विवरण टिप्ने

यस पटक पहिलो चोटी जनगणनामा जन्मदता कति परिवारले कति जना बच्चाको गरेका छन् भन्ने बारे विवरण संकलन गरिने भएको छ । यसअघिको जनगणनामा यस्तो प्रचलन थिएन । महानिर्देशक श्रेष्ठका अनुसार विभागले एक पटक जन्मदर्ताबारे सर्भे गरेको थियो । तर, जनगणनामा पहिलो पटक समावेश गरिएको हो ।

८. पुर्खाको भाषा सोधिने

नेपालमा बढ्दो अन्तर्राष्ट्रिय भाषाको प्रभावका कारण मौलिक भाषा लोप हुने खतरा छ । तर, यो जोगाउनु पर्छ भन्ने उद्देश्यले पहिलो पटक पुर्खाको भाषा के हो भनेर जनगणनामा सोधिने भएको छ । नेपालका आदिवासी–जनजाति समुदायका मौलिक भाषा लोप हुँदै जाने खतरा रहेको भन्दै त्यसको संरक्षणका काम गर्न सजिलो होस भनी अब पुर्खाको भाषा के हो भनेर सोधिने भएको हो । अब भाषामा तपाईंको भाषा के हो, दोस्रो भाषा के हो र पुर्खाको भाषा के हो भनेर सोधिने भएको छ । यसबाट मौलिक भाषालाई कुन भाषाले विस्थापित गरिरहेको छ भन्ने अवस्था देखिने छ ।

९. पहिलो पटक सामुदायिक प्रश्नावली भरिँदै

जनगणना यसअघि व्यक्ति केन्द्रित रहने गरेको थियो, जुन परिवारमा पुगेर भरिन्थ्यो । यस पटक पहिलो चोटी सामुदायिक प्रश्नावली बनाइएको छ । यी प्रश्नावली लिएर हरेक स्थानीय तहको वडा तहसम्म पुगेर त्यहाँको आर्थिक, सामाजिक, धार्मिक, पूर्वाधारको विषय संकलन हुने छ । सो क्षेत्रमा रहेको जोखिम (बाढी–पहिरो)को पनि अवस्था बारे संकलन गरिने भएको छ । साथै घर परिवारको जाति, धर्म, लिङ्गबारे वडाबाट समेत तथ्यांक संकलन गरिने भएको छ । यसबाट परिवारले दिएको विवरण र वडाले दिएको विवरणलाई तुलनागरी अझ विश्वसनीय तथ्यांक बनाउन सकिने विश्वास विभागको छ ।

१०. दीगो विकास लक्ष्यको उपलब्धी खोजिने

सरकारले अहिले कार्यानवयन गरिरहेको दीगो विकास लक्ष्यको उपलब्धी स्थानीय स्तरमा कति भइरहेको छ भन्नेबारे समेत जनगणनाका दौरान समुदायस्तरबाटै खोजि गरिने भएको छ ।

११. ८० प्रश्न सबै परिवारलाई सोधिने

विगतको जनगणनामा विभागले नमुना छनोट विधिबाट समेत जनगणनामा केही तथ्यांक संकलन गर्ने गर्थ्यो । सोहीकारण दुईटा प्रश्नावली बनाइन्थ्यो । एउटा प्रश्नावली सबै परिवारमा सोधिन्थ्यो भने अर्को प्रश्नावली भने छनोट भएका नमुना परिवारमा मात्र सोध्ने गरिन्छ । सोही आधारमा देशभरको तथ्यांक निकाल्ने गरिएको थियो । यो पटक नमुना विधि खारेज गरि सबै परिवारमा सबै प्रश्न सोध्ने गरि कुल ८० वटा प्रश्न तयार पारिएको छ ।

१२. पहिलो पटक ट्यावलेटको प्रयोग

जनगणनामा पहिलो पटक ट्यावलेटको प्रयोग गर्न लागिएको छ । यो काठमाडौं जिल्लामा मात्र प्रयोगमा ल्याइने छ । मूल्यका हिसावले यो महंगो पर्न जान्छ । महानिर्देशक श्रेष्ठका अनुसार काठमाडौं जिल्लाका लागि मात्र २ हजार–२५ सय ट्यावलेट आवश्यक पर्छ । देशभर गर्ने हो भने ५० हजार भन्दा बढी चाहिने देखिएको छ । जसका लागि स्रोत नभएपछि म्यानुअल रुपमै जनगणना हुनेछ । छोटो अवधिमा सबै स्थानमा जनगणना गर्ने हुँदा ट्यावलेट हराउने, बिग्रने, चोरी हुने अवस्थामा तत्काल अर्को विकल्प दिन नसकिने भएकाले यस पटक काठमाडौंमा मात्र ट्यावलेटको प्रयोग गर्न लागिएको उनले जानकारी दिए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?