+
+
एमसीसी उपाध्यक्षको नेपाल दौडाह :

फातिमालाई प्रचण्ड-माधवको सन्देश : एमसीसी न अनुमोदन न अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते २२:०९

२५ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता सकेकी छन् ।

बिहीबार काठमाडौं ओर्लिएकी उपाध्यक्ष सुमारले पहिलो दिन नेकपा -एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरिन् । शुक्रबार विहान नेकमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी उनले दिउँसो उर्जामन्त्री पम्फा भुसाल र अपरान्ह प्रधानमन्त्री देउवासँग छुट्टा-छुट्टै भेट गरिन् ।

नेताहरुका अनुसार उनले भेटवार्ताका क्रममा एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तरगत होइन भनेर स्पष्टीकरण दिएकी छन् । साथै अब संसदले सम्झौता अनुमोदन गर्ने वा अस्वीकार गर्ने एउटा निर्णय दिनुपर्ने उनले बताएकी छन् ।

माधव नेपाल र प्रचण्डको सन्देश

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने पक्षमा छ । प्रतिपक्षमा बस्दा पनि सम्झौता अनुमोदनको पक्षमा खुलेको कांग्रेसले सरकारको नेतृत्व गर्दा पनि त्यसलाई लुकाएको छैन ।

शुक्रबार सरकारी निवास, बालुवाटारमा एमसीसी उपाध्यक्ष सुमोरसँग भएको भेटमा पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले एमसीसी सम्झौता अगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताए ।

तर सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपाध्यक्ष सुमोरलाई प्रष्ट भनेका छन्, एमसीसी तत्काल अघि बढ्दैन ।

बिहीबार सिंहदरबारमा भएको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढन नसक्ने बताए । भेटमा सहभागी नेता गंगलाल तुलाधरले अध्यक्ष नेपाललाई उद्धृत गर्दै भने, ‘हामी कमसेकम पाँच पार्टीबीच सहमति बनाएर मात्र (अनुमोदन) गर्ने कि नगर्ने निर्णयमा पुग्छौं ।’

शुक्रबार विहान भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि त्यही आशय व्यक्त गरे । खुमलटारमा भएको भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी सैन्य गठबन्धन अन्तरगत होइन भन्दै डकुमेन्टहरु दिएकी थिइन् । यो नेपालको हितमा छ भन्ने आफूहरुलाई लागेको भन्दै उनले यसलाई स्वीकार या अस्वीकार गर्ने नेपालको संसदले निर्णय गर्नुपर्ने बताइन् ।

जवाफमा प्रचण्डले सम्झौता अनुमोदन वा अस्वीकार तत्काल नहुने संकेत गरे । सत्ता गठबन्धन भर्खर बनेको र यसलाई जोगाएर लैजान चाहेको भन्दै उनले भनेका छन्, ‘प्रतिपक्षले संसद अवरोध गरिरहेको पनि सबैलाई थाहै छ । ‘गठबन्धमा पनि सहमति जुटाउनुपर्छ । राष्ट्रिय सहमतिका लागि पनि प्रयास गर्नुपर्छ ।’

अर्थ मन्त्रालयले सोधेको प्रश्नहरुको जवाफमा संशोधन सम्भव छैन भनेकोमा उनले असन्तुष्टि जनाए ।

कांग्रेस बाहेकका सत्तारुढ दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतले बिहीबार विहान एमसीसीबारे छलफल गरेका थिए ।

त्यहाँ एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने प्रधानमन्त्री देउवाको जोडबल, प्रमुख प्रतिपक्षी एमालेले खेल्नसक्ने भूमिका लगायतका विषयमा लामो समीक्षा भएको थियो । छलफलमा सहभागी एक भन्छन्, ‘यथास्थितिमा एमसीसी अनुमोदन गर्न सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो । त्यहीअनुसार कुरा गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?