+
+

पीएनजीमाथि नेपालको शानदार जित, सन्दीपको ६ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते २२:१९

काठमाडौं । स्पीनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले दोस्रो ओडीआईमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा अलआउट भयो ।

पीएनजीलाई कम स्कोरमा अलआउट गर्न सन्दीपले ५.१ ओभर बलिङ गर्दै ११ रन मात्र खर्चेर ६ विकेट लिए । उनले ओडीआईमा दोस्रो पटक ६ विकेट लिएका हुन् । यसअघि २०२० मा लिग २ मा अमेरिका विरुद्ध १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १-१ विकेट लिए ।

पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाए । यस्तै चार्ल्स अमिनीले १६, नोर्मन भानुअले १२, सेसे बाउले ११ र गौडी टोकाले १० रन बनाए ।

ओमानको अल अमरेत मैदानमा पहिलो पटक डे नाइट ओडीआई खेलेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३ बल अगावै सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ र करण केसीले लोअर अर्डरमा आक्रमक ब्याटिङ गरेपछि नेपालले दोस्रो ओडिआईमा राम्रो स्कोर बनाएको थियो ।

नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गरेका रोहितले सर्वाधिक ८६ रन बनाए । अघिल्लो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराउँदै पनि रोहितले सर्वाधिक ४१ रन बनाएका थिए ।

यस्तै करणले ४२ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । यस्तै विनोद भण्डारीले १७ र सोमपाल कामीले ११ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी चलेन । दुवै खेलाडी तीन ओभरभित्रै समान ३ रन बनाएर आउट भए ।

९ रनमा दुवै ओपनरलाई गुमाएपछि कप्तान ज्ञानेन्द्र मल्ल र रोहितले नेपालको इनिङ्स सम्हालेका थिए । दुबैफे तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । ओडीआईमा नेपालका लागि यो सर्वाधिक साझेदारी गरे । यसअघि २०२० मा कीर्तिपुरमा भएको अमेरिका विरुद्धको लिग २ को खेलमा विनोद भण्डारी र कुशल मल्लले छैटौं विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

२५औं ओभरमा ज्ञानेन्द्र र रोहितको साझेदारी टुट्यो । ७० बल खेलेका ज्ञानेन्द्र ३ चौका र २ छक्कासहित ४५ रन जोडेर पभेलियन फर्किए । त्यसपछि रोहितले एक छेउबाट इनिङ्स सम्हाले पनि अर्को छेउबाट विकेट झर्ने क्रम रोकिएन । विकेटकिपर विनोद भण्डारी १७, कुशल मल्ल १ र सोमपाल कामी ११ रन बनाएर आउट भए ।

सोमपाल आउट हुँदा नेपालको स्कोर १६६/६ थियो । तर आठौं नम्बरमा ब्याटिङ गरेका करण केसीले आ्क्रमक ब्याटिङ गर्दा नेपालले दुई सय रनको आँकडा पुरा गर्‍यो । सातौं विकेटका लागि रोहित र करणले ६६ रनको साझेदारी गरे । दुई खेलाडी रहँदासम्म नेपालले २५० रनको स्कोर बनाउने अपेक्षा गरिएको थियो । तर करण र रोहित ४९औं ओभरमा लगातार आउट हुँदा नेपालको रनको गति रोकियो । पीएनजीका चाड सोपरले दुवैलाई लगातार आउट गरे । करणले २६ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ४२ रन जोडे । रोहितले १२३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ८६ रन बनाए ।

त्यसपछि ५०औं ओभरको पहिलो बलमा विक्रम सोब १ रन बनाएर आउट भए भने तेस्रो बलमा सन्दीप लामिछाने खाता नखोली रनआउट भए । पीएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिए भने काबुअ मोरेअ र नर्मन भानुअले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?