
२७ भदौ, काठमाडौं । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणको अनुसन्धान गर्ने सरकारी एजेन्सी एफबीआईले यो आक्रमणबारे एक दस्तावेज सार्वजनिक गरेको छ । उक्त दस्तावेजमा साउदी अरेबियाको सरकार र आक्रमणकारीबीचको सम्बन्धबारे गरिएको अनुसन्धान पनि सामेल छ ।
सेप्टेम्बर ११ को आक्रमणमा मारिएका मानिसका आफन्तले अमेरिकी राष्ट्रपति जो बाइडनसँग यो दस्तावेज सार्वजनिक गर्न माग गरेका थिए । उनीहरुले यो दस्तावेज सार्वजनिक नगरिए ९–११ आक्रमणको २० औं वर्षमा हुने कार्यक्रममा भाग नलिने चेतावनी दिएका थिए । त्यसपछि बाइडनले यो दस्तावेज सार्वजनिक गरेका थिए । समाचार एजेन्सी रोयटर्सकाअनुसार एफबीआईले सार्वजनिक गरेको १६ पानाको दस्तावेज आंशिकरुपमा संशोधन गरिएको थियो ।
एफबीआईका अनुसार विमान अपहरण गर्ने मानिस कतार र साउदी अरेबियासँग जोडिएका थिए तर साउदी सरकारको संलग्नता भएको कुनै प्रमाण भेटिएको छैन । ९–११ आक्रमणमा करिब तीन हजार मानिस मारिएका थिए ।
साउदी अरेबियाले यो घटनामा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएको छ । यो दस्तावेज सार्वजनिक भएपछि वासिङटनस्थित साउदी अरेबियाको दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।
यद्यपि ८ सेप्टेम्बरमा सार्वजनिक गरिएको विज्ञप्तिमा भने दूतावासले आफ्नो मुलुक ९–११ आक्रमणसँग जोडिएका घटनाको पारदर्शीताको पक्षमा सधैं रहँदै आएको उल्लेख छ । साउदी अरेबियाले ९-११ आक्रमणसँग जोडिएको गोप्य दस्तावेज सार्वजनिक गर्ने निर्णयको स्वागत पनि गरेको छ ।
९-११ आक्रमणको लागि विमान अपहरण गर्ने १९ जनामध्ये १५ साउदी अरेबियाका नागरिक थिए । यद्यपि अमेरिकी सरकारको अनुसन्धानमा साउदी अरेबियाले अलकायदालाई यो आक्रमणको लागि प्रत्यक्षरुपमा वित्तीय सहयोग गरेको कुनै प्रमाण भेटिएको थिएन ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4