+
+

नेपाल सुरक्षित रहेको ‘ट्राभल एडभाइजरी’ जारी गर्न पर्यटन व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १५:५१

२८ भदौ, काठमाडौं । पर्यटन व्यवसायीहरुले नेपाल सुरक्षित रहेको सम्बन्धमा सरकारले औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने माग राखेका छन् । अधिकांश पर्यटन व्यवसायी, कर्मचारी र मुख्य गन्तव्यका स्थानीयले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेकाले यसबारे सकारात्मक सन्देश फैलाउन ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने उनीहरुको माग छ ।

पर्यटन उद्योगका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको भेलाले आइतबार यस्तो माग गर्ने निर्णय गरेको हो । भेलाले पूर्ण खोप लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटकलाई विना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण गर्न समेत माग गरेका छन् । साथै अन अराइभल भिसा खुला गर्न समेत व्यवसायीले सरकारसँग माग गरेका छन् ।

व्यवसायीहरुका अनुसार कोरोना महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले ठूलो मार पर्यटन उद्योगमा परेको छ । होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ्, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने अर्बौंको आय गुमेको समेत व्यवसायीको भनाइ छ ।

सन् २०१९को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करीब १० लाख जनशक्तिको रोजगार संकटमा छ । ४ खर्ब भन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा रहेको समेत व्यवसायीको भनाइ छ । करीब २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसाय फेरि कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भएको समेत व्यवसायीको तथ्यांक छ । छिट्टै पुनरुत्थानका उपाय नखोजे यो दर झनै बढ्ने उनीहरुको भनाइ छ ।

सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भइरहेको सन्दर्भमा अब आवागमन सहज बनाउन व्यवसायीले माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?