+
+
कांग्रेसमा बढ्दो ध्रुवीकरण :

देउवामाथि पौडेल समूहको आरोप : पार्टी अधिवेशनमा सत्ताको दुरुपयोग भयो

महाधिवेशन निश्पक्ष हुन्छ भन्ने सन्देश डडेल्धुराबाटै दिनुस् : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते २१:१७

२८ भदौ, काठमाडौं । १४औं महाधिवेशन प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेसमा धु्रविकरण बढेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टी अधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । र, महाधिवेशन निष्पक्ष ढंगमा हुनेमा आशंका गरेको छ ।

पछिल्लो पटक डडेल्धुराको वडा अधिवेशनलाई पौडेल समूहले तीव्र असन्तुष्टि जनाएको छ । पौडेलसहितका नेताहरुले तोकिएको वडा अधिवेशनको अघिल्लो दिन सभापति एवं प्रधानमन्त्री देउवालाई भेटेरै डडेल्धुराको विषयमा ध्यानाकर्षण गराएका थिए । सभापति देउवाले आफ्नो गृहजिल्लाको वडा अधिवेशन केही दिन सारेर पनि मिलाउने बताएका थिए ।

तर २५ भदौमा प्रहरी प्रशासनको बलमा एकपक्षीय रुपमा वडा अधिवेशन भएको छ । पौडेल समूहले भने डडेलधुरा लगायतका जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्ड विपरीत फर्जी नाम समावेश गरेको, प्रक्रियासम्मत रुपमा तलबाट आएका नामहरुमा थपघट गरेको बताएको छ । साथै क्रियाशील सदस्यता विवाद समाधान नगरी प्रहरी प्रशासनको आडमा अधिवेशन गर्नु चरम अराजकता र मनपरितन्त्र भएको उसले बताएको छ ।

सोमबार आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठकपछि पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेका वरिष्ठ नेता पौडेलले भने, ‘डडेल्धुरामा अहिले भएको भनिएको अधिवेशन स्वीकार्य छैन । सबैको सहमति र सहभागितामा अधिवेशन गर्नुपर्छ ।’

डडेलधुराको घटना अधिवेशन नभएका २० जिल्लामा पनि दोहोरिनसक्ने भन्दै उनले भने, ‘महाधिवेशनकै सुरुमा कुलक्षण देखियो । पहिलो गाँसमै झिँगा भनेझैं भयो । महाधिवेशन निष्पक्ष हुन्छ भन्ने सन्देश उहाँले डडेल्धुराबाटै दिनुपर्छ ।’

१८ भदौदेखि सुरु भएको वडा अधिवेशन अहिलेसम्म डडेल्धुरासहित ५७ जिल्लामा सम्पन्न भइसकेको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता अझै सार्वजनिक भएको छैन । यसबारे सहमति खोज्न नेताहरु छलफलमा पनि छन् ।

त्यही बेला पौडेलसहित शीर्ष नेताहरुले अधिवेशनमा राज्यशक्ति दुरुपयोग गरेको आरोपित गर्दा संस्थापन समूह रुष्ट छ । एउटा जिल्लाको विषयलाई लिएर पार्टीभित्र महाधिवेशनको माहौल विगार्ने काम पौडेल समूहले गरेको दावी संस्थापन समूहको छ ।

‘उहाँहरु (पौडेल पक्ष) ले हुँदै नभएको विवाद निकालेर पार्टीभित्र अविश्वासको वातावरण बनाउने काम गरिरहनुभएको छ । यो आपत्तिजनक छ,’ नेता वीरबहादुर बलायरले भने, ‘महाविधेशनको माहौल बिगार्ने अनि सभापतिले महाधिवेशन गराउन चाहेन भनेर अपवाह फैलाउन यो सबै काम भइरहेको त छैन ?’

कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेका श्याम घिमिरे भने महाधिवेशनको मुखमा पार्टीभित्रको ध्रवीकरणले अनावश्यक विवाद ल्याउने बताउँछन् ।

पार्टीभित्र बढ्दो अविश्वास हटाउने र कार्यतालिका अनुसार सहज वातावरणमा महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व सबैको भएको भन्दै उनले भने, ‘५७ जिल्लामध्ये ५६ जिल्लामा त सौहार्दरुपमै अधिवेशन भएको छ । अनि एक ठाउँको विषयलाई लिएर महाधिवेशन निष्पक्ष हुँदैन भनेर आशंका गर्नु राम्रो भएन ।’

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?