+
+

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ‘आर्थिक संकट’, निर्माणको काम रोकियो

महायज्ञमा बोलेकाहरुले पनि रकम दिएनन्, रकम नदिनेमा स्वास्थ्य राज्यमन्त्री पनि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते ११:५७

२९ भदौ, चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ ।

निर्माण पक्ष धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो । उधारो आर्थिक व्ययभार बढ्दै गएको तथा केन्द्रीय सरकारबाट आर्थिक सहयोग नभएकाले निर्माणको काम रोकिएको उनले बताए ।

‘भीआईपी प्याराफिट बनाउने काम गरिरहेका थियौं, चल्नै नसक्ने अवस्था आयो, अहिले काम रोकिएको छ, फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्यौं, जनस्तरबाट रकम उठ्ने सम्भावना पनि छैन, सरकारले दिँदैन, कहाँबाट कामलाई जारी राख्ने ?’

रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको छ । अध्यक्ष कट्टेलकाअनुसार तीन हजार दर्शकले हेर्न मिल्ने पहिलो चरणको प्याराफिटको काम सकिएको छ ।

मैदानमा पिच बाहेकको काम सकिएको उनको भनाइ छ । ‘कोभिडको महामारीका बीच गत वर्षको साउनदेखि कामलाई गति दिएका थियौं, मुख्य रुपमा आर्थिक समस्या नै भएपछि काम अघि बढाउने परिस्थिति भएन’ कट्टेलले भने, ‘सरकारसँग हारगुहार गर्न लागिरहेको छु ।’ आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना बनाएर पठाउन आफू लागिरहेको कट्टेलले बताए ।

रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भैसकेको छ । १६ करोड २ लाख रकम तिर्न बाँकी छ । ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँमात्रै भुक्तानी गरिएको रंगशाला निर्माण परियोजनाको आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले बताए ।

महायज्ञमा घोषणा भयो ६९ करोड, उठ्यो २० करोड

रंगशालालाई आर्थिक सहयोग जुटाउन भनेर २०७६ माघमा गरिएको महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम उठेको घोषणा तत्कालीन समितिले गरेको थियो । तर कबोल गर्नेहरुले अहिलेसम्म जम्मा २० करोड २५ लाख रुपैयाँ दिएका छन् । अरु रकम उठाउने विषयमा निरन्तर फलो गरे पनि उनीहरुले रकम नदिँदा रंगशालामा आर्थिक संकट परेको हो ।

बागमती प्रदेश सरकारले ३ करोड रकम दिने भने पनि दिएको छैन ।

बोलेर पनि रकम नदिनेमा अहिलेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसमेत छन् । उनले ११ लाख ५१ हजार रुपैयाँ बोलेर अहिलेसम्म रकम दिएका छैनन् ।

एलपी ग्यास उद्योगले १ करोड, पुरानो मेडिकल कलेजले २० लाख, चितवन मेडिकल कलेजले ६० लाख, माडी नगरपालिकाले ३० लाख र पोल्ट्री व्यवसायी महासंघले ५९ लाख ५० हजार रकम दिन बाँकी छ ।

जिल्ला समन्वय समितिले २ करोड २२ लाख २२ हजार दिने भनेकामा ५० लाख ९२ हजार ८ सय रुपैयाँ मात्रै दिएको छ भने बाँकी रकम दिन बाँकी छ । प्रदेश सरकारले ३० करोड दिने भनेकोमा ३ करोड मात्रै दिएको छ ।

भरतपुर महानगरपालिकले १६ करोड ७५ लाख बोलेकोमा जम्मा ८ करोड मात्रै र रत्ननगर नगरपालिकाले १७ लाख दिने भनेकोमा ९ लाख ८५ हजार रुपैयाँ मात्रै दिएका छन् । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष थप २ करोड दिने जनाएको छ ।

यस्तै, समाजका प्रतिष्ठित व्यापारी, ठेकदार, समाजसेवी र उद्योगीहरुलेसमेत रकम दिएका छैनन् ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले महायज्ञमा बोलेको रकममात्रै केही दिएपनि तत्कालका लागि संकट समाधान भएर थप २० करोडभन्दा बढीको काम गर्न सक्ने बताउँछन् । अन्यथा रंगशाला बनाउन कठिन हुने उनले बताए । ‘उधारो रकम तिर्न मात्रै सके पनि थप काम अघि बढाउन सहज हुन्थ्यो,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने ।

उनले भने, ‘रंगशालालाई रकम जुटाउन सकिन्छ कि भनेर चलचित्र बनाउने, देश दौडाहा गर्ने, म्युजिक भिडियोहरु तयार गर्ने जस्ता अनेक काम गरिरहेको छु । अहिलेको परिस्थितिमा सरकारले नै सहयोग नगरे रंगशाला बनाउन कठिन हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?