
३० भदौ, काठमाडौं । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । योन्हाप न्युजका अनुसार दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेका हुन् । दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले यसअघि नै अज्ञात रकेट प्रक्षेपण गरेको बताएका छन् ।
जापानको समुद्री सुरक्षा बलले पनि अहिले प्रक्षेपण गरिएको मिसाइल ब्यालेस्टिक हुन सक्ने बताएको छ । ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्नु राष्ट्रसंघले उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्न बनाएको प्रावधानको उल्लंघन हो ।
यद्यपि यस विषयमा जापान र दक्षिण कोरियाले विस्तृत जानकारी भने दिएका छैनन् । केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।
उक्त मिसाइलको क्षमता जापानसम्म आक्रमण गर्न सक्ने किसिमको रहेको बताइएको छ । जानकारहरुका अनुसार क्रुज मिसाइलको माध्यमबाट परमाणु हतियारले पनि आक्रमण गर्न सकिन्छ ।
राष्ट्रसंघले क्रुज मिसाइलको प्रक्षेपणमा कुनै रोक लगाएको छैन । यद्यपि ब्यालेस्टिक मिसाइललाई धेरै खतरानक मान्ने गरिएको छ । यसले निकै ठूला र शक्तिशाली हतियार निकै टाढासम्म पुर्याउन सक्ने किसिमको हुन्छ । ब्यालेस्टिक मिसाइलले धेरै छिटो निशानामा प्रहार गर्न सक्छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4