
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । योसँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छ ।
निर्वाचन समिति सदस्य तेज रावलका अनुसार अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेतको क्रियाशील सदस्यता चाँडै सार्वजनिक हुने रावलले बताए ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको हो । डडेल्धुरा जिल्लासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
बाँकी जिल्लाको वडा अधिवेशनका लागि ५ असोजको समयतालिका परिमार्जन गरिएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।
प्रतिक्रिया 4