+
+

डडेल्धुराको वडा अधिवेशनबारे पौडेल समूहभित्रै फरक मत

पौडेल भन्छन् : फेरि हुनुपर्छ, शशांक : सम्भावना देख्दिँन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १९:०३

३१ भदौ, काठमाडौं । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धरामा भएको नेपाली कांग्रेसको वडा अधिवेशनको विरोध गर्दै आएको पौडेल समूहभित्र पुनः अधिवेशनबारे मतभेद देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले राज्यशक्तिको दुरुपयोग गरेर एउटा पक्षलाई बाहिर राखेर अधिवेशन गरेको पौडेल पक्षको आरोप छ । उक्त वडा अधिवेशन स्वीकार्य नहुने बताएको पौडेल समूहमा फेरि वडा अधिवेशन गर्ने वा नगर्ने विषयमा मतान्तर देखिएको हो ।

बिहीबार पौडेलसहितका नेताहरु डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराउन पार्टी कार्यालय सानेपा पुगेका थिए ।

‘हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा अधिवेशन भएको छ, यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण गराएका हौं, तर त्यहाँ फेरि अधिवेशन हुने सम्भावना म देख्दिन’ महामन्त्री शशांक कोइरालाले भने ।

निर्वाचन समितिका पदाधिकारी र सदस्यसँग झण्डै दुई घण्टा लामो छलफलमा पौडेलपक्षका नेताहरुले डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग राखे । उनीहरुले जिल्ला सभापति र जिल्ला कार्यसमितिका बहुमत सदस्यको सहभागिताबिना भएको अधिवेशनलाई मान्यता दिन नहुनेमा जोड दिएका थिए ।

‘डडेल्धुरामा धाँधलीपूर्णरुपमा राज्यको शक्ति दुरुपयोग गरिएको छ,’ नेता पौडेलले भने, ‘एउटा पक्षलाई बाहिर राखेर गरिएको अधिवेशन हामीलाई मान्य छैन । त्यहाँ फेरि अधिवेशन हुनुपर्छ ।’

पौडेलसहितका नेताहरुले ५ असोजका लागि तोकिएको वडा अधिवेशनको मितिकै दिन डडेल्धुरामा पनि अधिवेशन गर्नुपर्ने माग गरेका थिए । छलफलमा नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. शेखर कोइराला, गगनकुमार थापालगायत सहभागी थिए ।

छलफलमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले डडेल्धुरामा निर्वाचन अधिकृतको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले निर्वाचन अधिकृतको भूमिका निष्पक्ष नभएको बताए ।

तर कांग्रेस महामन्त्री कोइरालाले भने डडेल्धुरामा फेरि वडा अधिवेशन सम्भव नभएको बताए । निर्वाचन समितिसँगको छलफलपछि सानेपामा पत्रकारलाई प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले डडेल्धुरामा फेरि अधिवेशन हुने सम्भावना नरहेको बताएका हुन् ।

‘हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा अधिवेशन भएको छ, यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण गराएका हौं,’ उनले भने, ‘तर त्यहाँ फेरि अधिवेशन हुने सम्भावना म देख्दिन ।’

उनले आफूहरुले बाँकी जिल्लामा निष्पक्ष र धाँधलीरहित ढंगले अधिवेशन गर्न निर्वाचन समितिको ध्यानाकर्षण गराएको बताए ।

डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्ने पौडल समूहको मागप्रति निर्वाचन समिति सकारात्मक छैन । समिति संयोजक महादेव यादवले डडेल्धुरामा फेरि अधिवेशन गराउँदा बाँकी जिल्लामा पनि अधिवेशन गराउन सहज नहुनेतर्फ नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

‘डडेल्धुरामा अधिवेशनको विषय प्रमुख होइन, त्यहाँ फेरि अधिवेशन गराउनेवित्तिकै अन्य जिल्लामा पनि यस्तो समस्या दोहोरिन सक्छ,’ उनले भने, ‘निर्वाचन समिति निष्पक्ष अधिवेशनको पक्षमा छ । हाम्रोतर्फ कहीँ पनि समस्या छैन ।’ डडेल्धुराको विषय राजनीतिक मुद्धा भएकाले पार्टीबाटै समाधान खोज्न समिति संयोजक यादवले सुझाएका थिए ।

१४ औं महाधिवेशन अन्तर्गत २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असन्तुष्टि जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशन बहिस्कार गरेको थियो । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट थपघट भएको मल्ल पक्षको आरोप छ । जिल्ला सभापति मल्ल नेता पौडेल पक्षका हुन् ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले डडेल्धुराको वडा अधिवेशनबारे जिल्ला सभापति मल्लले दिएको उजुरीबारे अध्ययन भइरहेको बताए ।

क्रियाशील सदस्यता छानविन समितिले डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर नियोजित रुपमा विवाद निकालेको बताउँदै आएको छ । समितिले सर्वसम्मतरुपमा गरेको निर्णयमाथि जिल्ला सभापति मल्लले विवाद निकालेको र त्यसलाई पौडेल पक्षले केन्द्रमा महाधिवेशनको मुद्धा बनाउन खोजेको सदस्यता छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताएका छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । १८ भदौदेखि कांग्रेसको वडा अधिवेशन सुरु भएको हो । अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा अधिवेशन नभएका जिल्लामा ५ असोजमा गर्ने गरी महाधिवेशनको समयतालिका परिमार्जन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?