News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्।
- मल्लले यथास्थितिमा हुने अधिवेशनमा आफू सहभागी नहुने घोषणा गर्दै पार्टी विखण्डनतर्फ जाने देखिएको बताएका छन्।
- उनले कांग्रेसका नेता–कार्यकर्ताहरूलाई पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।
३ असोज, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।
वर्तमान अवस्थामा कांग्रेस विभाजनउन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै उनले पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका हुन् ।
‘पार्टी विभाजन रोक्न उपयुक्त विकल्पको खोजी गर्दै अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आग्रह गर्दै यथास्थितिमा भइरहेको जिल्ला अधिवेशनका प्रकृया अविलम्व स्थगन गरी पार्टी एकताका लागि पहल गर्न आग्रह गर्दछु,’ मल्लले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कर्मकाण्डी किसिमले सम्पन्न गरिने अधिवेशनवाट आउनसक्ने दुष्परिणामको जिम्मा नेपाली कांग्रेसको सिंगो नेतृत्वले लिनुपर्ने छ ।’
उनले २०७८ सालमा पार्टी विधि र प्रक्रियाविपरीत भएको भनिएको अधिवेशनविरुद्ध आफूले गाउँदेखि केन्द्रसम्म संघर्ष गरेको स्मरण गर्दै यथास्थितिमा हुने अधिवेशनमा आफू सहभागी नहुने घोषणा गरेका छन् ।
‘पार्टी सत्ताको चरम दुरुपयोग गरेर यथास्थितिमा सम्पन्न गरिने अधिवेशनबाट पार्टी विखण्डनतर्फ जाने देखिएकाले यस किसिमको अधिवेशनमा आफू सहभागी नहुने अवगत गराउँछु,’ मल्लले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पूर्वप्रदेशसभा सदस्यसमेत रहेका मल्लले कांग्रेसका नेता–कार्यकर्ताहरूहरूलाई पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया 4