
३१ भदौ, काठमाडौं । राजनीतिक अस्थिरता र छिटो छिटो हुने सरकार परिवर्तनका कारण हुने नीतिगत अस्थिरताले नेपालमा लगानीयोग्य वातावरण बन्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले प्रतिस्थापन विधेयक र यस विधेयकले करका दरहरुमा गरेको परिवर्तनतर्फ इंगित गर्दै यस्तो धारणा राखेका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नवनिर्वाचित पदाधिकारीको स्वागतका लागि बिहीबार महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले नेपालमा कुनै पनि सरकारले पूर्णकार्यकाल काम गर्न नपाउनु विडम्बना भएको बताए । अस्थिर सरकार र राजनीतिक परिस्थितिको मारमा निजी क्षेत्र पर्ने भन्दै उनले यसले नयाँ लगानी आकर्षित गर्न नसक्ने समेत बताए । निजी क्षेत्र संसारभर नै नाफामुखी प्रकृतिको हुने भएपनि नेपालमा यसलाई नकारात्मक चित्रण हुने गरेको तर्फ उनले चिन्ता व्यक्त गरे ।
महासंघ ‘फेयर विजनेश’को पक्षमा रहेको भन्दै गल्ती गर्ने उद्योगी–व्यापारीलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्नेमा भने दुईमत नहुने उनले बताए । नेपालमा सामान्य अनुसन्धानकै सिलसिलामा पनि उद्योगी–व्यवसायीलाई अपराधीजस्तै व्यवहार र प्रचार हुने गरेकोमा भने दुख मनाउ रहेको उनको भनाइ छ ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चाडबाडको समयमा बजार अनुगमनका नाममा अनावश्यक दुखः दिने प्रवृत्ति रहेको भन्दै गलत काम गर्नेहरुलाई भने कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरे । अर्का उपाध्यक्ष अन्जन श्रेष्ठले नीतिगत परिवर्तन गर्दा दशकौंदेखि चलिरहेका उद्योग र व्यवसायीलाई के प्रभाव पर्ला भन्नेबारे अध्ययन नगरिनु दुःखद् पक्ष रहेको बताए ।
प्रतिक्रिया 4