+
+

काठमाडौं उपत्यकासहित देशभर खुले सुपथमूल्य पसल, कुन वस्तुमा कति छुट ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते ११:४४

१ असोज, काठमाडौं । सरकारले देशभर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

शुक्रबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीबाट सुपथ मूल्य पसल उद्घाटन गरिएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले थापाथलीको सुपथ मूल्य पसल उद्घाटन गरे ।

शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि मात्रै कोटा तोकिएको छ । एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु चाहेजति खरिद गर्न सकिने छ ।

छठको भोलिपल्ट अर्थात कात्तिक २४ गतेसम्म ५५ दिनसम्म सुपथ मूल्य पसल सञ्चालनमा आउने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलबार दशैं लक्षित सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कुन वस्तुमा कति छुट ?

चाडपर्वमा बजारमा उपभोक्ता मूल्य नियन्त्रण गर्न सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा बजार भन्दा कम्तीमा २ रुपैयाँमा सस्तोमा खाद्य वस्तु उपभोक्ताले खरिद गर्न सक्ने सरकारी दाबी छ ।

सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ ।

घटस्थापनको दिनबाट बिक्री सुरु हुने जिउँदो खसी बोकाको बिक्रीमा भने प्रतिकिलोमा १० रुपैयाँ सहुलियत पाइने सूचना अधिकारी न्यौपानेले बताइन् । दुग्ध विकास संस्थाको उत्पादन पनि छुटमा बिक्री केन्द्रमा हुने भएपनि कुन वस्तुमा कति छुट भन्ने निर्क्यौल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकामा कहाँ–कहाँ छन् सहुलियत पसल

काठमाडौंं उपत्यकामा खाद्य व्यवस्था र साल्टको गरेर घुम्ती सेवासहित १३ वटा पसल सञ्चालनमा आउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत रहनेगरी थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक भक्तपुरमा चार वटा बिक्री केन्द्र हुनेछन् ।

यस्तै साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा २, कोटेश्वर, सतुंगल, जाउलाखेल र भक्तपुरमा गरेर ६ वटा सहुलियत पसल सञ्चालनमा आएका छन् ।

खाद्य कम्पनी अन्तर्गतको ३९ र साल्टको २६ वटा थप सहुलियत पसलहरु भने काठमाडौं उपत्यका बाहिर छन् । खाद्य अन्तर्गतका पसलहरु ३९ र साल्टले २४ जिल्लामा आफ्नो केन्द्रबाट सहुलियतको खाद्यान्न बिक्री गर्ने छन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?