+
+

न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदलयात्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १४:४१

१ असोज, काठमाडौं । बाँकेमा भएका पछिल्ला दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् ।

गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि बेपत्ता रहेकी नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै उनीहरुले पैदलयात्रा शुरु गरेका हुन् ।

मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खान लगायतले १९ दिनदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । निरन्तर धर्ना, दबाबका बाबजुद पनि छानबिनमा प्रहरीले सुस्तता देखाएपछि आफूहरुले पैदलयात्रा अभियान शुरु गरेको राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानले जानकारी दिइन् ।

‘पटक–पटक दबाबपछि प्रहरीले जाहेरी लिने र जाहेरी लिएपछि पनि खोजबिन गर्न ढिलाइ गरिरहेको छ । यी घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ भन्ने माग हो,’ उनले भनिन् ।

नन्कुन्नीले आफ्नो मृत्यु हुनुअघि श्रीमानको परिवारबाट ज्यानको खतरा रहेको उजुरी गरेपछि प्रहरीले मिलाएर पठाएको नन्कुन्नीका भाई माधवप्रसाद धोबीले बताए । त्यसपछि उनको रहस्मय मृत्यु भएको उनले बताए । अहिले नन्कुन्नीका श्रीमानलाई प्रहरीले हिरासतमा लिएको छ ।

निर्मला कुर्मीको अज्ञात अवस्थाबारे प्रहरीले सोधखोज नगरेको खानले बताइन् । गत वर्ष नै जग्गाको विषयमा निर्मलाको अपहरण उनको दाबी छ । गत वर्ष मंसिरमा राष्ट्रिय महिला अधिकार मञ्च बाँकेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले निर्मलाको मृत्यु भइसकेको जानकारी दिएको खान बताउँछिन् । तर उनको मृत्यु भएको भनिए पनि शव नदेखाएकाले यो रहस्यमय छ ।

निर्मलाको करिब ५५ बिघा जमिन हडप्नको लागि उनलाई अपहरण गरी मारिएको हुनसक्ने आंशका रहेको खानको भनाइ छ । ‘प्रहरीले देखाएको नामसारी गरिएको कागजातमा टाँस गरिएको फोटो निर्मलाको युवा अवस्थाको छ । करिब ५४ वर्षको महिलाको जग्गा किन्दा युवा अवस्थाको फोटो टाँस्नुले पनि घटना थप रहस्यमय बनाएको छ ।’

उनको अपहरण हुनुअघि निर्मलाका दुई छोराको पनि रहस्यमय मृत्यु भएको र निर्मलाले हत्या भएको चिनजानका मानिसहरुलाई बताउने गरेको पाइएकाले उनको पनि त्यही समूहले अपहरणपछि हत्या गरेको हुनसक्ने खानको आशंका छ ।

महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार नारासहित शुक्रबारदेखि शुरु भएको पैदल यात्रामा ११ जना महिला र दुई पुरुष सहभागी छन् ।

उनीहरुले बुटवलस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेपछि ३ गतेदेखि ५दिनसम्म धर्ना दिने र काठमाडौं आएपछि प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको खानले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?