+
+

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ असोज २ गते ७:३२

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ ।

समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ ।

नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् ।

२०१४ पछि पहिलो पटक नेपाली टिममा साम्बा छैनन् । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गराएकी उनी अहिले रिह्याबिलिटेसनमा छिन् । नेपाली टिमले साम्बालाई पक्कै मिस गर्नेछ ।

अर्को वर्ष भारतमा हुने एसियन कपकको छनोटमा नेपालले आफूभन्दा वरीयतामा माथि हरेका दुई टिम फिलिपिन्स र हङकङसँग खेल्नेछ । यस समूहमा शीर्ष स्थानमा रहने टिम एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाली टिमको लागि समूहको दुवै खेल महत्वपूर्ण छ ।

त्यसमा पनि पहिलो खेलमै आफूभन्दा बलियो टिमसँग प्रतिस्पर्धा गर्नु चुनौती छ ।

फरक परिस्थिति फरक स्थान र फरक रणनीतिका साथ नेपाली टिमले यस पटक खेल्दैछ । पहिलो पटक टिममा विदेशी प्रशिक्षक ग्यारी फिलिप्स छन् ।

फिफा वरीयतामा नेपालभन्दा फिलिपिन्स ३३ स्थान माथि छ । फिलिपिन्स ६८औं स्थानमा छ भने नपाल १०१औं स्थानमा छ । हङकङ ७६औं स्थानमा छ ।

नेपाली महिला टिमले अहिलेसम्म तीन पटक एसिया कप खेलेको छ । पछिल्लो पटक सन् १९९९ मा नेपालले एसिया कप खेलेको थियो । २२ वर्षपछि एसिया कपको छनोट खेल्न लाग्दा नेपाली टिम उत्साहित छ र छनोट हुने जोश र जाँगरका साथ मैदान उत्रदैँछ ।

नेपाली टिमका कप्तान रेनुका नगरकोटेले एसिया कपको छनोट खेल्न सबै जना उत्साहित रहेको बताएका छिन् । ‘टिममा सबै जना खेल्न उत्साहित छौं । एएफसी कपको छनोट अहिलेको टिमले पहिलो पटक खेल्न लागेको हो । त्यसैले खुशी पनि छौं सबै तयारी पूरा भइसकेको छ ।’ रेनुकाले खेलको अघिल्लो दिन भनिन् ।

उनले नेपालमा दुई महिनाको तयारी दुई मैत्रीपूर्ण खेलले पनि धेरै सहयोग पुगेको र टिमको अवस्थाबारे थाहा पाएको बताइन् । ‘दुई महिना नेपालमा तयारी गर्‍यौं । दुई मैत्रीपूर्ण खेल पनि खेल्यौं । त्यसले पनि सहयोग गरेको छ,’ रेनुकाले भनिन् ।

उनले अघि भनिन्, ‘त्यसबाट हाम्रो कमी कमजोरी के थियो वा बलियो के थियो थाहा पाउन सहयोग भयो । हामी आफैं खेलेको भए थाहा पाउन सकिदेन्थ्यो । दुई खेल खेलेपछि तयारीमा मदद्त पुगेको छ । अब त्यहाँ भएका कमजोरी सुधार गर्ने र कसरी अगाडि बढेर र छनोट हुने भन्नेमै केन्द्रित छौं ।’

रेनुकाले वरीयतामा दुवै टिम नेपालभन्दा माथि रहे पनि छनोट हुने सम्भावना रहेको बताइन । ‘अब चान्सको कुरा गर्दा वरीयतामा हेर्ने हो भने दुवै टिम राम्रो छ । तर हामीले राम्रो टिमलाई पनि हराएको छौं बराबरी खेलेका छौं’ रेनुकाले भनिन्, ‘हाम्रो गेम राम्रोसँग खेल्न सक्यौं भने छनोटको चान्स छ । हामीले यसअघि एपीएफबाट खेल्दा पनि हङकङलाई ३-१ ले हराएको थियौं । मोरल हाई भयो भने र राम्रो खेल्यो भने सम्भावना छ ।’

रेनुकाले धेरै समयसँगै ट्रेनिङ गर्न नपाए पनि नेपालको बलियो पक्ष जोश नै रहेको बताइन् । ‘हाम्रो बलियो पक्ष भनेको सबैले जोशले खेल्छन् । धेरै ट्रेनिङ भएको छैन । हाम्रो अनुभव छ त्यही अनुभवले खेल्ने हो’ रेनुकाले भनिन्, ‘कमजोर पक्ष भनेको स्कोरमा हो । पहिलो खेलमा त्यो सुधार गर्ने योजना छ । कमजोरीलाई पनि बलियो बनाउने कोसिस हुन्छ ।’

प्रशिक्षक ग्यारी फिलिप्स ।

यस्तै पहिलो पटक नेपालको महिला टिमसँग टुर गरेका प्रशिक्षक ग्यारी फिलिप्स पनि उत्साहित छन् । ‘धेरै उत्साहित छौं यो खेल खेल्ने अवसर पाएका छौँ । यो ठूलो अवसर हो टिमको लागि । धेरै मिहिनेत गरेका छौँ  । धेरै नयाँ खेलाडी छन् र उनीहरुले खेलेको हेर्न उत्सुक छु,’ उनले भने ।

फिलिप्सले विभिन्न खालको चुनौती भएपनि राम्रो गर्ने योजनाका साथ अघि बढ्ने बताए ।  ‘सुरुदेखि नै चुनौती थियो । खेलाडीहरुको चोट, कोभिड १९ ले असर गर्‍यो । फुटबलमा चुनौती हुन्छ नै । मानसिक रुपमा पनि चुनौती छ । ट्राभलले पनि थकान भाछ । यो चुनौती पार गर्नुपर्छ’ फिलिप्सले भने, ‘अर्को हामीले ३७ डिग्रीमा खेल्नुपर्छ । धेरै गर्मी हुन्छ । उनीहरुले राम्रो खेल्नेमा विश्वस्त छु । मानसिक चुनौती छ । मानसिक रुपमा तयार हुनुपर्छ ।’

फिलिपिन्सले यसअघि पनि एसियन कप खेलिसकेकोले नेपालले सामूहिक रुपमा खेल्नुपर्ने उनले बताए । ‘यहाँ सबै कुरा फरक छ । फुटबलमा सबैतिर चुनौती छ । खेलललाई कन्ट्रोल गर्ने र टेम्पर कन्ट्रोल गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने ।

उनले खेल जित्न गोल गर्नैपर्ने पनि बताए । उनले भने, ‘हामीले खेल जित्न गोल गर्नैपर्छ । हामीले मिलेर सामूहिक रुपमा खेल्नुपर्छ खेल जित्न । टिमको रुपमा खेल्नुपर्छ । हामीले कम्प्याक्ट भएर विपक्षीलाई ठाउँ दिनु हुन्न । उनीहरु व्यवासियक खेलाडी छन् । राम्रो खेलाडी छन् । हामीले स्पेस दिनुहुन्न ।’

यस्तै टिममा साम्बा नहुँदा उनको क्षमता अनुसार अरुले खेल्नुपर्ने फिलिप्सले बताए । हामी नयाँ तरिकाले खेल्ने प्रयासमा छौं । रेनुका र गीताले राम्रो खेले भने उनीहरुको उनीको नजिक रहेर राम्रो खेल हुन्छ । हामीसँग अनुभवी र युथ प्लेअरको जोश छ ।

यस्तै नेपाली टिमसँगै उज्वेकिस्तान गएका एन्फा महिला फुटबल विभाग प्रमुख तथा महिला टिका पूर्व प्रशिक्षक हरि खड्काले आफूभन्दा बलियो टिमविरुद्ध खेल्दा सबैले मिहिनेत गरेर खेल्नुपर्ने बताएका छन् । ‘प्रशिक्षकले सन्तुलित टिम बनाएर खेलाउन खोज्नुभाछ । मिहिनेतचाहिं हामीले धेरै गर्नुपर्छ,’ उनले भने ।

फोटो : एनएसजेएफ

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?