+
+

बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय घोषित

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असोज २ गते २०:२६

२ असोज, वीरगञ्ज । बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय बनेको छ । बसतपुर गाउँमा सुरक्षित खानेपानीको योजना सञ्चालनमा आउनुको साथै घर घरमा धारा र शौचालय बनाई प्रयोगमा ल्याइएको छ ।

शनिबार प्रदेश नं २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले बसतपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरे ।

प्रदेश २ मा यसअघि सिराहाको धनगढीमाई नगरपालिकाको दुरविनडाँडा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भइसकेको छ ।

युनिसेफका खानेपानी तथा सरसफाइ अधिकृत बोधनारायण श्रेष्ठका अनुसार बसतपुरका १ सय ८५ घरधुरीमा धारा जडान गर्नुका साथै चर्पी बनाएर प्रयोगमा ल्याइएको छ ।

‘बसतपुर खानेपानी आयोजनाको पानी जाँच गर्दा कोलिफर्म इकोली ० प्रतिशत र आर्सनिक ०.०३ मिलिग्राम प्रतिलिटर पाइयो’ उनले भने ‘सुरक्षित खानेपानीयुक्त समुदायका लागि आवश्यक मापदण्ड पूरा गरेकोले नै घोषणा गरेका हौं ।’

८० लाखको खानेपानी योजना उद्घाटन

शनिबार नै खानेपानी तथा उर्जा विकास मन्त्री शर्माले बसतपुर खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम अन्र्तगत कलैया उपमहानगरपालिका– २० बसतपुर धानुक दलित बस्तीमा खानेपानी आयोजना निर्माण गरिएको जनजागरण युवा क्लब बाराले जनाएको छ ।

कोषाध्यक्ष सियाराम यादवका अनुसार भूमिगत लिफ्ट पद्दती मार्फत जमिन मुनिको पानी ४० हजार लिटर क्षमताको ट्याङकीमा भरेर १ सय ८५ घरधुरीलाई वितरण गरिनेछ ।

८० लाख ८४ हजार ९ सय ७४ रुपैयाँ १७ पैसाको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको उनले बताए । जसमा युनिसेफ नेपालले ६१ लाख २० हजार ९ सय १० रुपैयाँ ४० पैसा, कलैया उपमहानगरपालिकाले ११ लाख ७९ हजार ४ सय ३८ रुपैयाँ २६ पैसा र समुदायले ७ लाख ८५ हजार ६ सय २५ रुपैयाँ ५१ पैसाको योगदान गरेका छन् ।

२०१९ जुलाईमा डिजाइन गरिएको आयोजनाको काम १० फेब्रुअरी २०२० मा शुरु भएको थियो भने अक्टुबर २०२१ सम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

कतै अझै समस्या 

बसतपुर खानेपानी योजना सञ्चालनमा आएपछि बसतपुर रामटोेलका दलित समुदाय खुशी छन् । यसअघि दलित समुदायलाई खानेपानीका लागि निकै सास्ती थियो । उर्मिला देवी रामका अनुसार खानेपानी योजना मार्फत धारा जडान भएपछि पानीका लागि दुःख दुर भएको छ ।

‘आफ्नो कल थिएन, अर्काको कलमा जाँदा पानीको भाँडा नै फालिदिन्थे, दुई चारवटा गाली सुन्नुपर्थ्यो’, उनले भनिन् ‘अब घरमै धारा जडान भएको छ, चर्पी बनाएर प्रयोग गर्न थालेका छौं ।’

तर बसतपुरकै तुराहपट्टीमा पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था कायमै छ । श्रीकान्तीदेवी तुराहा पानी भर्दा गाली सुन्नुपर्ने बाध्यता रहेको बताउँछिन् ।

‘गरिब छौं, आफ्नो छुट्टै कल हाल्न सकेका छैनौं’ उनले भनिन् ‘१५ परिवार एउटै कल प्रयोग गर्छौं । ट्याङ्कीको पानी चमरीटोलसम्म मात्रै विस्तार भएको छ, हामीले पानीका लागि अझै दुःख पाउनुपर्ने स्थिति छ ।’

तुराहापट्टीकै रीतादेवी साह कपडा धुनका लागि डेढ खण्टा लगाएर दुधौरा नदीमा जाने गरेको सुनाउँछिन् । ‘ट्याङ्कीको पानी टोलमा आयो भने राम्रो हुन्थ्यो, पैसा तिरेरै भएपनि पिउँथ्यौं । गाली त सुन्न पर्दैनथ्यो’ उनले भनिन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?