Comments Add Comment

विश्व बैंकको ‘डुइङ विजनेश रिपोर्ट’ अब प्रकाशित नहुने

३ असोज, काठमाडौं । विश्व बैंकले हरेक वर्ष प्रकाशित गर्ने ‘डुइङ विजनेश रिपोर्ट’ अब प्रकाशनमा नआउने भएको छ । विश्वका धेरै मुलुकले यो प्रतिवेदनको विरोध गर्दै आएका थिए । शुक्रबार विश्व बैंकले एक विज्ञप्तिमार्फत यस्तो प्रतिवेदन अब ननिकाल्ने निर्णय भएको जानकारी गराएको हो । तथ्यांक उपलब्ध हुने मुलुकलाई समेटेर ती देशको आर्थिक तथा व्यावसायिक सूचकसहितको प्रतिवेदन वार्षिक रुपमा प्रकाशनमा आउने गरेको थियो । विदेशी लगानीकर्ताका लागि डुइङ विजनेश महत्वपूर्ण डकुमेन्टका रुपमा रहेको थियो । तर, प्रतिवेदनमाथि विभिन्न मुलुकले प्रश्न उठाएका थिए ।

यसरी प्रश्न उठाउने मुलुकमा नेपाल पनि एक थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले डुइङ विजेनश रिपोर्ट २०१८ र २०१९ मा असहमति जनाएका थिए । कर तिर्ने प्रकृयाका विषयमा विश्व बैंकले उठाएको प्रश्नमा नेपालको असहमति रहेको थियो । त्यसपछि विश्व बैंकले एक विज्ञ समूह नै नेपाल पठाएको थियो । शुक्रबार विश्व बैंकले डुइङ बिजनेससँग सम्बन्धित सम्पूर्ण सूचना, विगतका समीक्षा, लेखापरीक्षणका आधारमा विश्व बैंक समूह व्यवस्थापनले यस्तो निर्णय गरेको उल्लेख गरेको छ ।

विश्व बैंकले आफ्नो प्रतिवेदनमाथि निरन्तर प्रश्न उठेपछि आन्तरिक रिभ्यू गरेको थियो । सो क्रममा तथ्यांक तोडमोड हुने गरेका खुलासा भएसँगै प्रतिवेदन नै ननिकाल्ने निष्कर्षमा विश्व बैंक पुगेको हो । बैंकले आफ्नो प्रतिवेदनको शृङ्खलाबद्ध समीक्षा र प्रयुक्त विधिको परीक्षणसमेत शुरु गरेको उल्लेख गरेको छ । आन्तरिक अनुसन्धानबाट बोर्डका पूर्वअधिकृत तथा कर्मचारीमाथि समेत नैतिक प्रश्न उठेको छ ।

विश्व बैंकले प्रतिवेदन नआएपनि विकास र सरकारलाई नीतिगत वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका बढाउन विश्व बैंक दृढ रहेको जनाएको छ । आगामी दिनमा व्यवसाय र लगानीको वातावरण पहिचान गर्न फरक किसिमले काम अगाडि बढाउने बैङ्कको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment