+
+

गण्डकी सरकारको सय दिने उपलब्धि : राजनीतिक नियुक्तिदेखि राजदूतसँग भेटघाटसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते २०:१५

४ असोज, पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारले सोमबार सय दिने कार्यकाल पूरा गरेको छ । जेठ २९ गते मुख्यमन्त्रीको शपथ लिएका मुख्यमन्त्री नेपालीले सय दिन पूरा गरेको अवसरमा ३१ पृष्ठ लामो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

जसमा बाढीपहिरो पीडितलाई राहत दिएको, राजनीतिक नियुक्ति गरेकोदेखि इजरायलका राजदूतसँग भेटघाट गरेकोसम्म विषय समावेश गरिएको छ । मुख्यमन्त्री नेपालीले प्रदेश सरकारले छोटो समयमा धेरै उपलब्धी हासिल गरेको दावी गरेका छन् ।

प्रदेश सरकारले कोरोनाविरुद्धको खोप, प्रदेश समन्वय परिषद् पुनर्गठन, मन्त्रिपरिषद सदस्यहरुको आचारसंहितालगायतलाई आफ्नो उपलब्धीमा समेटेको छ ।

मुख्यमन्त्री नेपालीले पहिलो निर्णय महिलामा लाग्ने स्तन र पाठेघरको मुखको क्यान्सर निशुल्क उपचार गर्ने घोषणा गरेका थिए । कार्यविधि तयार नभइसकेकाले पहिलो निर्णयसमेत कागजमै सीमित छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७८ स्वीकृत गरिएको विषयलाई पनि उपलब्धीमा राखेको छ । पत्रकार महासंघ कास्की र प्रदेश समितिलाई फर्निचर सहयोग गरेको, कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमति पत्र वितरण सुरु गर्नुलाई पनि उपलब्धीमा समेटेको छ ।

प्रदेश सरकारले आफ्नो सय दिने अवधिमा कालीगण्डकी नदीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । प्रदेशमा रहेका २९० तालहरूको तथ्यांक प्रतिवेदन पेश गरिएकोदेखि ११ वटै जिल्लामा सामाजिक विकास कार्यालय सञ्चालन गरिएकोसमेत आफ्नो उपलब्धीमा उल्लेख गरेको छ ।

राजनीतिक नियुक्ति पनि उपलब्धि

प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्षसहित ३ जना सदस्य नियुक्ति, प्रदेशको मुख्य न्यायाधिवक्ता, प्रदेश लोकसेवा आयोगको सदस्य, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार, प्रेस संयोजकमा भरत कोइरालालाई नियुक्त गरेको विषय पनि राजनीतिक उपलब्धीमा राखेको छ ।

बाढी पहिरोका कारण अवरुद्ध प्रदेशभरका सडक सञ्चालन गर्न प्राविधिक कार्यालय परिचालन, बाढीपहिरो क्षतिग्रस्त ठाउँको स्थलगत निरीक्षण, बाढीका कारण खाद्यान्न ढुवानी नहुँदा अभाव पूर्ति गर्न हेलिकप्टरबाट ढुवानी गरेको विषय पनि प्रदेश सरकारको उपलब्धीमा समेटिएको छ । विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेको, बाढीपहिरोबाट क्षति पुगेका संरचना पुनर्निर्माण गर्न राहत व्यवस्था गरिएको लगायत विषय प्रदेश सरकारको उपलब्धीमा उल्लेख छ ।

सरकारले विपद व्यवस्थापन पूर्णरुपमा लागिपरेको उपलब्धीमा उल्लेख गरेको छ । तर, बाढीपहिरो गएको लामो समय भइसक्दा पनि पीडितहरुको पुनस्र्थापना हुन सकेको छैन । बाढीपहिरोले क्षति पुगेका सडक सञ्जाल पुनर्निर्माण हुन नसक्दा मनाङ, बागलुङ, गोरखा लगायत विभिन्न स्थानीय तह सडक सञ्जालविहीन बन्न पुगेका छन् ।

स्वास्थ्यमा धेरै उपलब्धि

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले हालसम्म प्रदेशभरका ४ लाख ५३ हजार जनाले दुवै कोरोना खोपविरुद्धको खोप पाइसकेको जानकारी दिएका छन् । साथै, ६ लाख १० हजार जनाले पहिलो मात्रा पाएका छन् ।

नेपालमै पहिलो पटक मनाङ र मुस्ताङ जिल्ला कोरोना खोपविरुद्धको पूर्णखोपयुक्त सय दिने अवधिमै घोषणा गर्न सकिएको प्रदेश सरकारको उपलब्धीमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनका योद्धा, घाइते, अपांग तथा शहीद परिवारका सदस्यलाई निशुल्क स्वास्थ्यसेवा गराउने अवधारणापत्र स्वीकृत भएको जनाएको छ ।

हेर्नुहोस् मुख्यमन्त्री पोखरेलको १०० दिनको उपलब्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?