+
+
प्रसारण र वितरण पूर्वाधार अभाव :

उद्योगले पाएनन् मागेजति बिजुली, विकल्प खोज्दै प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते २२:०९

४ असोज, काठमाडौं । समयमै पर्याप्त प्रसारणलाइन र सबस्टेसन नबनाउँदा धेरै उद्योगले मागअनुसार बिजुली पाएका छैनन् । तर, वर्षायाममा देशभित्रै उत्पादित बिजुली रातमा ५ सय र दिनमा ३ सय मेगावाटसम्म खेर गइरहेको छ ।

चिनियाँ लगानीमा नवपलरासीमा बनेको होङ्सी सिमेन्ट उद्योगले अझै बिजुली पाएको छैन । करिब पाँच वर्षसम्म होङ्सीले डिजेलको भरमा उत्पादन गरिरहनु परेको छ । पटक-पटक ताकेता गर्दा पनि बिजुली नपाएको भन्दै उद्योगले लगानी बोर्डलाई गुहारेको थियो ।

मागअनुसार बिजुली नपाउनेमा स्टिल उद्योगहरुको सूचीमा श्री स्टिल पनि छ । श्री स्टिलले पनि १५ मेगावाटभन्दा बढी बिजुली खपत गर्न सक्छ ।

सिमेन्ट उत्पादकहरुले पनि यही गुनासो गरिरहेका छन् । कसमस सिमेन्ट उद्योगले पनि मागअनुसार बिजुली नपाएको बताएको छ ।

तराई क्षेत्रमा खुल्ने तयारीमा रहेका विभिन्न स्टिल उद्योगले पनि करिब २ सय मेगावाट बिजुली मागेका छन् । तर, त्यसलाई आपूर्ति गर्न प्राधिकरणसँग बलियो प्रसारण तथा वितरण पूर्वाधार छैन ।

आवश्यक्ताआनुसार प्रसारण पूर्वाधार बनाउने हो भने उद्योगहरुले नै ३ सय मेगावाटभन्दा बढी बिजुली देशभित्रै खपत गर्नसक्ने दावी उद्योगीहरुले गर्दै आएका छन् । यसले एकातिर बिजुली खेर जाने र अर्कोतर्फ उद्योगले मागअनुसार बिजली नपाउने अवस्था बनेको देखाएको छ ।

औद्योगिक क्षेत्रमा कुलमानको दौडाहा

नेपाल विद्युत प्राधिकरण भने विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरुको निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्ने बताउँछ ।

प्राधिकरणले विद्युत खपत बढाउन योजनावद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाएको बताएको छ । प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीहरुलाई मागेअनुसार विद्युत उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो ।

अल्कालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिटो सम्पन्न गर्ने योजना छ ।

दीर्घकालीन योजनाअन्तर्गत  विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्रसारण तथा वितरणतर्फका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने प्राधिकरणको दावी छ ।

उद्योगीहरुले मागेजति विद्युत् नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार हेटौडा, सिमरा, वीरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालनमा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टेसनहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन आयोजनाहरु निर्माणाधीन छन् । कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखहरुसँग आयोजनास्थलमै छलफल गरी निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेका थिए ।

‘एकतर्फ देशभित्र उत्पादित विद्युत खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिरहेका छौं भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योगहरुलाई मागेजति विद्युत् दिन सकिरहेका छैनौं, यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौं’, घिसिङले भने ।

विकल्प खोजिने

निर्माणाधीन आयोजनाहरु  सम्पन्न भएपछि उद्योगहरुलाई मागेअनुसार विद्युत दिन सकिन्छ भने आम उपभोक्ताले गुणस्तरीय, विश्वसनीय विद्युत् पाउने  र चुहावट घटाउन घट्ने उनले बताए ।

विद्युत् खपत बढाउनुपर्ने अहिलेको चुनौतीपूर्ण अवस्थामा आयोजनाहरुको काम समयमै सम्पन्न गर्न समबद्ध सबै पक्षको सहयोग आवश्यक रहेको घिसिङ बताउँछन् ।

उनका अनुसार सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौडा-परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको छ । यो काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत आपूर्ति दिन सकिने छ ।

निर्माणाधीन हेटौडा-ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने र अमलेखगञ्जमा रहेको सबस्टेसनबाट थप फिडर निकाली विद्युत आपूर्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गरेका छन् । यसका लागि अध्ययन गरी प्रस्ताव पेश गर्न निर्देशन दिएको उनले बताए ।

नपलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत आपूर्तिका लागि सुनवलमा १३२/३३ केभी सबस्टेसन निर्माणाधीन छ । सबस्ेटसनको निर्माण आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनीय हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने । त्यस क्षेत्रमा सञ्चालित उद्योगहरुले क्षमता थप्न लागेको र नयाँ उद्यागहरु पनि खुल्न लागेकोले विद्युतको माग उच्च रहेको छ ।

रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा रहेका उद्योगहरुलाई विद्युत आपूर्तिका लागि बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । कोभिड-१९ का कारण चिनियाँ प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको परीक्षण हुन सकेको छैन । सबस्टेसन सञ्चालनमा आएपछि थप ९० मेगावाट विद्युत आपूर्ति दिन सकिने प्राधिकरणको भनाइ छ ।

होङ्सी सिमेन्ट तीन महिनाभित्र

चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने प्राधिकरणको दावी छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकिल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको छ । भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो ।

कार्यकारी निर्देशक घिसिङले उद्योगका पदाधिकारीहरुसँग छलफल गरी तीन महिनाभित्र विद्युत आपूर्ति दिन सकिने भएकाले सोही अनुसार आवश्यक तयारी गर्न आग्रह गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने  घोषणा अनुसार यो लाइन बनिरहेको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण  बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।

‘सबैजसो परियोजना यस्तै संकटमा परेकाले उद्योगहरुलाई मागेअनुसार बिजुली दिन सकस भइरहेको छ,’ घिसिङ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?