+
+

एमसीसी सम्झौता प्रचण्डले गिजोले : गोकुल बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १८:१४

५ असोज, पोखरा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिजोलेको आरोप लगाएका छन् ।

प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर प्रचण्डले गिजोलेको आरोप लगाएका हुन् ।

‘एमसीसीको सम्झौता गर्‍या कसले ? (शेरबहादुर) देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले ? त्योचाहिँ प्रचण्डले मात्रै हो । अरुले गिजोलेको होइन, यता गिजोल्या’छ, उता गिजोल्या’छ’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गर्‍या’छ, बाहिर निस्किँदा अर्को कुरा गर्‍या’छ । केपी ओली हुँदा एउटा कुरा गर्‍या’छ, अर्को कुरा हुँदा अर्को कुरा गर्‍या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?’

प्रचण्डकै कारण एमसीसी सम्झौता संसदमा पेश हुन नसकेको उनले बताए । तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता ढुसी पारेर राखेको उनले टिप्पणी गरे । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोज्दा सभामुखले रोकेको पनि बास्कोटाले बताए ।

‘कृष्णबहादुर महराजीले पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन’ उनले भने ।

अहिले एमसीसी सम्झौता पारित गर्न सत्तारुढ दललाई एमालेको सहयोग नचाहिने पनि बास्कोटाले ‘हामीतिर फर्किनै पर्दैन । उहाँहरुको १ सय ६५ सिट छ । झन्डै २ तिहाइ छैन त ? गरे भइहाल्यो नि एमसीसी’ उनले भने ।

एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए ।

‘पहिले उहाँहरुले ल्याउनुस्, त्यसपछि हामी पढौंला, त्यसका जम्मै बुँदाबुँदा केलाउँला ।…सेनाले परेड खेल्नी हो कि ? बिजुलीको प्रशारण लाइनमात्रै बनाउने हो कि ? भारतको अनुमति किन चाहिनुपर्ने हो वा किन नचाहिनुपर्ने हो ? त्यो कुरा त छलफल गरौंला नि !’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?