+
+

सम्भव छ राउटे समुदायको सशक्तीकरण

छवि रिजाल छवि रिजाल
२०७८ असोज ५ गते १३:४५

सानोमा राउटे समुदायका कुरा सुन्दा कुनै दन्त्य कथा जस्तो लाग्थ्यो । ठूलो हुँदै गएपछि थाहा भयो- यिनीहरू पश्चिम नेपालको सुर्खेत आसपासको जङ्गलमा बसोबास गर्ने रहेछन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौरस्थित भेरी नदीको किनारमा बसिरहेका बेला गत जेठ महीनाको मध्यतिर दुईजना राउटे युवतीलाई स्थानीय युवाद्वारा भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक भयो । सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यम मार्फत यो विषयको स्वदेश तथा विदेशमा समेत चर्चा परिचर्चा भयो ।

घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्ने, बयान लिने, अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने, पीडित युवतीहरूको जीवन रक्षा गर्ने र युवतीहरूलाई मनोपरामर्श गरी स्वास्थ्य परीक्षणको लागि सहमत गराउने लगायतका कार्यमा समन्वय र सहजीकरण गर्दा यो समुदायबारे धेरै जानकारी प्राप्त भयो ।

घटनापश्चात् राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग एवं आदिवासी तथा जनजाति आयोगका पदाधिकारीसँग भेटघाट तथा छलफल एवं यस विषयमा रिपोर्टिङ गर्ने मिडियाकर्मीसँगको बाक्लो कुराकानीले राउटे समुदायलाई नजिकबाट बुझ्ने अवसर मिलेको हो ।

कर्णाली प्रदेशका जिल्लाहरू खासगरी दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको जङ्गलमा बसाइ सर्दै फिरन्ते जीवन बिताउने राउटे समुदाय नेपालको एक लोपोन्मुख जातीय समुदाय हो । राष्ट्रिय जनगणना-२०६८ अनुसार कर्णाली प्रदेशमा घुमन्ते जीवनयापन गरिरहेका राउटे समुदायका सदस्यहरूको संख्या र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास गरी बसेका समेत गरी यो समुदायको कुल जनसंख्या ६१८ रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास गर्ने र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका राउटे समुदायको जीवनशैलीका बीचमा तात्विक भिन्नता छ या समानता छ भन्ने विषयमा स्पष्ट हुनका लागि थप अध्ययन आवश्यक देखिन्छ । यस आलेखमा कर्णाली प्रदेशमा घुमन्ते जीवनयापन गरिरहेका राउटे समुदायको सन्दर्भमा मात्र उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र दैलेख जिल्लाको गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा ३० असार २०७५ मा परिचयपत्र वितरण गर्दा कर्णाली प्रदेश अन्तर्गत घुमन्ते जीवनयापन गरिरहेका राउटे समुदायका सदस्यहरूको संख्या १५२ रहेको थियो । हाल यो संख्या घट्दै गई ०७८ को साउन मसान्तसम्ममा १४० जना पुगेको छ ।

फरक जीवनशैली, विशेष सीप तथा कौशल, अलग्गै रीतिरिवाज र खानपान लगायतका विशेषता रहेको यो समुदायको मौलिकता क्रमशः लोप हुँदै गइरहेको वास्तविकता एकातिर छ भने अर्कोतिर बाह्य समुदायसँगको अन्तरक्रिया बढ्दै जाँदा सकारात्मकभन्दा नकारात्मक पक्षको असर जीवनशैलीमा पर्न गई उनीहरूको अस्तित्व दिनानुदिन संकटमा पर्दै गएको देखिन्छ।

सुर्खेतको गुर्भाकोटबाट बसाइँ सरी गत असारको दोस्रो हप्तादेखि यो समुदाय छिमेकी सल्यान जिल्लाको कालिमाटी गाउँपालिकाको काल्चेमा बस्दै आएको थियो । त्यहाँ बसोबास गरेका बेला करीब एक महीनाको अवधिमा चारजना सदस्यको मृत्यु भएपछि त्यो ठाउँ अशुभ भएको उनीहरूले निष्कर्ष निकाले । यही भदौ ४ गतेदेखि पुनः सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकाको मालारानी क्षेत्रमा बसोबास गर्न थालेका छन् ।

सुर्खेत जिल्लामा फर्केपछि उनीहरूको अवस्था बुझ्नका लागि गत भदौको पहिलो हप्ता त्यहाँ पुग्दा उनीहरूको अवस्था अत्यन्त दयनीय देखिन्थ्यो । बालबालिका कुपोषणले ग्रस्त र टिठलाग्दा देखिन्थे । ससाना बालबालिकाहरूले जिज्ञासापूर्वक अनुहारमा हेरिरहेका थिए । उनीहरूको गन्तव्यहीन भविष्यमाथि सहानुभूतिको भावना जागे पनि तत्कालै केही गरिहाल्ने अवस्था थिएन ।

महिलाहरू अत्यन्त दुब्ला, कम उमेरमै वृद्ध जस्ता लाग्ने, थकित र मलिन अनुहारका देखिन्थे । त्यहाँ भेटिने युवादेखि वृद्धसम्म प्रायः सबै मदिराको नसामा लठ्ठिएका थिए। उनीहरू बसेको क्षेत्रमा यत्रतत्र फोहोर र हिलो थियो । बस्नका लागि बनाएका झुप्राबाट एकनासले धुवाँ पुत्ताएको थियो। झुप्राभित्र बालबालिकादेखि महिला पुरूष लहरै अर्धनग्न अवस्थामा सुतिरहेका देखिन्थे । खाना पकाएका जुठा भाँडा असरल्ल थिए ।

भिरालो र छिपछिपे पानीयुक्त ठाउँ भएकोले कुनै पनि बेला पहिरो जानसक्ने जोखिमपूर्ण अवस्था देखिन्थ्यो । जोखिमपूर्ण ठाउँबाट बस्ती स्थानान्तरण गर्ने विषयमा कुराकानीका लागि बोलाउन खोज्दा उनीहरू सकभर उम्किने प्रयास गरिरहेका थिए ।

राउटे समुदायका प्रत्येक सदस्यले सामाजिक सुरक्षा बापत नेपाल सरकारको तर्फबाट प्रतिव्यक्ति प्रतिमहिना तीन हजार र कर्णाली प्रदेश सरकारको तर्फबाट प्रतिव्यक्ति प्रतिमहिना दुई हजार गरी मासिक पाच हजारका दरले भत्ता पाउँछन् । सोही व्यवस्था अनुसार गत असार महिनामा कुल २८ लाख ६० हजार नगद उनीहरूले बुझेका थिए । सामाजिक सुरक्षा भत्ता बापतको यस्तो रकम चालु आ.व. को साउन महीनादेखि वृद्धि भई प्रतिव्यक्ति ६ हजार पुगेको छ ।

राउटे समुदायका सदस्यले सामाजिक सुरक्षा भत्ता पाउनका लागि उमेरको कुनै छेकबार छैन, जन्मेपछि पाइहाल्छन् । यही भदौको पहिलो हप्ता मालारानी क्षेत्रमा भेट्दा उनीहरूले भिजिटरसँग पैसा माग गरेको देखिन्थ्यो ।

राउटे समुदायबारे जानकारहरूका अनुसार सामाजिक सुरक्षाबापत पाएको यति ठूलो रकम करिब डेढ महिनाको अवधिमा प्रायः सबै नै मदिरा र सुर्ती सेवनमा खर्च गरेका थिए । अत्यधिक मदिरा सेवन र पौष्टिक आहारको अभावमा उनीहरूमध्ये अधिकांशको स्वास्थ्य कमजोर हुने गरेको छ । यसैका कारण मृत्यु समेत हुने गरेकोले यो समुदायको जनसंख्या पछिल्ला केही वर्षदेखि निरन्तररुपमा घट्दो क्रममा रहेको छ ।

सिकिस्त बिरामी पर्दा समेत अस्पताल जान नखोज्ने स्वभावका कारण पनि उनीहरूको स्वास्थ्योपचार प्रभावकारी हुनसकेको छैन । तसर्थ, उनीहरूको वर्तमान जीवन शैलीमा रचनात्मक हस्तक्षेप नगर्ने हो भने आगामी केही वर्षभित्रै यो समुदायको अस्तित्व केवल इतिहासमा मात्र सीमित रहने निश्चित प्रायः छ ।

नेपालको संविधान अनुसार विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षाका क्षेत्रमा विशेष व्यवस्था गर्नु राज्यको दायित्व हो । राज्यको यही दायित्व निर्वाह गर्ने क्रममा सरकारले संकटमा परेको राउटे समुदायको संरक्षणको लागि सामाजिक सुरक्षाबापत नगद सहायता उपलब्ध गराउँदै आएको छ । यस्तो सहायता आ. व. २०६५/६६ देखि उपलब्ध गराउन थालिएको हो ।

नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको रकम एकद्वार प्रणालीबाट दैलेख जिल्लाको गुराँस गाउँपालिका मार्फत वितरण हुने गरेको छ । कर्णाली प्रदेश अन्तर्गत बसोबास गर्ने राउटेहरूको अभिलेख दैलेख जिल्लाको गुराँस गाउँपालिकाले राख्ने व्यवस्था छ । उनीहरू जहाँ जहाँ बसोबास गर्छन् सम्बन्धित स्थानीय तहले तत्कालका लागि तदर्थ ढंगले केही न केही सहयोग गर्दै आएका छन् । सो समुदायबारे जानकारी राख्ने स्थानीयका अनुसार राउटेहरूले आफ्नो परम्परागत मूल्य, मान्यता र पेशा छोड्दै गएका छन्।

सित्तैमा अरूको केही नलिने, बाह्य वस्तु आवश्यक परेमा सामान साटासाट गरेर मात्र स्वीकार गर्ने, अत्यन्त मेहनती र स्वाभिमानी राउटे समुदाय अहिले आएर करिब करिब मगन्ते अवस्थामा पुगेको छ । यसरी हेर्दा अहिले यो समुदाय पूरै परनिर्भर अवस्थामा रहेको छ भन्दा फरक पर्दैन । यिनीहरूले एकातिर आफ्ना परम्परागत सकारात्मक मूल्यमान्यता भुल्दै गएका छन् भने अर्कोतिर आधुनिक जीवनशैली अपनाउने क्रममा विकृति मात्र पछ्याउँदै जान थालेका छन् । यसबाट यो समुदाय ठूलो संकटको दोसाँधमा फसेको स्पष्ट हुन्छ। यिनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि केही उपाय निस्कन्छ कि भनेर छलफल गर्ने उद्देश्यले गत भदौ १९ गते राउटे बस्तीमा पुग्दा “दशैंमा भत्ता पाउँछ कि पाउँदैन” भनेर बारम्बार एउटै प्रश्न सोधिरहेका थिए ।

यो समुदायको सशक्तीकरणका लागि राज्यको तर्फबाट भइरहेका प्रयासहरू पर्याप्त देखिंदैनन् । समुदायको उत्थानका लागि भनेर मूलतः दुईवटा स्थानीय गैरसरकारी संस्था क्रियाशील रहेको पाइन्छ । यस्ता संस्थाको आफ्नै स्रोत हुने कुरा भएन, सरकारसँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्ने हुन् । यस्ता संस्थाले सरकारको नीति तथा कार्यक्रम र उपलब्ध गराउने बजेटको परिधिभित्र रही सम्झौता बमोजिम काम गर्ने हो।

राउटे समुदायलाई अन्य लोपोन्मुख जातीय समुदायसरह व्यवहार गरेर मात्र उत्थान सम्भव देखिंदैन । किनभने यिनीहरूको आफ्नै स्थायी घरबास छैन, जग्गा जमीन छैन । स्थायीरुपले एकै स्थानमा बस्नुहुँदैन, खेतीपाती गर्नुहँदैन र पढाइ लेखाइ गर्नुहुँदैन भन्ने विश्वास परम्परागत रुपमा रहेको छ । त्यसैले उनीहरूका बालबालिका विद्यालय जाँदैनन्। पढ्यो भने देवता रिसाउँछन्, शिकार पर्दैन भन्ने गहिरो विश्वास छ। नागरिकताको प्रमाणपत्र बनाउन पनि चाहँदैनन् । उनीहरूकै भलाइका लागि सल्लाह, सुझाव दिंदा पनि सजिलै मान्दैनन् ।

समुदायका मुखियाहरूसँग व्यवस्थित बास, शौचालय र लत्ता कपडाबारे कुरा गर्दा हरेक प्रश्नमा “जनतालाई सोध्नुपर्छ” भन्छन् । मुखियाहरूले पनि एक्लै निर्णय लिन नसक्ने रहेछन् । जे होस् राउटे समुदायको निर्णय प्रक्रिया भने लोकतान्त्रिक र सहभागितामूलक नै रहेछ।

नेपालको राउटे जस्तै जीवनशैली भएको अष्ट्रेलियाको आदिवासी समुदायलाई एबोरिजिनल भनिन्छ । त्यहाँको सरकारले यो समुदायको संरक्षण र विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरेपछि तिनीहरूको जीवनशैलीमा रुपान्तरण भएको, संस्कृतिको संरक्षण भएको र समुदायका सदस्यहरूको सशक्तीकरण हुनुका साथै त्यो समुदायको साँस्कृतिक प्रस्तुति त्यहाँको पर्यटन प्रवर्धनको आकर्षण समेत बन्दै गएको बुझिन आएको छ । हामीकहाँ पनि यस्तो सम्भावना पर्याप्त देखिन्छ ।

सरकारको तर्फबाट हालसम्म सञ्चालित कार्यक्रम, राउटे समुदायबारे जानकार स्थानीय व्यक्तिसँगको छलफल, स्वयम् राउटेहरूसँगको पटक पटकको भेटघाट, छलफल र उनीहरूको बस्तीमा गई जीवनशैलीलाई नजिकबाट अवलोकन गरी हेर्दा सो उनीहरूको जीवन रक्षा, मानवअधिकारको संरक्षण, कला संस्कृतिको संरक्षण, जीविकोपार्जन एवं सशक्तीकरणका लागि तत्कालै कदम चाल्नुपर्ने देखिन्छ ।

१. जिम्मेवार निकाय तोक्ने

यो समुदाय कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरू खासगरी दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको जङ्गलमा बसोबास गर्ने भएको कारण व्यवस्थापन तथा उत्थानको जिम्मेवारी कर्णाली प्रदेश सरकारले नै लिनुपर्ने हुन्छ । यसबाहेक पनि कर्णाली प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार यस्ता जातीय समुदाय सम्बन्धी मामिलाहरू सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्दछ । तसर्थ, यो मन्त्रालयले कत्ति पनि विलम्ब नगरी ठोस कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।\

समुदायको उत्थानका लागि गैरसरकारी संस्थाको भरमा होइन कि सरकारले नै योजनाबद्ध ढंगले काम गर्नुपर्ने हुन्छ। गैरसरकारी संस्थाले सरकारलाई डोर्‍याउने नभई सरकारले नै यस्ता संस्थालाई आवश्यकतानुसार परिचालन गर्न सक्नुपर्छ। अन्य सिमान्तीकृत जातीय समुदायभन्दा राउटे समुदाय नितान्त फरक प्रकृतिको भएको र अस्तित्व नै लोप हुने अवस्थामा पुगेको हुँदा सरकारको तर्फबाट विशेष व्यवहार गर्नुपर्ने देखिन्छ ।

२. राउटे समुदाय व्यवस्थापन कार्यालय

जङ्गलमा बसाइँ सर्दै फिरन्ते जीवनयापन गर्ने यो समुदायको कुशल व्यवस्थापनका लागि सरकारले सक्रियता नदेखाउने हो भने यिनीहरूको सशक्तीकरण सम्भव देखिंदैन । गैरसरकारी संस्थाको भरमा यस्तो काम सम्भव हुँदैन । हाल दुईजना सामाजिक परिचालक गैरसरकारी संस्थाको तर्फबाट बस्तीमा खटिएका छन्, तर उनीहरूको भूमिका प्रभावकारी हुनसकेको छैन ।

त्यसैले स्पष्ट कार्य विवरणसहित प्रदेश सरकारले कम्तिमा दुईजना स्वास्थ्यकर्मी, दुईजना शिक्षक तथा एकजना नायब सुब्बा सरहको कर्मचारी रहने गरी राउटे समुदाय व्यवस्थापन कार्यालय स्थापना गर्न विलम्ब गर्नु हुँदैन । यस्तो कार्यालय राउटे बस्ने क्याम्पभित्रै वा क्याम्पसँगै राखिनुपर्छ । बस्ती जताजता सर्छ यस्तो कार्यालय पनि त्यतै त्यतै सरेर काम गर्नुपर्छ। यसका साथै क्याम्पमा हुने सबै गतिविधिको सिसिटिभी जडान गरी सामाजिक विकास मन्त्रालयबाट निगरानी गर्ने व्यवस्था मिलाउनुपर्छ।

३. मनोपरामर्श तथा तालिम

सरकारले हासिल गर्न खोजेको उद्देश्य प्राप्तिका लागि कुशल मनोविद्द्वारा समुदायका सदस्यलाई मनोपरामर्श गर्न आवश्यक छ । निरन्तररुपमा उनीहरूलाई सम्झाई-बुझाई गरी उत्प्रेरित समेत गर्दै अगाडि बढ्नुपर्छ । यसका लागि उच्च सरकारी अधिकृतको भूमिका पनि प्रभावकारी हुन सक्छ । किनभने उनीहरूले सीमित सरकारी अधिकारीको मात्र कुरा सुन्ने गरेका छन् । यस्तो परामर्शमा खटिने मनोपरामर्शदातालाई सरकारले आकर्षक सुविधा दिन सक्नुपर्छ । निरन्तर रुपमा सिकाउँदा सिकाउँदा सुगा, मैना जस्ता चरा र बाँदर भालुजस्ता जंगली जनावरलाई त लयमा ल्याउन सकिन्छ भने यिनीहरू त मानव नै हुन् ।

४. नियमित स्वास्थ्य परीक्षण र औषधोपचार

विगत केही वर्षदेखि उनीहरूको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बन्दै गइरहेको छ। शरीरभरि घाउखटिरा देखिन्छन् । सरसफाइको अवस्था दयनीय छ । तसर्थ स्वास्थ्यकर्मीको सानो टिम अत्यावश्यक औषधिसहित उनीहरूकै बस्तीका लागि खटाउन आवश्यक छ । टाढाको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउन नचाहने तर क्याम्पमा रहेका स्वास्थ्यकर्मीसँग चिनजान र हेलमेल हुने कारणले उनीहरूसँग भने परिक्षण गराउन चाहन्छन् ।

५. गर्भवती महिला र बालबालिकाको विशेष हेरचाह

स्वस्थ बच्चा जन्माउनका लागि आमाको स्वास्थ्य पनि तन्दुरुस्त हुनुपर्छ। यो समुदायमा गर्भवती महिलालाई पौष्टिक आहार खुवाउनुपर्छ, विशेष ढंगले रेखदेख गर्नुपर्छ भन्ने कुराको ज्ञान छैन । त्यसैगरी पछिल्लो समयमा बच्चाहरूको मृत्युदर पनि उच्च देखिएकोले यो समुदायको अस्तित्व थप संकटमा पर्दै गएको अवस्था छ । गर्भवती राउटे महिला र बालबालिकालाई लक्षित गरी विशेष प्याकेज कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्छ।

६. पौष्टिक आहारको व्यवस्था

समुदायका प्रायः सबैजना पौष्टिक आहारको अभावमा कुपोषणले ग्रसित देखिन्छन्। सरकारले दिएको भत्ताले मदिरा तथा सुर्तीजन्य बस्तु खरीद गर्दछन् । पौष्टिक आहार खानुपर्छ भन्ने चेतनाको कमी छ । तसर्थ सरकारले विशेष निर्णय गरी सामाजिक सुरक्षा भत्ताको रकम उनीहरूलाई सोझै उपलब्ध नगराई उनीहरू जहाँ जहाँ जान्छन् त्यहीँ गएर उनीहरूकै चाहना अनुसारको पौष्टिक खानेकुरा, आवश्यक पर्ने भाँडाकुँडा लगायत दैनिक उपभोगका सामानहरू साप्ताहिक रुपमा उपलब्ध गराउन उपयुक्त हुन्छ । सरकारले यसरी मदिरा र सुर्तीजन्य वस्तुको नियन्त्रण गर्ने र पौष्टिक आहारको व्यवस्थापन गर्न सक्ने हो भने केही महिनाभित्रै उनीहरूको स्वास्थ्यमा देखिने गरी परिवर्तन हुनेछ ।

७. वन फडानी नियन्त्रण

यस क्षेत्रमा बसोबास गर्ने राउटे समुदाय तीनवटा फरकफरक गोत्रका रहेका छन् । मुखियाहरूसँग परामर्श गरी प्रत्येक परिवारको लागि अलगअलग चुल्हो बाल्नुको सट्टा आ−आफ्नो गोत्रको लागि एक एकवटा भान्साको व्यवस्थापन गर्न उपयुक्त हुन्छ । यसमा उनीहरूलाई सहमत गराउन सकिन्छ । खाना पकाउनका लागि आवश्यक पर्ने दाउरा सामुदायिक वनसँग समन्वय गरेर उपलब्ध गराउने हो भने यो समुदायबाट हुने वन फडानी नियन्त्रण गर्न सकिन्छ ।

हाल यो समुदायका ४६ परिवार रहेका छन् । बसाइँसराइ गरी प्रत्येक नयाँ ठाउँमा जाने बित्तिकै यिनीहरूले नयाँ झुप्रो बनाइहाल्छन् । जङ्गलबाट काठ काट्दा पनि ठूलो रुख काट्ने नभई ससाना पोथ्राहरू काट्छन् । एक ठाउँबाट अर्को ठाउँमा जाँदा धुरी खामो बाहेक अरु काठपात लैजाँदैनन् । यसले गर्दा जति धेरै बसाइँ सर्छन् उति धेरै वन फडानी हुने गर्छ। वन फडानी नियन्त्रण गर्ने सबैभन्दा उत्तम उपाय भनेको उनीहरूलाई सम्झाई-बुझाई गरी एकै स्थानमा बस्न लगाउनु हो । राउटेहरू एकै ठाउँमा स्थायी बसोबास गरी बस्न मान्ने बित्तिकै समुदायको सशक्तीकरण पनि सहज ढंगले हुन्छ ।

८. अस्थायी शौचालय निर्माण तथा सरसफाइ

अहिले राउटे बस्तीको वरपर निकै धेरै फोहोर देखिन्छ । मानव मलमूत्रबाट निसृत यस्तो फोहोरले कुनै पनि बेला समुदायमा हैजाको जिवाणु फैलिन सक्छ। तसर्थ उनीहरूको बस्ती नजिक अस्थायी खालका शौचालय बनाउनुपर्छ । शौचालय निर्माण नगर्ने हो भने पनि आवश्यक संख्यामा खाडल खनी त्यहीँ मात्र दिसापिसाब गर्ने बानी लगाउनुपर्छ । यसका साथै बस्ती वरपरको सरसफाइ गर्ने कुरामा उनीहरूलाई नै प्रोत्साहित गर्नुपर्छ । प्रारम्भमा उनीहरूलाई बानी पार्न बस्ती वरपर सफाइ गरेर देखाउनुपर्छ ।

९. अस्थायी आवास निर्माण

राउटे बस्ने अस्थायी टहराहरू बसोबासको लागि सुरक्षित हुँदैनन्। तर उनीहरू आफ्नो शैली सहजै छोड्न पनि चाहँदैनन्। यसमा उनीहरूलाई कन्भिन्स गर्न भने सकिन्छ । उनीहरूको चाहना अनुसारको रंगको त्रिपाल छनौट गरी उपलब्ध गराउने हो भने प्रयोग गर्छन् । यसका साथै उनीहरूको चाहना अनुसारको टेन्ट उपलब्ध गराई प्रयोग गर्न सहमत हुने हो भने एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्न र फिट गर्न सहज हुन्छ ।

यसबाहेक यो समुदाय बसाई सराईका क्रममा बस्ने गरेका परम्परागत स्थान विशेषमा कटेज स्टायलका ससाना घरहरू बनाउनु पर्छ। मुखियाहरूलाई कन्भिन्स गर्ने र मुखियाहरूले आफ्ना जनतालाई मनाउन सक्ने हो भने समुदायका सदस्यहरू यस्ता घरमा बस्न सहमत हुन्छन् । यसो भयो भने कम खर्चका यस्ता ससाना घरहरू बनाउने र घुम्दै फिर्दै बसाइँ सर्दै जाने क्रममा यिनै घरहरू प्रयोग गर्न लगाउन सकिन्छ ।

१०. लत्ताकपडा उपलब्ध गराउने

यिनीहरूमा सिलाएको कपडा लगाउनु हुँदैन भन्ने विश्वास छ । यदि सिलाएको कपडा लगाउन मान्दैनन् भने उनीहरूको छनौट अनुसारको थान कपडा उपलब्ध गराउनु पर्छ । शरीर ढाकिने गरी पर्याप्त मात्रामा कपडा उपलब्ध हुने हो भने खासगरी जाडो मौसममा हुने निमोनिया लगायतका संक्रमणबाट जोगिन मद्दत गर्छ । यसका साथै आजकल साधारण खालको चप्पल पनि लगाउन थालेकोले उनीहरूको चाहनाअनुरुपको रङ्ग र साइजका चप्पलहरू वितरण गर्न सके चिसोबाट जोगिन र चोटपटक लाग्नबाट बचाउन सहयोग पुग्छ । त्यसैगरी उनीहरूले रुचाउने खालका म्याट्रेस, कम्मल तथा पाखीहरू पनि उपलब्ध गराउनुपर्छ ।

११. मदिरा बेचबिखनमा नियन्त्रण

मदिरा तथा सुर्तीजन्य पदार्थको जथाभावी सेवनबाट यो समुदायको अस्तित्व नै संकटमा पर्न लागेको हुँदा उनीहरूको बस्ती वरपर यस्ता बस्तुको बेचबिखनमा कडाई गरिनुपर्छ। यस्तो आदेशको पालना नगर्ने बिक्रेतालाई कानुनी कारबाहीको दायरामा ल्याउने व्यवस्था मिलाउनुपर्छ ।

यिनीहरूलाई एकैपटक मदिरा छुटाउन भने कठिन हुन्छ । चाडबाडहरूमा मात्र खाने गरी यिनीहरूलाई सम्झाउन सकिन्छ । चाडपर्वको अवसरमा पनि बजारको रेडिमेड किनेर खानुको सट्टा घरमै उत्पादन गरी सेवन गर्ने कुरामा सहमत गराउन सकिन्छ ।

१२. राउटे संग्रहालय निर्माण

यो समुदायको विशिष्ट पहिचान छ । उनीहरूको जीवनशैली, रहनसहन, उत्पादन सिप तथा कौशल र कला संस्कृतिको संरक्षण गर्ने हेतुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राउटे संग्रहालयको निर्माण गर्न सकिन्छ। यसबाट सो समुदायका सदस्यको मनोभावनामा सकारात्मक परिवर्तन हुनुका साथै पर्यटकीय गतिविधि विस्तारमा समेत टेवा पुग्न जान्छ।

१३. श्रव्यदृश्य सामग्री उत्पादन र प्रसारण

समुदायका सदस्यहरूलाई मनोरञ्जन प्रदान गर्ने, बालबालिकालाई लक्षित गरी प्रेरणामूलक सन्देशहरू दिने, अप्रत्यक्ष रुपबाट बालबालिकाहरूलाई शिक्षा दिने तथा उनीहरू जथाभावी बाहिर नभौंतारिउन् भन्ने अभिप्रायले स्थानीय भाषा, शैली र लवजमा श्रव्यदृश्य सामग्री उत्पादन गर्न सकिन्छ। यिनिहरूले लोकगीत मन पराउने र ध्यान दिएर सुन्ने भएकोले यस्ता सामग्रीहरू स्थानीय लोकलयमा उत्पादन गरी प्रसारण गर्ने व्यवस्था गर्नुपर्छ । यस्तो सामग्री उनीहरू बस्ने क्याम्पमा ठूलो स्क्रिनको माध्यमबाट नियमित रुपमा प्रसारण गर्दा प्रभावकारी हुन्छ ।

१४. सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास गर्ने राउटे समुदायको अध्ययन

सुदूरपश्चिम प्रदेशका राउटेहरू डडेल्धुरा जिल्लामा स्थायी बसोबास गरी बसेका र उनीहरूको जीवनस्तरमा नाटकीय सुधार भएको, उनीहरूमध्ये कतिपय सरकारी सेवामा प्रवेश समेत गरेको भन्ने सुनिन्छ । सुदूरपश्चिममा यसरी स्थायी बसोबास गर्ने र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका राउटे समुदायको जीवनशैलीका बीचमा तात्विक भिन्नता त अवश्य नै छ । सुदूरपश्चिम प्रदेशको यो समुदाय साँच्चिकै राउटे जाति नै हो कि राउटेसँग मिल्दोजुल्दो मात्र हो भन्नेमा स्पष्ट हुन आवश्यक छ । यदि त्यो समुदाय राउटे नै हो भने तिनीहरूको रुपान्तरण कसरी भयो त्यसको अध्ययन गरी कर्णाली प्रदेशमा पनि त्यही उपाय अवलम्बन गर्न सकिन्छ ।

१५. प्रहरी चौकी स्थापना

यो समुदायको सुरक्षाका लागि उनीहरू बसोबास गर्ने क्याम्प नजिकै अस्थायी प्रहरी चौकीको स्थापना गर्नुपर्छ । राउटेहरू बसाइँसराइ गरी जता जता जान्छन् यस्तो चौकी पनि त्यतै त्यतै स्थानान्तरण गर्ने गरी नीतिगत व्यवस्था मिलाउनु पर्छ । यस्तो चौकीले समुदायका सदस्यको सुरक्षा गर्नुका साथै क्याम्पमा हुने भीडभाड र तमासेहरूको जमातलाई नियन्त्रण गर्न सहयोग पुग्दछ ।

यिनीहरू शान्त स्वभावका हुने भएकोले अनावश्यक भीडभाड तथा होहल्ला मन पराउँदैनन् तर सजिलै मदिरा तथा सुर्तीको प्रलोभनमा पर्ने भएकोले त्यस्ता व्यक्तिको प्रतिवाद गर्न सक्दैनन् । युट्युबर तथा टिकटक निर्मातालाई पनि निश्चित अवधिका लागि क्याम्प प्रवेशमा रोक लगाउनुपर्छ । युट्युबर तथा टिकटक बनाउनेहरूले राउटे समुदायको स्वाभाविक क्रियाकलापको सञ्चालनमा अवरोध पुर्‍याउँदछन् । जरुरी कामले आउने आधिकारिक व्यक्तिहरूको समेत लगत राखेर मात्र प्रवेश अनुमति दिने व्यवस्था गर्नुपर्छ । राउटेहरू कुलतमा पर्नुको एउटा मुख्य कारण बस्तीमा अनधिकृत व्यक्तिलाई निर्वाध रुपमा प्रवेश दिनु र यसको कतैबाट नियमन हुन नसक्नु पनि हो ।

१६. रोजगारमूलक क्रियाकलापमा लगाउने

यो समुदायलाई परनिर्भर हुनबाट जोगाउन र आर्थिक क्रियाकलापमा जोड्नका लागि स्थानीयस्तरमा हुने श्रममूलक प्रकृतिका विकास निर्माण र खेतिबाली लगाउने काममा सहभागी गराउन सकिन्छ। प्रधानमन्त्री रोजगार कार्यक्रम, जनता आवास कार्यक्रम जस्ता श्रममा आधारित कार्यक्रममा सम्भव भएसम्म यिनीहरूलाई रोजगारी दिई काममा संलग्न गराउनुपर्दछ। त्यसैगरी स्थानीय तहमा सञ्चालित निजी काममा समेत सामाजिक उत्तरदायित्व सम्झेर मौसमी काममा लगाउन सकिन्छ। यसका लागि राउटेहरूको अस्थायी बसोबास हुने स्थानीय तहको पहल तथा समन्वय आवश्यक हुन्छ।

१७. परम्परागत आर्थिक क्रियाकलापको निरन्तरतामा जोड

जङ्गलमै बस्ने भए तापनि केही वर्ष अगाडिसम्म यो समुदाय आर्थिक क्रियाकलापमा आत्मनिर्भर थियो । आ. व. २०६५/६६ बाट सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि परम्परागत उत्पादन छोड्दै जान थाले । सित्तैंमा अरुको केही पनि लिनुहुँदैन भन्ने परम्परागत मान्यता भुल्दै गएका छन् । यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको अदूरदर्शिता, मानवताको नाममा क्षणिक दयाभाव देखाउने प्रवृत्ति र सरकारको कमजोर नियमनका कारण राउटे उत्थान सम्बन्धी कार्यक्रमहरू हचुवाका भरमा सञ्चालन गरिए।

यिनीहरूलाई मनोरञ्जनको साधनका रुपमा प्रयोग गर्दै जान थालियो। काठमाण्डौ तथा पोखरा जस्ता शहरमा लगेर विदेशी मदिरा खुवाउन थालियो। सोझो जाति भएकोले के ठीक के बेठीक छुट्याउन सक्ने कुरै भएन। राउटे जातिको प्रचार प्रसार हुँदै जाँदा हेर्न आउनेको जमात पनि बढ्दै गयो र यस्तै जमातबाट मदिरा लगायत केही नगद पनि हात लाग्दै जान थाल्यो। परिणामस्वरुप यो समुदायको परम्परागत पेशा पनि हराउँदै जान थाल्यो।

राउटे समुदायको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरूले सहायतास्वरूप दिने कतिपय जिन्सी सामान उनीहरूले नजिकको बजारमा बिक्री गर्ने गरेको र यसबाट प्राप्त नगदबाट मदिरा तथा सुर्तीजस्ता बस्तुहरू खरीद गर्ने गरेको पनि पाइएको छ। राउटे समुदाय आफैंले उत्पादन गरेको बाहेक अन्य बस्तुहरू उनीहरूबाट खरिद नगर्नु भनी स्थानीय बजारमा स्पष्ट निर्देशन दिन पनि त्यत्तिकै जरुरी छ।

१८. क्षमता विकास र उत्पादनमा जोड

राउटे समुदायलाई पुरानै सीप तथा पेशामा पुनर्स्थापना गर्नुपर्ने चुनौती थपिएको छ । यस कार्यका लागि उनीहरूलाई चाहिने आवश्यक कच्चा पदार्थ निःशुल्क उपलब्ध गराउनुपर्छ र उनीहरूले बनाएका सामग्री सरकारले खरीद गरिदिनुपर्छ चाहे ती सामग्री जस्तोसुकै गुणस्तरका किन नहुन् । किनभने सित्तैंमा खाने प्रवृत्तिलाई जसरी भए पनि नियन्त्रण गर्नु आवश्यक छ । उत्पादित सामग्रीहरूको गुणस्तर बढाउन उनीहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ । उत्पादनको गुणस्तर बढ्दै गयो भने बजारको सम्भावना स्वतः बिस्तार हुन्छ ।

यो समुदायका सबै सदस्यहरू अत्यन्त मिहिनेती स्वभावका हुन्छन् । यो आफ्नै श्रममा विश्वास गरी रमाउने जाति हो । उनीहरूको बस्तीमा पुग्दा केटाकेटीहरूले काम गरेको हेरिरहुँ जस्तो लाग्छ । कमिलाले जसरी अनवरत रुपमा काम गरिरहेका देखिन्छन् । तर उनीहरूको श्रमको झण्डै असी प्रतिशत मिहिनेत अस्थायी घर टहरा बनाउने र भत्काउने क्रममै खर्च भएको हुन्छ ।
यस हिसाबले हेर्दा उनीहरूले गरेको मिहिनेत अनुसार कामको प्रतिफल अलिकति पनि प्राप्त हुनसकेको छैन । उनीहरूले गर्ने परिश्रमलाई उत्पादनसँग जोड्ने गरी कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्छ ।उपसंहार

राउटे समुदाय “कर्णालीको बोझ होइन मूल्यवान सम्पदा हो” भन्ने मूल भावना लिई प्रतिबद्धताका साथ काम गर्नुपर्दछ। “राउटेका लागि पाँच वर्ष” भन्ने नारा तय गरी योजनाबद्ध तरिकाले काम गर्ने हो भने उनीहरूको सशक्तीकरण असम्भव छैन। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले माथि उल्लिखित समग्र कार्यको नेतृत्व लिनुपर्छ। यसका लागि क्षमतावान् कर्मचारीलाई जिम्मेवारी तोकी स्पष्ट कार्यढाँचा समेत दिनुपर्छ। काम गर्नका लागि निर्देशिका वा कार्यविधि वा दिग्दर्शन जे चाहिने हो छोटो प्रक्रिया मार्फत तर्जुमा गर्नुपर्छ। यस कामका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्नुपर्छ ।

राउटे समुदाय सम्बन्धी सबै खालका सूचनाहरू मन्त्रालयको वेबसाइटमा राखी नियमित रुपमा अद्यावधिक गर्दै जानुपर्छ। यस कार्यलाई निष्कर्षमा पुर्‍याउनका लागि संघीय सरकार र स्थानीय सरकारसँग आवश्यकतानुसार समन्वय तथा सहकार्य समेत गर्नुपर्छ ।

(लेखक सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?