+
+

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सुटुक्क संशोधन

अंकभार प्रणाली पनि लागु भएन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १९:०८

५ असोज, काठमाडौं । लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो ।

विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर सो व्यवस्था हटाएको छ । अब परीक्षार्थीले ट्रायल सेन्टरमा निजी कम्पनीले राखेका थोत्रा सवारी चलाउनुपर्ने छ । ती कम्पनीले तोकेको महँगो शुल्क पनि यथावत रहने भएको हो ।

विभागले नयाँ कार्यविधि जारी गरेपनि लाइसेन्स कार्यालयहरुले पुरानो आवेदकहरुलाई पुरानै कार्यविधिअनुसार परीक्षा लिइरहेका छन् । नयाँ आवेदकहरुको हकमा भने ७० अंक ल्याए पास हुने नयाँ व्यवस्था लागु गर्ने तयारी छ ।

आफ्नै सवारी लैजाने सकिने कार्यविधि आएपछि त्यसबापत पैसा असुलिरहेका कम्पनीहरुले संशोधन गर्न दबाव दिएका थिए । शुरुमा संशोधन गर्न नचाहेको यातायात व्यवस्था विभागले ‘लाइसेन्स कार्यालयहरुबाट पनि ट्रायलमा परीक्षार्थीको सवारीसाधन प्रयोग उपयुक्त नहुने सुझाव आएको’ नियम परिवर्तन गरेको हो ।

विभागका एक अधिकारीले चर्को दबावबाट नियम संशोधन भएको स्वीकार गरे । उनले भने, ‘व्यवसायीहरुले अनेक तर्क गरेर आफ्नो कुरा माथि पार्नुभयो ।’

अहिले ट्रायल सेन्टरहरुले एक परीक्षार्थीबाट सवारीको किसिमअनुसार २०० देखि ५०० रुपैयाँसम्म असुलिरहेका छन् । लाइसेन्स कार्यालयहरुले आफूले ट्रायल लिने सवारीको व्यवस्था नगरी ट्रायल सेन्टरमा निजी कम्पनीहरुलाई छाडिदिएका छन्, त्यो पनि बिना प्रतिस्पर्धा ।

विभागले ‘सच्चाएको’ निर्देशिकामा परीक्षार्थीले ट्रायलमा प्रयोग गर्ने आफ्नो सवारीको स्तर पनि तोकेको थियो । मोटरसाइकल र स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२०० मिलिमिटरको ह्विल बेस भएको, म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्ने भनिएको थियो ।

त्यस्तै, कार र जिपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३०० मिलिमिटर ह्विल बेस भएको, लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बिमा अद्यावधिक भएको हुनुपर्ने व्यवस्था थियो ।

कार/जिपको इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्ने, झ्याल, ढोका, लकलगायत प्रणाली ठीक हुनुपर्ने, ट्रायलको क्रममा ‘रियर भ्यू’ क्यामेरा छोप्नुपर्ने भनिएको थियो । अब यही व्यवस्था परीक्षार्थीको सवारीको सट्टा ट्रायल सेन्टरमा हुने सवारीको हकमा मात्रै लागु हुनेछ । तर, निजी कम्पनीहरुले पहिलाकै थोत्रा सवारीले काम चलाइरहेका छन् ।

विभागले निर्देशिकामा अन्य संशोधन पनि गरेको छ । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । यसअघि ५/५ अंकको २० प्रश्न सोध्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । यसअघि ७० अंक अनिवार्य गरिएको थियो ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

हेर्नुहोस् संशोधित निर्देशिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?