+
+

कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते २०:१७
कांग्रेस पदाधिकारी बैठकको फाइल तस्वीर ।

७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै गर्ने सहमति भएको छ ।

बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताहरुको बैठकले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।

कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला राखेको छ ।

ती जिल्लामा दशैंअघि नै र अरु जिल्लामा दशैंपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यद्यपि रसुवा जिल्लामा भने क्रियाशील सदस्यता विवाद कायमै छ ।

हिमालीबाहेकका जिल्लामा दशैंअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दशैंपछि गर्ने सहमति भएको यादवले बताए ।

कांग्रेसको बुधबारको बैठकले पालिकाबाहेकका सबै अधिवेशनहरु दशैंपछि गर्ने निर्णय गरेको थियो । बिहीबार निर्वाचन समितिका पदाधिकारीसहितको बैठकले मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दशैं अघि नै जिल्लाा अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा ९ असोजमा पालिका अधिवेशन हुँदैछ । १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार ९ असोजमा स्थानीय तहको अधिवेशन, १२ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन गर्ने उल्लेख छ । तर कार्यतालिका भने कांग्रेसले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?