
८ असोज, धरान । धरान उपमहानगरपालिकाले असोज १० गतेदेखि विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शाखा अधिकृत रमेशकुमार शाहले सूचना जारी गर्दै १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको जनाएको छन् ।
उपमहानगरपालिकाको निर्णयलाई लिएर आलोचना भइरहेको छ । गत असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपमहानगरपालिकाले अभिभावकको दबाबमा निर्णय बदलेर दशैं तिहारपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय वेवास्ता गरी विद्यालय सञ्चालन गरेको पाइए कारबाही गर्ने जनाएको थियो ।
शुक्रबार फेरि निर्णय बदलेर आइतबारदेखि विद्यालय सञ्चालन हुने सूचना प्रकाशित गरेको छ । सूचनामा ‘संस्थागत विद्यालयहरुबाट लिइने शुल्कलाई अभिभावकहरुले दबाबको रुपमा झेल्नुपर्ने बाध्यतालाई हृदयंगम गरी यस अघि झै अभिभावक र विद्यालयको सहमती र समन्वयमा शुल्क लिने व्यवस्था गर्न र दशैं तिहारबीचको अवधिमा समेत विद्यालय लामो सममयसम्म बन्द नगर्न’ भनिएको छ ।
नेपाल अभिभावक संघ सुनसरीका सचिव बिनोद तिम्सिनाले संस्थागत विद्यालयको दबाबमा आएर महानगरले निर्णय फेरेको आरोप लगाए । उनले भने ‘दशैंको मुखमा आएर पटक पटक निर्णय फेर्नु राम्रो भएन । मलाई लाग्छ कार्यपालिकाले संस्थागत विद्यालयको दबाब झेल्न नसकेर निर्णय फेरेको हो ।’
यस अघि पनि अभिभवाकहरुले माध्यामिक तहको विद्यार्थीलाई भौतिक रुपमा पढाउन र स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न नसक्ने उमेरका बच्चालाई विद्यालय नबोलाउन सुझाव दिएका तिम्सिनाले बताए । अहिले विद्यालय खुलेपनि साना कक्षाका बालबालिका विद्यालय पठाउन अभिभावक तयार नभएको उनले बताए ।
प्रतिक्रिया 4