+
+

साताका १० गीत : दशैं तिहार गीतको वर्चश्व

सार्वजनिक भए विष्णु माझीदेखि शिव परियारसम्मका गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १४:४८

दशैंतिहार नजिकिँदैछ । त्योसँगै सांगीतिक क्षेत्रमा पनि दशैं तिहार लक्षित गीतको  वर्चश्व देखिन थालेको छ । यस साता एक दर्जन बढी दशैं–तिहार गीतहरु सार्वजनिक भएका छन् । त्यसबाहेक अन्य केही गीतहरु समेत युट्युबमा सार्वजनिक भए । सार्वजनिक भएकामध्ये केही गीतहरुले मात्र चर्चा पाएका छन् । यहाँ गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिकमध्ये १० गीत प्रस्तुत गरेका छौं ।

विष्णु माझीको ‘दशैं तिहार आइसक्यो’

गत बुधबारमात्रै विष्णु माझीको स्वरमा ‘दशैं तिहार आइसक्यो’बोलको दशैं तिहार गीत सार्वजनिक भएको हो । श्रीमान् सुन्दरमणि अधिकारीको शब्द, संगीतमा विष्णुले स्वर दिएकी छिन् भने गीतमा महिमा आचार्यको कोरस गायन रहेको छ ।

शिव विकको कोरियोग्राफी, सुन्दरमणिकै निर्देशनमा तयार भिडियोमा प्रिया विष्ट र सुन्दरमणि स्वयंको अभिनय छ । गीतमा दशैं तिहार आइसकेको र झल्को लाइसकेको जनाउँदै परदेशीलाई गाउँमा बोलाइएको छ । शम्भु चालिसेको छायांकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोलाई दुई दिन नपुग्दै ९ लाख ६० हजार बढी पटक हेरिएको छ ।

शिव परियारको ‘माया बिक्ने भएछ’

शिव परियारको स्वरमा ‘माया बिक्ने भएछ’ गत शनिबार युट्युबमा सार्वजनिक भएको हो । गणेश अधिकारीको शब्द, नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेका छन् । गीतमा मायामा धोका दिएकी प्रेमिकाबारे प्रेमीको भावना व्यक्त गरिएको छ । भिडियोलाई बुद्ध थापाले छायांकन, निकेश खड्काले निर्देशन तथा विकास धमलाले सम्पादन गरेका हुन् । युट्युबमा यसको भिडियोलाई ८ लाख ५० हजार बढी पटक हेरिएको छ ।

टीका प्रसाईंको ‘कति राम्रो सुहाएको’

‘द कार्टुन क्रु’को प्रस्तुतिमा गत शनिबार ‘कति राम्रो सुहाएको’ बोलको गीत सार्वजनिक भएको हो । डान्सिङ विटको यो गीतमा दीपक पाठक र टीका प्रसाईंले स्वर दिएका छन् । गीतका शब्दहरु दीपक पाठकले नै कोरेका हुन् भने संगीत पनि उनैले भरेका हुन् । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् । सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा उनीसँगै आश्मा विश्वकर्मा लगायतले अभिनय गरेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन, सुरोज अधिकारीको सम्पादन छ । भिडियोलाई युट्युबमा ७ लाख ५ हजार बढी पटक हेरिएको छ ।

पल र वर्षा अभिनित ‘नयाँ गलबन्दी’

‘नयाँ गलबन्दी’ गीतमा शनी विश्वकर्मा र देविका केसीले स्वर दिएका छन् । शिव हमालको शब्द÷संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय हेर्न सकिन्छ । झकिझकाउन सेटसँगै मनोरम दृश्यहरुमा खिचिएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । अमृत चापागाईंको सम्पादन रहेको भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो । यस भिडियोको भ्युज भने अपेक्षित देखिएको छैन । गत शुक्रबार सार्वजनिक गीतको भिडियोलाई ४ लाख ७५ हजार बढी पटक हेरिएको छ ।

राजु परियारको स्वरमा ‘परदेशी काइँलो’

राजु परियार र कृष्ण परियारको स्वरमा ‘परदेशी काइलो’ बोलको गीत गत शनिबार सार्वजनिक भएको हो । डि.आर. सुजनको शब्द तथा संगीत रहेको गीतमा विजय थापाको एरेन्ज छ ।

डि.आर. सुजनकै कथा, कन्सेप्ट तथा निर्देशनमा बनेको गीतको भिडियोमा बुद्धि तामाङ, इष्टु कार्की, सुरवीर पण्डित लगायतको अभिनय छ ।

रेशम दर्लामीको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । परदेशमा दुःख गरेर घाइते बनेर घर फर्किएको श्रीमान्लाई श्रीमतीले बिचल्ली पारेको कथालाई गीतमा उतारिएको छ । गीतको भिडियोलाई युट्युबमा ६ दिनमा १७ लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ ।

किरण गजमेरको ‘म त डुब्दैडुब्दै गएँ’

‘म त डुब्दै डुब्दै गएँ’ गीतमा ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरले स्वर दिएका छन् । गत शुक्रबार सार्वजनिक यस गीतमा अर्जुन पोखरेलको शब्द एवं संगीत छ । गीतमा किरणलाई गायनमा ममता गुरुङले साथ दिएकी छन् । युवक एक युवतीको प्रेममा डुबेपछिको कथा गीतले प्रस्तुत गरेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल श्रेया सिटौलाको अभिनय छ । सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोलाई ३ लाख ५ हजार बढी पटक हेरिएको छ ।

मदनकृष्ण र गौरीको अभिनयमा ‘सुनको कचौरी’

कलाकार मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय रहेको ‘सुनको कचौरी’ बोलको गीत गत शनिबार सार्वजनिक गरिएको हो । राजनराज शिवाकोटीको शब्द एवं संगीत, राजन ईशानको एरेन्ज रहेको गीत मदनकृष्ण र मिलन नेवारले गाएका हुन् । भिडियोमा राजेश पुमा राईको निर्देशन, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । टिपिकल शब्दहरु प्रयोग गरिएको गीतको भिडियोमा मदनकृष्ण र गौरीको प्रेम देखाइएको छ । औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतको भिडियोले एक लाख ७५ हजार बढी भ्युज पाएको छ ।

पुस्कल शर्माको ‘दाजुभाइ’

लोकदोहोरी गायक पुस्कल शर्माको दशैं लक्षित हो, ‘दाजुभाइ’ । पुस्कलकै शब्द, संगीत रहेको गीतमा उनी र कुशल बेल्वासेले स्वर दिएका छन् ।

गायक पुस्कलकै निर्देशनमा बनेको भिडियोमा उनी स्वयंका साथमा अञ्जली अधिकारी, सुरज घिमिरे, हिउँवाला गौतम लगायतको अभिनय छ । पुस्कलले परदेशीको कथामा यो गीत तयार पारेका हुन् । गत शुक्रबार सार्वजनिक गीतको भिडियोले युट्युबमा ८ लाख बढी भ्युज पाएको छ ।

विष्णु खत्रीको ‘अलपत्रमा’

हरेक वर्ष दशैंलक्षित गीत ल्याउँदै आएका विष्णु खत्रीले यस वर्ष पनि निरन्तरता दिएका छन् । उनले गत शनिबार ‘अलपत्रमा’बोलको दशैं लक्षित गीत सार्वजनिक गरेका हुन् । विष्णुकै शब्द एवं संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतमा विष्णु र पूर्णकला बिसीले स्वर दिएका छन् । क्रान्ति केसीको निर्देशनमा बनेको भिडियोमा मोडल अञ्जली अधिकारी र ओबी रायमाझीले अभिनय गरेका छन् । गीतमा विष्णुले वैदेशिक रोजगारीमा गएका नेपालीले विदेशमा भोग्नुपरेका पीडालाई उतारेका छन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई युट्युबमा २ लाख १२ हजार बढी हेरिएको छ ।

पशुपति र शान्तिश्रीको ‘ताराबाजी लै छोरा’

पशुपति शर्मा, शान्तिश्री परियार र सुप्रिम मल्ल ठकुरीको स्वरमा गत शनिबार ‘ताराबाजी लै छोरा’ सार्वजनिक गरिएको हो ।

दुर्गा पौडेलको शब्द, संगीत रहेको गीतको म्युजिक एरेन्जर विनोद बाजुराली हुन् ।

दुर्गा पौडेलकै निर्देशनमा बनेको भिडियोमा पुशपति, अञ्जली अधिकारी र सुप्रिम मल्ल ठकुरीको अभिनय छ । यस गीतमा बाबुआमा र छोराबीचको प्रेमलाई व्यक्त गरिएको छ । दुर्गा पौडेल र राजेश घिमिरेको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोले युट्युबमा ३ लाख २५ हजार भ्युज बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?