+
+
पदयात्री पर्खिंदै पोखरा :

उत्साह बढाउँदै व्यवसायी, आशा जगाउँदै मजदुर

पदमार्ग खुला भएको सन्देश दिन राजदूतसहित हाइकिङ

अमृत सुवेदी अमृत सुवेदी
२०७८ असोज ९ गते १९:२७

९ भदौ, पोखरा । कोरोना माहामारी जोखिम कम हुनेबित्तिकै घुम्न निस्किंदा पोहोर यही छेको पोखराको पामे क्षेत्र एकाएक आकर्षणको केन्द्र बन्यो । पामे क्षेत्रमा लागेको नेपाली पर्यटकको भीडले धेरैलाई खुसीको सञ्चार मात्रै गरेन, लकडाउनकै बीच रेस्टुरेन्टहरु समेत निर्माण भए ।

तनहुँको मानुङकोट सामाजिक सञ्जालमा भाइरल थियो । मानुङकोटमा जम्मा भएको थेगिनसक्नु भीडले देशैभरि तरंग ल्यायो ।

२०७५ चैत ११ देखि सुरु भएको लकडाउनले घरमै थुनिएकाहरु यही बेला पोखराको पाराग्लाइडिङमा उडान भर्न पुग्दा केही समय पहिलेभन्दा चम्कियो । पर्वत र पोखराको बञ्जी गरेका नेपाली युवा सामाजिक सञ्जालभरि छाए ।

पोखरा आसपासका डाँडाहरु मानिसको गन्तव्य बन्न थाल्यो । कात्तिक १ गते सरकारले पदयात्रा तथा हिमाल आरोहन खुला गर्नुअघि नै घोरेपानी पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेसक्याम्पमा पर्यटकहरु जान थालिसकेका थिए ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशील पौडेलले पोहोर यहीताका घुम्न निस्केका मानिसहरुको लर्कोले ठूलो आशा जगाएको सम्झिन्छन् । ‘पहिलो लहरको कोरोना कम भएपछि मानिसहरु अन्नपूर्ण बेसक्याम्प पुगे, मर्दी हिमाल चढे, घोरेपानी-पुनहिल उक्लिए,’ अध्यक्ष पौडेलले भने, ‘गत साल यही बेला सबैभन्दा बढी घुम्न जाने गन्तव्य सिक्लेस कोरी ट्रेक पनि बन्यो ।’

घुम्न निस्किएका नेपालीले उत्साहित व्यवसायीको खुसी लामो समय कायम रहेन । नेपाली पर्यटक एक त यसै पनि पोर्टर र गाइड लिएर घुम्न जाँदैनन्, अर्कोतिर विदेशी पर्यटक आउन सहज थिएन भने आइहाले पनि क्वारेन्टिनको झन्झटिलो व्यवस्था थियो । त्यसमाथि पदमार्गमा देखिएको लस्कर बढ्न नपाउँदै दोस्रो लहरको कोरोनाको जोखिम सुरु बढ्यो र सबै ठप्प हुने स्थिति आइहाल्यो ।

‘बिस्तारै पदमार्गहरु खुल्दै थिए । पदमार्गका होटलहरु खुल्ने तरखरमै थिए । मानिसको चहलपहल बढेसँगै कोरोनाको जोखिम पनि बढ्यो र फेरि लकडाउनै हुने अवस्थासम्म आइपुग्यौं’ टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले भने, ‘दोस्रो पटक लकडाउन हुँदा त अब व्यवसायी उठ्छन् भन्नुभन्दा पनि सटरको भाडासमेत तिर्न नसक्ने अवस्था सिर्जना भयो ।’

आन्तरिक पर्यटन चलायमान भए पनि नाकाहरु खुलेका थिएनन् । विदेशी पर्यटक नेपाल आउन फ्लाइटहरु नियमित भइसकेका थिएनन् भने नेपाल आएका पर्यटक पनि १४ क्वारेन्टिन बस्नुपर्ने लगायत झन्झटिलो कार्यविधि कायमै थियो ।

टानका द्वित्तीय उपाध्यक्ष कृष्ण आचार्यले पिसिआरको रिपोर्ट भए पनि १४ दिनसम्म क्वारेन्टिनको व्यवस्था हुँदा धेरै पर्यटक आउनै नमान्ने स्थिति रहेको बताउँछन् । सरकारले पर्यटन क्षेत्रलाई पुनर्जागृत गराउने नारा लगाइरहे पनि सरकारी नीति भने उस्तो भएको व्यवसायीको गुनासो थियो ।

यतिबेला भने पोखराका ट्रेकिङ व्यवसायी उत्साही देखिएका छन् । एकातिर कोरोना कहर बिस्तारै सामान्य बन्दै गएर बजार खुलेको छ भने अर्कोतिर सरकार नीति पनि परिवर्तन हुँदा नेपालका पदमार्गमा फेरि पर्यटकलले भरिने व्यवसायीहरुको विश्वसा छ ।

खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराभइल भिसा प्राप्त गर्न सक्ने सरकारले निर्णय गरेपछि पोखराका ट्रेकिङ व्यवसायी खुसी छन् । ‘खोप लगाए पनि क्वारेन्टिनको झन्झटका कारण पनि धेरै पर्यटक आउनै मान्दैनथे’ टानका अध्यक्ष पौडेल भन्छन्, ‘अब भने त्यो अवस्था रहेन । सरकारको निर्णय हुनेबित्तिकै सम्पर्कमा रहेका विदेशीलाई इमेल लेखें । तीन जना आउने पक्का भयो ।’

पोखरामा टानसँग आवद्ध १७० ट्रेकिङ व्यवसायी छन् । पहिलो र दोस्रो लकडाउनका कारण तीमध्ये १० प्रतिशतले भाडा तिर्न नसक्दा सटर छोड्नुपरेको अवस्था कोरोनाका कारण निम्त्याएको पौडेलको भनाइ छ ।

अनअराभइल भिसा खुला हुनु र क्वारेन्टिन बस्न पनि नपर्ने भएपछि फेरि विदेशी पर्यटक आउन थाल्ने टानका सचिव मिलन तिवारीले बताए । ‘अब विदेशी पर्यटक आउन सहज भएको छ । त्यसका लागि हामीले पनि पूर्वाधार निर्माणदेखि जनशक्तिसम्म तयार पार्नु छ’ तिवारीले भने, ‘अब पहिलेको अवस्था रहँदैन ।’

पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ७० प्रतिशत पदयात्राका लागि आउने व्यवसायीहरु बताउँछन् । गण्डकी प्रदेश सरकारको तथ्यांक अनुसार सन् २०१९ गण्डकी प्रदेशमा १ लाख ८६ हजार पर्यटकले पदयात्रा गरेका थिए । सबैभन्दा धेरै विश्वचर्चित अन्नपूर्ण सर्किटको पदयात्रामा पर्यटक आउने भए पनि अहिले त्यही क्षेत्रका छोटो गन्तव्यहरुमा बढी पर्यटन जाने गरेका छन् ।

‘अन्नपूर्ण बेसक्याम्प, मनासलु, धवलागिरि बेसक्याम्पसहरु पर्यटकका रोज्जा हुन् । पुनहिल, मर्दी हिमाल पहिलेदेखि नै चलिरहेको छ भने सिक्लेस कोरी थप आकर्षणको केन्द्र बनिरहेको छ’ टानका अध्यक्ष पौडेलले भने, ‘सडकमार्ग भएर जान पहिलो रोजाइमा मुस्ताङ पर्छ ।’

अन्नपूर्ण, धौलागिरि, मनास्लु क्षेत्रमा लामो-छोटो गरेर ६० भन्दा बढी ट्रेकिङ रुट छन् ।

नशा लागेको रहेछ, छोड्न सकिएन

कोरोना माहामारीले पर्यटन क्षेत्र चौपट भएपछि पोखराका ५० प्रतिशत ट्रेकिङ मजदुर घर फर्किए । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अनुसार केही मजदुरले पेसा नै फेरे ।

फेरि पदयात्रामा पर्यटक आउन थालेपछि फर्किने गरी केही कृषि पेशा वा गाउँ घरमा गुजारा चलाउन थाले । तीमध्येका एक हुन्, कास्कीकोटका नारायणबहादुर सुनार । १० वर्षदेखि पोखरामा ट्रेकिङ गाइडका रुपमा काम गरेका सुनार कोरोनाले लकडाउन भएसँगै गाउँ फर्किए ।

अब भने उनीमा आशाको दियो बलेको छ, विदेशै पलायन हुन चाहिँ अवश्य पर्ने छैन । ‘अब लकडाउन हट्यो, पर्यटक भित्राउन देशले खुकुलो नीति लियो अब पक्कै पहिल्यै लयमा फर्किन्छ,’ उनको विश्वास छ ।

विश्व पर्यटन दिवस नजिकिँदै गर्दा नौंडाँडादेखि कास्कीकोेट, सराङकोट, मेथलाङ हुँदै जरेबरसम्मको हाइकिङ रुटको सफाइ अभियानमा भेटिएका ट्रेकिङ मजदुर फेरि पदमार्ग भरिभराउ हुनेमा आशावादी देखिए ।

त्यस्तै आशावादी हुने अर्का ट्रेकिङ गाइड हुन्, तारापति सुवेदी । सात वर्षदेखि गाइडका रुपमा काम गरेका सुवेदी पनि पोखरा नजिकै घर भएकाले गाउँमै फर्किएर खेती किसानीमा लागे । पोहोर यही बेला घुम्न निस्केका नेपाली पर्यटक देख्दा उनलाई लागेको थियो, ‘अब कोरोना हट्यो, काम पाइन्छ ।’ तर, दोस्रो लकडाउन सुरु भइहाल्यो ।

ट्रेकिङ रुट सफा गर्ने अभियान लिएर पुगेका व्यवसायीको उत्साह उनले देखे । त्यसपछि सुवेदीलाई पनि लाग्यो, ‘लौ अब त काम सुरु हुने भयो । विदेशी आउन थाले भने त हामी पनि काममा जान पाइहालिन्छ ।’

कोरोना माहामारी कम होला र लकडाउन खुल्ला भन्दा भन्दै स्याङ्जाकी हिरा मल्ललाई उकुसमुकुस भइसकेको थियो । तर, यो क्षेत्र छोड्नै मन थिएन । सहयोगी हुँदै १२ वर्षदेखि गाइड बनेकी हिरासँग पदयात्रासँग जीवनको गहिरो सम्बन्ध जोडिएको छ ।

यो पेशमा लागेर जिन्दगीमा चरम दुख र चरम सन्तुष्टि हिराले महसुस गरेकी छन् । त्यही पेसा छोड्न नसक्ने भएकै कारण उनीले ट्रेकिङ कम्पनी खालेकी थिइन् । पर्यटन लिएर नेपाल घुम्ने हिरालाई पनि कोरोनालाई घरकै चौघेरोमा खुम्च्याइदियो ।

अब भने हिराको मनमा आशा किरण उदाएको छ । ‘अब त कस्सो नआउलान् र ? विदेशी पर्यटन आएपछि फेरि खुल्छ’ हिरा भन्छिन्, ‘अरु काम गर्न सकिन्न अब, पर्यटककै पर्खाइ हो ।’

पोखरामा करिब एक हजार ३०० गाइड छन् । उनीहरुले दैनिक १६ सय रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म कमाउँछन् । सामान्य गाइडभन्दा जोखिमपूर्ण ठाउँ जानेदेखि भाषा र प्राकृतिक तथा जैविक विज्ञ गाइडहरुले अलि बढी कमाउँछन् । पोर्टरले दैनिक करिब १३ सय रुपैयाँ कमाउँछन् ।

कास्कीकोटमा भेटिएका ३० जना ट्रेकिङ गाइड तथा पोर्टरले यो क्षेत्र छोड्न नसक्ने बताए । उनीहरु अब यही पेसामा फर्किने बताए । ‘यो क्षेत्र छोड्न नसकिने रहेछ हेर्नुस्, नशा लाग्दो रहेछ, नशा,’ गाइड शोभा सुनुवारले भनिन्, ‘हिँड्नुको मजा एउटा छ, पर्यटकसँगै कहाँ कहाँ पुग्दा धेरै कुरा आफू पनि सिकिन्छ, आम्दानीको स्रोत त भइ नै हाल्यो ।’

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष पौडेलले केही गाइड यो पेशाबाटै पलायन भए पनि गाउँघरमा भएकाहरु फेरि फर्किने बताए ।

‘यो पेसा नै छोडेर जाने त गइ नै हाले तर कोरोना माहामारीसँग गाउँ फर्केर खेती, किसानी गरेर बसेकाहरु पदमार्ग खुलेसँगै फेरि आउँछन्,’ पौडेलले भने, ‘अब खुल्ने भो भनेपछि सम्पर्कमा गाइडहरु सम्पर्कमा आइरुहनुभएको छ ।’

पदमार्ग खुला भएको सन्देश दिन ‘भीआईपी’को हाइकिङ

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेशले व्यवसायीलाई खुसीको सञ्चार गरेको छ । ४२ औं विश्व पर्यटन दिवस मनाउने तयारी भइरहेका बेला सरकारको खुकुलो नीतिले पर्यटकलार्य नेपाल आउन धेरै सहज हुने पोखराका व्यवसायीले बताए ।

‘विश्व पर्यटन दिवसकै मुखमा खुसी सञ्चार मिलेको छ । हामी ट्रेकिङ रुटहरु सफा गर्दै छौं । हाम्रा पदमार्ग खुले भनेर सन्देश दिन राजदूतहरुसहितको हाइकिङ गर्दैछौं,’ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले भने, ‘विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, वल्र्ड बैंक, एडिबी जस्ता विदेशी दाताका प्रमुख तथा प्रतिनिधि विश्व पर्यटन दिवसमा पोखरा आउँदैछन् ।’

गण्डकी प्रदेश र पोखरा खुलेको सन्देश दिन गण्डकी प्रदेश सरकारको अगुवाइमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको समन्वयमा मंगलबार पोखरामा विभिन्न कार्यक्रम हुँदैछ । त्यसमध्ये नौडाँडा, कास्कीकोट, सराङकोट, मेथलाङ हुँदै जरेवरसम्मको रुटमा राजदूतसहितको टोलीले हाइकिङ गर्ने भण्डारीले बताए ।

विश्व पर्यटन दिवसको कार्यक्रम तथा रोजगार गुमाएरका मजदुरलाई अल्पकालीन रोजगार दिन पदमार्ग सफाइमा लगाइएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम अनुसार २ सय जना पदयात्रा मजदुरहरुलाई १० दिनको लागि रोजगार कार्यक्रममा लगाउने अभियान सुरु भएको हो ।

पहिलो चरणमा त्यसको सुरुआत कास्कीकोटबाट भएको छ । नौडाँडा, कास्कीकोट सराङकोट, मेथलाङ जरेबर पदमार्ग मर्मतसंम्भार तथा सरसफाइ गर्न ३० जना पदयात्रा मजदुरहरुले विश्व पर्यटन दिवसमा हुने हाइकिङलाई मध्यनजर गर्दै सफाइ तथा मर्मतको काम थालेका छन् ।

टान पश्चिमाञ्चल र नेपाल पर्यटन बोर्डको संयुक्त कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को जीविकोपार्जन पुनरुत्थानका लागि पर्यटन परियोजना अन्तर्गत श्रमिकलाई रोजगारी दिइएको हो ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मा जम्मा भएको रकममध्येबाट युएनडीपीको परियोजनामा सहकार्य गरिएको टानका अध्यक्ष पौडेलले जानकारी दिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?