+
+
सम्पदा :

मुलुककै जेठो कारखाना : बेलायतको पाटपूर्जा र चुरेको काठबाट निर्माण गरिएको थियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते २०:०१

‘एउटा व्यापारीले इलामको इतिहास नै नामेट पारिसक्दासमेत कसैको कानमा बतास लागेन हौ,’ उद्योगी-व्यापारीकै नेता इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालु प्रायः पत्रकारसँग भेट्नेबित्तिकै गुनासोको पोको खोलिहाल्छन्, ‘इलाम र चिया पर्यायवाची थिए, चियाको इतिहास चैं चिया ठेकेदारले नै सखाप पार्ने भए ।’

जिल्लाबाट निर्वाचित भएर देशकै ठूलो ओहोदामा पुगिसकेका नेतादेखि मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि र पत्रकारलाई चिपालु चियासँग सम्बन्धित दर्जनौं प्रश्नमा यसरी नै ध्यानाकर्षण गर्छन्- देशकै पहिलो उद्योग भएपनि इलाम चिया उद्योगले किन इतिहास लेखाउन सकेन ? उद्योगका ऐतिहासिक मेसिन-औजार कहाँ लगिए ? देशकै सम्पदा मानिनुपर्ने उद्योग र बगान संरक्षणमा किन कसैको ध्यान जान सकिरहेको छैन ?

तर, उनले यसको जवाफ पाएका छैनन् ।

चुरेको काठले बनाइएको भवन

देशकै जेठो इलाम चिया कारखाना अहिले ऐतिहासिक सम्पत्तिका रूपमा छ । कारखानाको भवनमा ढुंगा र काँचो इँटाले बनेको २४ इन्च चौडाइको मजबुत पर्खाल छ । चुरे क्षेत्रबाट ल्याइएका सखुवाका काठको तला हालिएको छ । निकै बाक्लो र बलियो जस्ताले बनेको छानो अहिले पनि खिया लाग्नेबाहेक जस्ताको तस्तै छ । उद्योग स्थापना भएको एक सय ४३ वर्ष अवधिमा दर्जनौं शक्तिशाली भूकम्प गए ।

सडक थिएन, गाडी थिएन । त्यही बेला मान्छेले टाढा-टाढाबाट काँधमै सर-सामान बोकेर चिया कारखाना बनाएका थिए, मुलुककै पहिलो । इतिहासकार युद्धप्रसाद वैद्य भन्छन्, ‘अत्यन्तै दुःख गरेर स्थापना गरिएकाले पनि सबै इलामेको भावनासँग जोडिएको सम्पदा हो यो ।’

तर, यसको पर्खाल सामान्य चर्किनेबाहेक अरू समस्या नआएको उद्योगमा कार्यरत श्रमिक बताउँछन् । लामो समयदेखि काम गरेका श्रमिक भन्छन्, ‘अहिलेसम्म यो उद्योगको छानो मर्मत गरिएको छैन तर पानी चुहिएको थाहा छैन ।’ बरू परिपरि अरू कोठा जोडिएको छ ।

सडक सुविधा, सवारी साधन केही नभएका बेला काँधमै सामग्री बोकेर ल्याइ यो कारखानाको भवन बनाइएको इतिहासकार वैद्य बताउँछन् । ‘त्यतिबेला गाडीमा सामान ल्याउने त कल्पनै थिएन,’ उनी भन्छन्, ‘अत्यन्तै दुःख गरेर स्थापना गरिएकाले पनि सबै इलामेको भावनासँग जोडिएको सम्पदा हो यो ।’ कारखाना स्थापना गर्न त्यतिबेला कति आर्थिक लगानी भयो भन्ने चाहिँ कतै नखुलेको उनी बताउँछन् । चिया क्षेत्रको विकासका लागि २०२३ सालमा नेपाल चिया विकास निगम स्थापना भयो ।

बेलायतबाट ल्याइएको पित्तलको मेशिन

इलाम चिया कारखानामा चाहिँ बेलायतबाट ल्याइएका पित्तलका महँगा मेसिन जडान गरिएका थिए । हातले घुमाएर चलाइने मेसिनमा चिया प्रशोधन गर्दा इलाम बजारभरि हरहर बासना आउने गरेको यहाँका बुढापाका सम्झन्छन् । तर, सरकारले २०५७ सालमा यो उद्योग, सँगै रहेको ऐतिहासिक चिया बगानसहित इलाम र झापाका ७ बगान/उद्योग त्रिवेणी सांघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै हुनेगरी ५० वर्षका लागि लिजमा दियो । त्यसपछि भने पुरातात्विक सम्पदाका रूपमा रहनुपर्ने उद्योगमा चिया प्रशोधन बन्द भयो । हरियो चियापत्ति कन्याममा लगेर प्रशोधन गर्न थालियो । चियाबारीको संरक्षण हुन छाडयो ।

व्यापारीको हातमा सुम्पिएपछि

निजीकरणपछि उद्योगमा रहेका महत्वपूर्ण मेसिन, उपकरण अन्यत्र लगिए । ड्रायर, रोलिङ मेसिन र चिम्नीलगायत महत्वपूर्ण सामान यहाँबाट सारिए । पुरानो मेसिनका नाममा अहिले उद्योगमा एउटा रोलर छ तर थन्किएको छ । एक श्रमिकका अनुसार बगान लिजमा दिइएपछि उद्योगका महत्वपूर्ण र महँगा मेसिन कता लगियो थाहा छैन ।

‘उद्योगमा पहेंलपुर देखिने निकै आकर्षक धातुका मेसिन थिए तर अहिले ती कहाँ छन् थाहा छैन,’ ४ दशकदेखि कार्यरत ती श्रमिकले सुनाए, ‘उद्योग लिजमा दिइएको करिब ६ महिनापछि ती मेसिन यहाँबाट उठाइएका हुन् । कता लगियो भन्ने चाहिँ हामीलाई सुनाएनन् ।’

महत्वपूर्ण मेसिन उठाइएपछि बन्द रहेको उद्योग पुरानै अवस्थामा सञ्चालन गर्न इलामवासीले व्यवस्थापन पक्षलाई पटक-पटक आग्रह गरे । देशकै ऐतिहासिक सम्पदाका रूपमा रहेको उद्योग सञ्चालन, संरक्षण गर्न र उठाइएका महत्वपूर्ण मेसिन फिर्ता ल्याउन स्थानीयले दर्जनौंपटक दबाब दिए । स्थानीयको दबाब खेप्न नसकेपछि व्यवस्थापनले २०६९ सालमा उद्योग त सञ्चालन गर्‍यो तर पुराना मेसिन ल्याइएन ।

सरकारले सुनेन

इतिहासकार वैद्य र इलामकै अग्रज पत्रकार धर्म गौतमसहितले ऐतिहासिक चिया उद्योग र बगान संरक्षणका लागि सरकारलाई लिखित र मौखिक रूपमा पटक-पटक दबाब दिए । सरकारले हरेक वर्ष मनाउने उद्योग दिवससमेत यही उद्योग स्थापनालाई आधार मनाएर मनाउन वैद्य र गौतमले सरकारी निकायलाई आग्रह गरे । तर, सुनुवाइ भएन । अहिलेसम्म पनि सुनुवाइ भएको छैन ।

‘यो उद्योग र बगान देशकै सम्पदा भएपनि राष्ट्रियस्तरमा त्यसको महत्व बुझाउन सकिएन,’ गौतम भन्छन्, ‘इलाम चिया उद्योग र बगानलाई अध्ययन-अनुसन्धानको केन्द्र बनाउन सबै इलामवासी जुट्नु आवश्यक छ । इलामवासी नै जागरुक नभए इतिहास नासिएर जानेछ ।’

इलाम नगरपालिकाले ऐतिहासिक चिया उद्योगलाई देशकै सम्पदाका रूपमा संरक्षण गर्न संघीय सरकारसँग पटक-पटक आग्रह गर्‍यो । पछिल्लोपटक गत असार १० मा सम्पन्न नवौं नगरसभाले निजीकरणपछि यो पुरातात्विक उद्योग/बगान उजाड र खण्डहर बनेको ठहर गरेको छ । नेपाल सरकारले निजीकरण गर्ने सन्दर्भमा यी ऐतिहासिक र पुरातात्विक सम्पदा निजी कम्पनीलाई लिजमा दिएको, निजी कम्पनीले उद्योगका सय वर्षभन्दा पुराना पुरातात्विक महत्वका मेसिन-उपकरण अन्यत्र लगी बेपत्ता बनाएकाले तिनको खोजी गर्न पनि नगरले माग गरेको छ ।

‘ऐतिहासिक कारखाना भवन खण्डहर बनाइएको छ । उचित संरक्षण र सम्भार नगरी चिया बगानलाई उन्युघारी बनाइएको छ,’ नगरसभाको निर्णय २७ मा उल्लेख छ, ‘यसले इलामको इतिहास गुम्दैछ भने इलामको सौन्दर्य र पहिचान कुरूप बनिरहेको छ । यो कार्यले इलामका नागरिकको सम्मानमा ठेस पुगेको, आफ्नो गौरव र इतिहास नासिएको यो नगरसभा महसुस गर्दछ ।’

चिया संग्राहलयको लागि आग्रह

नगरले यी सम्पदालाई चिया संग्रहालय र बगानलाई अध्ययन/अन्वेषण केन्द्र बनाउनसमेत आग्रह गरेको छ । मेयर महेश बस्नेतले चीन र नेपालको राजनीतिक सम्बन्धसमेत जोडिएको इलामको चियाबारी र ऐतिहासिक उद्योग संरक्षण गर्न नगरले सक्दो प्रयास गरिरहेको बताए ।

‘देशकै ऐतिहासिक धरोहरका रूपमा रहेको उद्योग र बगानको लिज फिर्ता गरी सम्पदाका रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘संरक्षण अभावले खण्डहर बनाइएको ऐतिहासिक उद्योग र बगान जोगाउन स्थानीय सरकार सक्षम छ । त्यसका लागि संघीय सरकारले वातावरण बनाइदिनुपर्छ ।’

इलामसहित कन्याम, चिमिमकोट, सोक्तिम तथा झापाका बर्ने, बाह्रदसी र टोकला चिया बगान सरकारले लिजमा दिएको हो । तर, ती बगान रहेका स्थानीय तहले निजीकरण फिर्ताका लागि संयुक्त रूपमा समेत प्रयास थालिसकेका छन् । इतिहासकार वैद्यले यो उद्योग र बगान देशकै इतिहास भएकाले अध्ययन/अन्वेषणको केन्द्र बनाउनुपर्ने सुझाव दिए ।

जिल्लाका स्थानीय तहले एकल रूपमा नभई संयुक्त रूपमा प्रयास गरेर चियासँगै इलामको पहिचान स्थापित गर्नुपर्ने उनको सुझाव छ । इलामबाट निर्वाचित भइ प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसद् बनेका नेतालाई समेत इलाममात्र नभई देशकै इतिहास जोगाउने सम्पदा संरक्षणको पहल गर्न वैद्यको आग्रह छ ।

चिया बगान लिजमा लिएको सांघाई समूहका अध्यक्ष सुवास सांघाईले यो उद्योग र बगान ऐतिहासिक भएकाले आफूहरूले पनि संरक्षण नै गरिरहेको दाबी गरे । ‘उद्योगका पुराना केही मेसिन झापाको बर्ने चिया बगानमा छन्,’ उनले भने, ‘हामीले कतै लगेर बेचेको, नष्ट गरेको छैन ।’ उनले इलाम उद्योगबाट रोलर र ड्रायर मेसिनमात्र अन्यत्र लगिएको दाबी गरे । उनले सरकारले आफूलाई दिएका बेला चिया उत्पादन ज्यादै थोरै रहेको र अहिले बढेको पनि बताए । ‘बिजोक अवस्थाको बगान हामीले जिम्मा लिएका थियौं, अहिले उत्पादन बढेको देखेर बगान नै फिर्ता गर्नुपर्छ भन्न थालिएको छ,’ उनले भने, ‘लगानीकर्तालाई हतोत्साही होइन, उत्साहित गर्नुपर्छ ।’

यो ऐतिहासिक बगानमा अहिले अर्गानिक चिया उत्पादन भइरहेको छ । नयाँ मेसिन जडान गरिएपछि ०६९ सालयता चाहिँ उद्योग पनि सञ्चालनमै रहेको कर्मचारीले बताए । अहिले यो उद्योगले वाषिर्क १० देखि १२ हजार किलो तयारी चिया उत्पादन गरिरहेको छ ।

चिया पेय मात्र होइन

हरियो गलैंचा ओछयाएझैं थुम्का-थुम्का चियाबारीमा लुटपुटिन बर्सेनि हजारौं पर्यटक इलाम आइपुग्छन् । चियाका बुट्टा-बुट्टा घुम्छन्, डाँडामा चढ्छन्, चियासँगै सेल्फी खिच्छन्, रमाउँछन् र जान्छन् । तर, त्यही चियाबारीमाझको ऐतिहासिक उद्योग चिया अध्ययन/अनुसन्धान गर्नेका लागि चाहिँ ‘विश्वविद्यालय’ हो भन्ने कमैलाई मात्र थाहा हुनसक्छ । र, वरिपरिको आकर्षक चियाबारी चाहिँ नेपालमै पहिलो चियाको बिरुवा रोपिएको माटो हो भन्ने बुझ्न पनि केहीबेर घोत्लिनुपर्छ ।

उद्योगसँगै साँध जोडिएको महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख इतिहासकार युद्धप्रसाद वैद्य भन्छन्, ‘चियाबारीको सौन्दर्यमा लोभिनु त छँदैन, जो चियालाई नजिकबाट चिन्न चाहन्छ, उसका लागि इलाम चिया उद्योग र चियाबारी विश्वविद्यालय हो भन्दा फरक पर्दैन ।’

यसरी सुरु भएको थियो चिया खेती

इलाम चोकबजारबाट करिब आधा किलोमिटरमा छ, नेपालकै पहिलो उद्योग । १९२० सालमा देशमै पहिलोपटक चिया रोपिएको १५ वर्षपछि अर्थात् १९३५ सालमा यहाँ उद्योग स्थापना भएको हो । तर, सामान्यज्ञान र विभिन्न पुस्तकमा चाहिँ विराटनगर जुटमिललाई नेपालको पहिलो उद्योगका रूपमा चिनाइएको भेटिन्छ । इतिहासकार वैद्य यो उद्योग स्थापना हुनुअघि देशमा अरू उद्योग नभएकाले यो नै नेपालको पहिलो उद्योग भएको दाबी गर्छन् । ‘नेपालमा उद्योग स्थापनाको इतिहास सच्याउनुपर्छ,’ उनी प्रश्न पनि गर्छन्, ‘१९३५ सालअघि नेपालमा कुन उद्योग थियो र यो उद्योगको वास्तविक इतिहास लेखिएन ?’ चियालाई उद्योगअन्तर्गत नभई कृषि क्षेत्रमा राखेर यो महत्वपूर्ण र ऐतिहासिक उद्योगको इतिहास मेटाउने प्रयास गरिएकोमा वैद्य सन्तुष्ट छैनन् ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट कोसेलीका रूपमा ल्याएको चिया इलाममा रोपिएपछि नेपालमा चियाखेती सुरु भएको इतिहास छ । तर, थापा इलामको बडाहाकिम भएको र चियाखेती सुरु गरिएको मितिमा भने इतिहासकार र लेखकबीच केही मतान्तर चाहिँ छ । इतिहासकार वैद्य १९१९ सालमा थापा इलामको बडाहाकिमका रूपमा आएको र १ वर्षपछि चियाखेती सुरु भएको बताउँछन् । लेखक डा.देवी क्षेत्री दुलालको ‘इलामको चिया पर्यटन’ पुस्तकमा भने थापा १९२० सालमा इलामको बडाहाकिम भएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयको रेकर्ड बोर्डमा चाहिँ थापा १९२२ सालदेखि मात्र यहाँको बडाहाकिम भएर आएको देखिन्छ । ऐतिहासिक विवरणअनुसार नेपालमा चियाखेती सुरु भएको मिति कतै १९२० साल भेटिन्छ भने कतै १९२२ पनि छ । तर, धेरै इतिहासकार र लिखतले नेपालमा १९२० सालमै चियाखेती सुरु भएको पुष्टि गर्छन् ।

बडाहाकिम थापाले नै इलाममा चियाखेती सुरु गरेको विषयमा भने दुईमत देखिँदैन । नेपाल-चीन लामो लडाइँपछि १८४९ भदौ ६ मा वेत्रावती सन्धि भयो । ५ बुँदे सन्धिको एउटा बुँदामा नेपालले चिनियाँ सम्राटका लागि उपहारको पञ्चवषर्ीय मिसन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च तिर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने उल्लेख छ । त्यही सहमतिअनुसार चीनका सम्राटले प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारका रूपमा पठाएको चियाका दाना राणाले आफ्ना ज्वाइँ तथा इलाम गौंडाका बडाहाकिम गजराजसिंह थापालाई यहाँ खेती गर्न लगाएका थिए । इलाम नगरपालिकाको विवरणअनुसार चीनबाटै कोसेलीका रूपमा आएको चिया यहाँ खेती गरिएको हो । २०७६ असोजमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सरकारले दुई देशबीचको महत्वपूर्ण इतिहास स्मरण गराउँदै उनको रात्रिभोज ‘मेन्यु’मा इलामको चिया समावेश गरेको थियो ।

तर, इतिहासकार वैद्यले बडाहाकिम थापाले भारतबाटै चियाको बिउ/बिरुवा ल्याएको तर्क पनि आएको बताए । वैद्यले सुनेअनुसार काठमाडौंबाट इलाम आउँदा थापा भारतको बाटो रेलमा आए । दार्जिलिङनजिकै गुममा बास बसेका बेला थापालाई चिया खान दिइयो । थापाले त्यसअघिसम्म चिया देखेका पनि थिएनन् । सोधीखोजी गर्दा इलामको हावापानीमा समेत उत्पादन हुने लागेर उनले यहाँ ल्याएर रोप्न लगाएको हुनसक्ने वैद्यको भनाइ छ । दार्जिलिङको आलुबारी चिया कमानभन्दा ७ वर्षपछि इलाम बगानमा चियाखेती सुरु भएको हो । इलाम बगानपछि १९२२ सालमा जिल्लाकै सोक्तिममा चिया खेती थालिएको थियो । केही पुस्तकमा भने दार्जिलिङको भन्दा इलामको चियालाई २६ वर्ष कान्छो भनी उल्लेख गरेको भेटिन्छ ।

इलाममै उत्पादन भएको हरियो चियापत्ति प्रशोधन गर्न १९३५ सालमा इलाम चिया उद्योग स्थापना भएको हो । त्यसबीचमा यहाँ उत्पादित हरियोपत्ति कसरी प्रशोधन गरिन्थ्यो भन्नेबारे कतै स्पष्ट उल्लेख भेटिँदैन । लेखक डा.दुलालले हरियापत्ति हातले माडेर तयारी चिया बनाइएको अनुमान गरेका छन् । १९३२ देखि १९३४ सालसम्ममा निर्माण भएको यो उद्योगमा १९३५ सालदेखि नै चिया प्रशोधन गरिएको हो । ५ वर्षपछि सोक्तिममा चिया उद्योग स्थापना भयो । कन्याममा चाहिँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यले चिया रोपेर यसको खेती सुरु गरे । उनीहरूले रोपेका बिरुवा अहिले पनि संरक्षित छन् । २०४१ सालमा कन्याम चिया उद्योग स्थापना भएको हो ।

इलामसँगै जोडिएको दार्जिलिङमा चियाबारे जानकार प्राविधिक पाइने भएकाले सुरुदेखि नै सरकारी बगानका श्रमिक, कर्मचारी भारतबाटै ल्याइन्थे । कतिपय श्रमिकलाई धुरा (डेरा) दिएर राखियो । उनीहरूमध्ये केही श्रमिक अहिले पनि छन् । अधिकतर सरकारी चिया उद्योगका कर्मचारी अहिले पनि भारतीय नै छन् । निगम स्थापना भएपछि निजी क्षेत्रबाट पनि चियाको व्यावसायिक खेती फस्टाउन थाल्यो । राजा वीरेन्द्रले २०३९ सालमा इलामसहित पूर्वका झापा, पाँचथर, तेह्रथुम र धनकुटालाई ‘चिया क्षेत्र’ घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?