+
+

देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापतिमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते २२:४८

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए । उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भए ।

सभापतिका उम्मेदवार जोशी र भट्ट दुबै संस्थापन समूहकै नेता हुन् । डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

नगरपालिका सभापतिमा विजयी जोशीले चीनबाट स्नात्तकोत्तर अध्ययन पूरा गरेका छन् । उनी पछिल्लो डेढ वर्षदेखि गृहनगरमै बसेर सामाजिक कार्यमा सक्रिय थिए ।

वडाअधिवेशन सम्पन्न भएका ५० भन्दा बढी जिल्लामा शनिबार पालिका अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा वडा अधिवेशन नै अनिश्चित बनेको हो ।

कांग्रेसले हिमाली क्षेत्रमा दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने र बाँकी जिल्लामा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौं हुने कार्यतालिका छ । तर हिमाली जिल्लाबाहेकका जिल्लामा दशैंपछि मात्रै अधिवेशनका कार्यक्रम गर्ने कांग्रेसको निर्णयले केन्द्रीय महाधिवेशन पर धकेलिने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?