+
+

डोटीमा कांग्रेसको पालिका अधिवेशन : ४ मा निर्विरोध, ४ वटामा चुनाव, एउटामा बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते ९:४४

१० असोज, डोटी । नेपाली कांग्रेसले डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ ।

नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।

दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका छन् । सभापतिका आकांक्षीहरुबीच सहमति जुटेपछि मलासी निर्विरोध भएका हुन । उनी यसअघि पनि सोही पदमा थिए ।

आदर्श गाउँपालिकाको सभापतिमा चन्द्रनाथ ओझा छानिएका छन् । एमाले पृष्ठभूमिका ओझा पाका राजनीतिज्ञ हुन् । उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट तत्कालीन कालिकास्थान गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

पूर्वीचौकी गाउँपालिकामा पनि सहमतिमा नेतृत्व चयन भएको छ । सभापतिमा बलबहादुर खड्का चयन भएका छन् । यसअघिको अधिवेशनमा जिल्ला सचिवमा पराजित खड्का र अन्य आकांक्षीहरुबीच सहमति जुटेपछि उनी निर्विरोध भएका हुन् ।

केआईसिंह गाउँपालिका सभापतिमा अर्जुन बलाएर निर्विरोध भएका छन् । यसअघि कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघको डोटी जिल्ला अध्यक्ष रहेका बलायर सु-जङ्ग सामुदायिक अस्पतालका प्रशासकको जिम्मेवारीमा समेत छन् ।

शिखर नगरपालिकाको इकाइ समिति सभापतिमा हर्क बोगटी विजयी भएका छन् । अन्य पदहरुमा सहमति भए पनि सभापतिमा कुरो नमिलेपछि निर्वाचन गरिएको थियो । निर्वाचनमा बोगटी प्रतिस्पर्धि दीर्घबहादुर बलायरलाई २५ मतले पछाडि पार्दै सभापति भएका हुन् । बोगटीले ९० मत प्राप्त गरे भने बलायरले ७५ । बोगटी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।

सायल गाउँपालिका इकाइ समिति सभापतिका लागि भएको निर्वाचनमा तेजराज ओझाले ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धि रामबहादुर बोगटीले २५ मत प्राप्त गरे । ओझा यसअघि पनि सोही पदमा थिए ।

जोरायल गाउँपालिकाको सभापतिमा मोहन मल्ल चयन भएका छन् । यसअघि पनि सोही जिम्मेवारीमा रहेका मल्लले निर्वाचनमा ५४ मत पाई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नरबहादुर बोहराले ३६ मत प्राप्त गरेका छन् ।

बडीकेदार गाउँपालिकाको नेतृत्व चयनका लागि पनि निर्वाचन भएको छ । गाउँ इकाइ समिति सभापतिमा करुणाकर जोशीले ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी वीरेन्द्र कोटकेनीले ३५ मत प्राप्त गरेका छन् ।

बोगटान फुडसिल गाउँपालिकाको नेतृत्व चयनमा अझै सहमति जुटेको छैन । अन्य पदहरुमा शनिबारै सर्वसम्मत भएका भए पनि सभापतिका लागि कुरो नमिलेपछि अधिवेशन लम्बिएको छ ।

सभापति पदका लागि शेरबहादुर बम, खडकसिंह बोहरा र चक्र केसीको दाबी रहेको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिए । उनका अनुसार सहमतिको प्रयास अझै जारी छ, सहमति नभए चुनावी प्रक्रिया सुरु हुनेछ ।

निर्वाचन भएका पालिकाहरुमा पनि सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीप देउवाले जानकारी दिए । उनले बोगटान फुडसिलमा पनि सहमति हुन सक्ने बताए । ‘सहमति हुनै नसक्ने अवस्था भयो भने त आजै चुनाव हुन्छ’ देउवाले भने ।

यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको सभापति देउवाले बताए । उनका अनुसार सायल गाउँपालिका-१ र ५ र जोरायल गाउँपालिका-३ मा निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?