+
+

व्यवसायको विवादले लामामाथि खुकुरी प्रहार

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज ११ गते १९:०१
खुकुरी प्रहारबाट घाइते भई अस्पतालमा उपचाररत् इँटा व्यवसायी कलामसिंह लामा

११ असोज, विराटनगर । आइतबार विराटनगरमा उच्च अदालत अगाडि व्यवसायी कलामसिंह लामामाथि भएको खुकुरी प्रहार व्यवसायको स्वामित्वसँग जोडिएको खुलेको छ ।

३२ वर्षीय लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनको उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए ।

आइतबार बिहान काठमाडौंबाट आएका उनी जिल्ला प्रशासन कार्यालय हुँदै मुद्दा दर्ताका विषयमा सल्लाह गर्न वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल फर्ममा पुगेका थिए । त्यहाँबाट निस्किएर आफ्नो गाडीतर्फ जाँदै गर्दा उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको थियो ।

खुकुरी प्रहार गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन् । अर्का युवक फरार छन् । खुकुरी प्रहार गर्ने व्यक्ति विराटनगरमा मिटरब्याज र गुण्डागर्दी गर्ने गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारपछि घाइते भएका लामालाई विराट नर्सिङ होम र विराटनगर अस्पतालमा उपचार गरी थप उपचारका लागि आइतबार नै काठमाडौं लगिएको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लामाका व्यावसायिक साझेदार साजिदलाई आइतबार नै पक्राउ गरिएको बताए । उनकाअनुसार उद्योगको सेयरका विषयमा साजिद र लामाबीच विवाद थियो । विवादको मुद्दा प्रशासनमा आएपछि जिल्ला प्रशासन कार्यालयले उद्योगको कारोबार तत्कालका लागि रोकेको थियो ।

‘जिल्ला प्रशासन कार्यालयले उहाँ (लामा)लाई शुक्रबार बोलाएको रहेछ,’ भर्खरै मोरङमा हाजिर भएका उनले भने, ‘समय नमिलेपछि उहाँलाई मैले आइतबार बोलाएको थिएँ, आइतबार उहाँले आफ्ना कुरा राखेर जानुभएको थियो ।’ सेयर विवादको समाधान गर्ने कानूनी बाटो भएको बताउँदै प्रजिअ दाहालले खुकुरी प्रहार भएका कारण दोषीलाई कानूनी दायरामा ल्याइने बताए ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामाले दुई वर्षयता मोरङमा इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । मोरङको कटहरी गाउँपालिका–६ स्थित उनको जग्गामा मोरङ राजधानी इँटा उद्योग सञ्चालनमा छ । सो उद्योग मोरङ नोचाका मोहम्मद साजिद मिया र उनकी श्रीमतीको नाममा थियो । साझेदारीमा सञ्चालनका लागि मियाँले उद्योगको आधा हिस्सा लामालाई दिएका थिए ।

लामा निकट स्रोतका अनुसार उद्योग सञ्चालनका लागि साजिदले लगानी गरेनन् । लाइसेन्स प्रयोग गरेबापत पाँच वर्ष वार्षिक ५० हजार इँटा दिने सहमति भएको थियो । तर पछिल्लो समय साजिदले हिसाबकिताब नदेखाएको भन्दै कटहरी गाउँपालिका हुँदै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले कारोबार तत्कालका लागि रोक्न आदेश दिएको थियो । गत वैशाखयता शुरु विवादमा कारोबार रोकिएपछि लामा अदालती प्रक्रियामा जाने निर्णयमा पुगे । कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर निस्कँदा उनीमाथि खुकुरी प्रहार भएको हो ।

‘बाहिरका मान्छे भएकाले पेलपाल गर्ने प्रयास गरेका हुन्,’ उनका एक सहयोगीले भने, ‘मुद्दा दर्ता गर्ने थाहा पाएपछि आइतबार काठमाडौंबाट आएलगत्तै पिछा गरेका रहेछन्, ल फर्मबाट निस्किएलगत्तै खुकुरी प्रहार गरे ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?